नेकपा (एस)का कार्यकर्ता फर्काउन एमालेको समयसीमा 

२0७८ भाद्र २५ शुक्रबार
नेकपा (एस)का कार्यकर्ता फर्काउन एमालेको समयसीमा 

उदयपुर

माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजबादी)मा गएका नेता कार्यकर्तालाई फर्काउन नेकपा (एमाले)ले दुईदिन समय दिएको छ । नेकपा (एकीकृत समाजबादी)ले अध्यक्ष आफ्नो ठाउँमा राममणि पोखरेललाई अध्यक्ष बनाएर पुरानै समितिलाई चलायमान बनाएकै दिन एमालेले फर्कन चाहने नेता कार्यकर्ताका लागि दुईदिन समयसीमा तोकेको हो । 


एमाले अध्यक्ष तत्कालीन प्रधानमन्त्री केपी ओलीले दुईपटक संसद बिघटन गरेपछि माधव समूहले एमालेकै अध्यक्ष इश्वरमणि राउतको अध्यक्षतामै समानान्तर कमिटी बनाएको थियो । तर, पार्टी बिभाजनपछि अध्यक्ष इश्वरमणि राउत एमालेमै रहने भएपछि उनलाई कारबाही गर्दै पोखरेलको अध्यक्षतामा समानान्तर समितिलाई नेकपा (एस)को जिल्ला कमिटीमा परिणत गरेको कुरा बुधबार साँझ पत्रकार सम्मेलन गरी जानकारी दिएको थियो । 


यता एसले पत्रकार सम्मेलन गरेकै समयमा उता एमालेले पनि पार्टी कार्यालयमा पत्रका सम्मेलन गर्दै मुलघर फर्कन चाहने नेता कार्यकर्तालाई दुईदिनको समय दिने जानकारी गराएको हो । तेस्रो धारले १० बुँदे सहमति कार्यान्वयन गराउँने सहमतिका साथ पार्टी संरचनालाई ०७५ जेठ २ गतेकोे अवस्थामा फकाउने भएपछि आफु संस्थापनपक्षमा बस्ने निर्णय गरेको भन्दै राउतलले घर फर्कन चाहनेहरुलाई दुईदिन समय दिइने बताए । एमालेले खासगरी नेकपा (एस) रोजेर निर्वाचन कार्यालयमा सनाखत गरेका २८ जनप्रतिनिधिलाई लक्षित गर्दै यो कदम चालेको हो ।


पत्रकार सम्मेलनमा एमाले केन्द्रीय सदस्य मञ्जुकुमारी चौधरीले घर फर्कन चाहने नेता कार्यकर्ताका लागि दुईदिन पर्खने र फर्केको खण्डमा पुरानै जिम्मेवारीमा राखिने र नफर्कनेहरुलाई जिम्वेवारीमुक्त गर्ने निर्णय भएको बताईन् । पदको लोभलालचमा परेर केही साथीहरुले पार्टी चोईट्याएको भन्दै केन्द्रीय सदस्य चौधरीले त्यस्ता जनप्रतिनिधि र नेता कार्यकर्ताहरुलाई आफ्नै घर फर्कन आव्हान गरिन् । 


अध्यक्ष चौधरीले ‘हिजो सूर्य चिन्हबाट निर्वाचित भएका जनप्रतिनिधिहरु जनतासँग गरेको वाचा र प्रतिबद्धता पुरा गर्न पुरानै घर फर्कनुपर्ने भन्दै अहिले पनि घर फर्कदा केही नविग्रेको बताए । लोभलालच, प्र्रलोभन र धाकधम्कीमा परेर गएको भए घर फर्कदा केही फरक नपर्ने भन्दै उनले पुरानो घर फर्कनकै लागि पार्टीले दुई दिनको समय दिएको र यसलाई सुनौलो अवसर ठानेर आउन आग्रह गरे । उनले १० बुँदे सहमति अक्षरशः कार्यान्वयन गर्न पार्टी नेतृत्व तयार रहेको हुनाले कम्युनिष्ट आन्दोलनबाट भाग्न नहुने बताए । 


एमाले २०७५ जेठ २ मा फर्कपछि १ सय ३ सदस्यीय जिल्ला कमिटी ३५ सदस्यीय सचिवालय र क्षेत्रीयत्र, नगर, गाउँपालिका, वडा कमिटी र जनवर्गीय संगठन तथा त्यसका इन्चार्ज, सहइन्र्चाज र पदाधिकारी पुरानै अवस्थामा पुनस्र्थापित हुने पत्रकार सम्मेलनमा जानकारी दिइयो । जिल्ला सचिव प्रमेश घिमिरेले एकताबद्ध एमाले बनाउन गाउँसम्म संगठन अभियान सञ्चालन गर्नुपर्ने भन्दै एसमा गएकाहरुलाई पुन घर फर्कन आग्रह गरे । माधव नेपाल समूहबाटै सचिब भएका घिमिरे ओलीको संसद बिघटनको कदमलाई प्रतिगामी भन्दै भएको आन्दोलनमा सहिक भई केहीदिनपछि ओली खेमामा गएर जिल्ला अध्यक्ष भएका थिए । 


पार्टी छाड्नेहरुलाई एकपटक अवसर दिन बैठकमा बोलाउने, नआए जिम्मेवारीमुक्त गरेर अघि बढ्ने जनाएको छ । बिभाजनपछि बसेको पहिलो बैठकले असोज मसान्तभित्र पार्टीको संगठित सदस्यता नविकरण र नयाँ सदस्यता वितरणको काम सुरु गर्ने निर्णय गरेको पनि जनाइएको छ । प्रदेश सांसदहरु बिमल कार्की र अम्बिका थापाले सीमित जनप्रतिनिधि मात्र एमालेबाट चोईटिएर गएको भन्दै त्यसले पार्टीलाई केही फरक नपर्ने बताएका थिए । 


निर्वाचन आयोगबाटै कानुनी मान्यता पाएर एमाले र जसपाबाट अलग भएका एस र लोसपामा जान चाहने जनप्रतिनिधिलाई निर्वाचन आयोगले भदौ २२ गतेसम्म दल रोज्ने समय दिएको थियो । जस अनुसार उदयपुरका ८ स्थानीयतहमध्ये त्रियुगा नगरप्रमुख बलदेव चौधरी र उदयपुरगढी गाउँपालिका अध्यक्ष मानबहादुर केप्छाकी मगरले नेकपा (एस) रोजेका छन् । त्यस्तै, जिल्ला समन्वय समिति सदस्य चीनवीर दनुवार, ५ जना वडाध्यक्ष, कार्यपालिका सदस्य र वडा सदस्यगरी २८ जनाले एमाले त्यागेका छन् । 


एमालेलेकै भाषामा १३ दशमलव २ प्रतिशत जनप्रतिनिधिले नेकपा (एस) रोजेका छन् । २०७४ को स्थानीयतह चुनावमा कुल २ सय १० जना निर्वाचन र ८ जना मनोनित प्रतिनिधिमध्ये २८ ले नेकपा (एस) रोजेपछि अव एमालेमा १ सय ९० बाँकी छन् । ४ नगरपालिकामध्ये चौदण्डीगढीमा कांग्रेस र बाँकी ३ नगरप्रमुख तथा ४ गाउँपालिकामध्ये लिमचुङबुङमा नेकपा (माओबादी केन्द्र)बाहेक ३ मा अध्यक्ष एमालेकै पोल्टामा परेको थियो । दुई नगरमा उपप्रमुख र ३ गाउँपालिकामा उपाध्यक्ष तथा ७५ वडामध्ये ३१ वडाध्यक्ष एमालेले जितेको थियो । जिल्ला जिल्ला समन्वय समिति प्रमुख, उपप्रमुखसहित सेटै एमालेबाट विजयी रहेकोमा एक सदस्य चीनवीर दनुवारले नेकपा (एस) रोजेका छन् ।