३
२0७८ भाद्र २८ सोमबारमहेश्वर चामलिङ
नेकपा (एमाले) र ऊबाट फुटेर बनेको नेकपा (एकीकृत समाजबादी) दुवै संगठन अहिले ‘मणि’ नेतृत्वमा पुगेको छ । एमाले अध्यक्षमा इश्वर‘मणि’ राउत पुनः फर्केका छन् भने एकीकृत समाजबादीको अध्यक्ष राम‘मणि’ पोखरेलको काँधमा आईलागेको छ ।
अर्थात एमाले र पूर्व एमाले (एस) दुवै पार्टीको नेतृत्व सम्हाल्ने जिम्मेबारी दुई ‘मणि‘लाई प्राप्त भएको छ । दुवै मणि भुक्तभोगी र अनुभवी छन् । लामो समयदेखि माधव पक्षमा रहेका राउत यसअघि सचिव हुदै अध्यक्ष भएका हुन् । पछिल्लो जिल्ला अधिवेशनमा खरो ओलीपक्षधर उम्मेदवार दुर्गाकुमार थापा (स्वस्ती)लाई पाहा पछारे झैं पछारेर उनी जिल्ला नेतृत्वमा पुगेका हुन् ।
अधिवेशनको केही समयपछि ०७४ को स्थानीयतह निर्वाचनमा त्रियुगा नगरपालिकाको मेयर या प्रदेश १ (क) को सांसद उठ्ने चर्चा चलिरहेका बेला उम्मेदवार छनौट र टिकट बितरणको तालाचावी हातमा लिएर बसेका थिए उनी । तर, मेयर, उपमेयर र अध्यक्ष, उपाध्यक्षदेखि वडाध्यक्ष, सदस्यसम्म, जिल्ला समन्वय प्रमुखदेखि सदस्य र स्थानीयतहमा मनोनित र कार्यपालिका सदस्य छनौटसम्मको क्रममा सन्तुलन मिलाउन नसकेपछि आफ्नै टिकटको चावी कता खुस्क्यो उनलाई पत्तो भएन ।
टिकट बितरणमा बस्तुबादी निर्णय नगरेको, आफन्त र नातागोता, जाति समुदाय हेरेको, प्रलोभन, प्रभाव र दबाबमा परेकोलगायत थुप्रै आरोप उनीमाथि लागेन मात्र, त्यहीँ आरोपले प्रदेशसभा चुनावमा टिकट नपाउनेसम्मको अवस्था सिर्जना भयो । स्थानीयतह चुनावमा सन्तुलन कायम गर्न नसक्दा प्रदेश सांसद हुने लगभग निश्चिन हुँदाहुँदै उनी टिकट पाउनबाट वञ्चित भएको उनीनिकट कार्यकर्ताको भनाई छ । प्रदेश सांसद उम्मेदवार माओबादी केन्द्रका रामबहादुर थापा मगरबाहेक जिल्लामा सबै (३ जना) गठबन्धन नेकपाले जिते पनि मगर हार्नुको मुख्य कारण उनी नै भएको ठहर पार्टीले गर्यो ।
नेकपा (एकीकृत समाजबादी)े जिल्ला सगठनको कमाण्ड सम्हाल्ने अवसर पाएका अर्का मणि राममणि पोखरेल २६ वर्षअघि ०५२ सालमै तत्कालीन एमाले जिल्ला कमिटी सचिव भएर अनुभव बटुलिसकेका हुन् । त्यसबेला पार्टी गाउँदेखि इलाका, जिल्ला र अञ्चल कमिटी सचिव कमाण्डमा हुन्थे भने केन्द्रीय कमिटी महासचिव कमाण्डमा हुन्थ्यो । अर्थात अहिले जिल्ला अध्यक्षको जिम्मेबारी ऊबेला सचिवले पाउँथ्यो । ०४७ मा माले र माक्र्सबादीबीच एकीकरण भएर बनेको एमालेको संगठन बिस्तार गर्ने अभियानको पोखरेलले सचिवको जिम्मेबारी पाएका थिए ।
जिल्लामा कम्युनिष्ट संगठन बनाउने सुरुवाती कठिन परिस्थितिको सामना गरेका उनी पछिल्लो दुईदशकयता आफ्नै चेलाचपेटाबाट छेउ लगाइएका थिए । उमेरले ७५ वर्ष हिड्दै गरेका उनी अहिले पनि उत्तिकै युवा जोस निकाल्दै अप्ठेरोमा परेका बेला पार्टी संगठन निर्माणको जिम्मा आफुलाई इतिहासले पुनः सुम्पेको प्रतिक्रिया दिन्छन् । ७५ वर्षे उमेरमा ७५ वटै वडा रहेको उदयपुरमा एकीकृत समाजबादीको संगठन ३ महिनाभित्र निर्माण गरिसकेर एमालेभन्दा मजबुत पार्टी बनाउने कसम पोखरेलले खाएका छन् । बृद्धाबस्थामा पाएको नेतृत्वको अवसरलाई पाखेरेलले आफ्नो ’कमब्याक‘ लाई ऐतिहासिक र महत्वपूर्ण सावित गर्नेमा दृढ छन् ।
कम्युनिष्ट पार्टी, त्यसमा पनि एमालेका लागि उदयपुर उर्वर भूमि सावित हो । सुरुवातदेखि कम्युनिष्टले उदयपुरमा राम्ररी फुल्नेफल्ने मौका पाउँदै आएको छ । जसको उदाहरण बहुदल प्राप्तीपछिका आधादर्जन संसदीय चुनाव र तथा ३ वटा स्थानीय चुनावहरु जितेको हेर्दा पुग्छ । ०४८ देखि ०७४ सम्ममा संसदीय चुनाव र ०४९, ०५४ र ०७४ को स्थानीय चुनाव सबैमा कम्युनिष्ट दलले उत्साहजनक जित हासिल गर्दै आएका छन् । ०४८ मा १ र २ नं. निर्वाचन क्षेत्रबाट क्रमशः लक्ष्मीनारायण चौधरी र विष्णुबहादुर राउतले एमालेबाट चुनाव जितेका थिए भने नेपाली कांग्रेस सभापति तथा तत्कालीन प्रधानमन्त्री गिरीजाप्रसाद कोईरालाले आन्तरिक किचलोका कारण ०५१ मा संसद बिघटन गरेर गराएको मध्यावधि निर्वाचनमा पनि चौधरी र राउतले नै कार्यकाल दोहोर्याउने मौका पाए । एमाले फुटेर बामदेव गौतम नेतृत्वमा नेकपा (माले) बनेपछि भएको ०५६ को चुनावमा पनि एमालेकै १ मा सुरेशकुमार कार्की र २ मा जगन्नाथ खतिवडाले बाजी मारे ।
०५२ फागुन १ देखि सुरु भएको नेकपा (माओबादी)को जनयुद्धका कारण ५–५ वर्षमा हुनुपर्ने ३ वटा आवधिक स्थानीय चुनाव हुन सकेन । ०६३ मा विस्तृत शान्ति सम्झौता गरी माओबादी शान्तिपूर्ण मुलधारमा आएसँगै ०६४ मा भएको पहिलो संविधानसभा चुनावमा उदयपुरलाई ३ निर्वाचन क्षेत्रमा बिभाजन गरिएकोमध्ये २ र ३ मा क्रमशः माओबादीका मणि खम्बु र मोहन खत्रीले जिते । १ मा भने नारायण खड्काले काँग्रेसको बिउ रोपे । ०७० को दोस्रो संविधानसभा चुनावमा एमाले र माओबादीबीच टकराव हुँदा २ नं. मा एमालेकी मञ्जुकुमारी चौधरीले जितेर कम्युनिष्टको साख बचाईन् । १ ३ मा कांग्रेसका खड्का नारायण कार्कीले जिते ।
०७४ मा पुनः २ वटा निर्वाचनक्षेत्र बनाइएको उदयपुरमा एमाले र माओबादी गठबन्धनको नेकपाबाट २ नं. मा माओबादीका सुरेशकुमार राई (हिमाल) जिते भने १ मा खड्काले ह्याट्रिक गरे । प्रदेशसभा चुनावमा ४ सीटमध्ये कांग्रेस १ (क) बाहेक बाँकी ३ सीट नेकपाले जित्यो । त्यो पनि गठबन्धनको टिकट बितरणमा असन्तुलन भएकाले माओबादीका रामबहादुर थापामगरले चुनाव हारेको निश्कर्ष समीक्षा बैठके निकालेको थियो ।
यसरी इतिहासले बारम्बार कम्युनिष्टलाई चुनाव जिताएर जनताको सेवा गर्ने मौका दिदै आयो । विद्यार्थी, युवा, महिला, मजदुर, शिक्षक, कर्मचारीको अवस्था हेर्दा समग्रमा ७० प्रतिशतभन्दा माथिको जनहिस्सा कम्युनिष्ट झुकाव राख्नेमा पर्छ । गाउँमा शिक्षकले कम्युनिष्टहरुको रक्षा गर्दै आएका छन् भने सहरबजारमा कर्मचारीको ‘प्लान र एक्सन’ मा पार्टी टिकेको छ । एमाले, माओबादीको चुनावी रणनीति, योजना बनाउनेदेखि कार्यान्वयन गर्नेतहसम्म कर्मचारी र शिक्षकको महत्वपूर्ण भूमिका रहँदै आएको छ ।
यस्तो भईकन पनि बारम्बार फुट्ने र टुट्ने गरेका कम्युनिष्टहरु अहिले फेरि एमाले र एसमा बिभक्त भएका छन् । विद्यमान अवस्थामा नेकपा (माओबादी केन्द्र) निर्णायक शक्ति छँदैछ । ३ वर्षे प्रतिबन्ध पुकुवापछि बिप्लब नेतृत्वको नेकपा पनि संगठन विस्तार अभियानमा छ । मोहन बैद्य नेतृत्वको एकीकृत नेकपा र नेकपा माक्र्सबादी पनि अस्तित्वमा रहेको उदयपुरमा यी दुई मणिले आफ्नो मणि कत्ति देखाउँन सक्छन्, त्यो हेर्न भने समय कुर्नु पर्नेछ ।