परिमार्जन नगरी एमसीसी पास हुँदैन : नेकपा (एकीकृत समाजबादी) 

२0७८ भाद्र २३ बुधबार
परिमार्जन नगरी एमसीसी पास हुँदैन :  नेकपा (एकीकृत समाजबादी) 

उदयपुर

वहुचर्चित अमेरिकन मिलेनियम च्यालेन्ज (एमसीसी) परियोजना परिमार्जन नगरी कार्यान्वयन हुन नदिने नवगठित पार्टी नेकपा (एकीकृत समाजबादी) ले अडान लिएको छ । एमालेबाट बिभाजन भई माधव नेपाल नेतृत्वमा कानुनी रुपमा स्थापना भएको दल नेकपा (एकीकृत समाजबादी) उदयपुरद्वरा बुधबार आयोजित पत्रकार सम्मेलनमा पार्टीको अडान सार्वजनिक भएको हो । 


गाईघाटमा आयोजिन पत्रकार सम्मेलनमा पार्टीका केन्द्रीय प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले अहिले सर्वत्र विरोध भईहेको एमसीसी परियोजना आवश्यक परिमार्जनपछि मात्र पास गर्ने या नगर्ने टुंगो हुने बताए । खतिवडाले साविक नेकपा हुँदै बिबादित भएको एमसीसीको समाधानका लागि गठित वरिष्ट नेता झलनाथ खनाल नेतृत्वको अध्ययन कार्यदलको रिपोर्ट अनुसार परिमार्जन नगरी लागू गर्न नदिइने बताए । मित्र राष्ट्र अमेरिकासँगको वर्षाैंदेखिको सम्बन्ध र सहकार्यलाई लत्याईहाल्न नमिल्ने र सहयोगका नाममा आएको प्रस्तावलाई जस्ताको तस्तै पारित गर्न पनि नसकिने नीति पार्टीको रहेको खतिवडाको भनाई थियो । 


पत्रकार सम्मेलनमा नवगठिट पार्टीको उदयपुर जिल्ला कमिटीको अध्यक्षमा राममणि पोखरेललाई र सचिवमा जयराम पञ्जियारलाई  चयन गरेको जानकारी दिइयो । तत्कालीन प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी ओलीले गएको पुस ५ गते पहिलो पटक संसद बिघटन गरेपछि गठित समानान्तर जिल्ला कमिटीलाई नै एकीकृत समाजबादीको जिल्ला कमिटीमा रुपान्तरण गरिएको खतिवडाले बताए । 


समानान्तरक कमिटीका अध्यक्ष इश्वरमणि राउतलाई कारबाही गर्दै पोखरेललाई अध्यक्षमा मनोनित गरेको सम्मेलनमा उनले बताए । खतिवडाले ओलीले संसद बिघटन गरेपछि असहमति जनाउने पार्टी नेता कार्यकर्ताहरुको भेलाले ०७७ चैत २२ गते गठन गरेको समानान्तर कमिटीलाई नेकपा (एस)को जिल्ला कमिटीमा रुपान्तरण गरिएको बताउँदै आउँदो असोज ३ गते बृहत जिल्ला भेला गरेर थप निर्णय गरिने बताए । 


‘हामीले नेकपा (एमाले) को तत्कालीन समानान्तर कमिटीलाई नै एकीकृत समाजबादीको जिल्ला कमिटीमा परिणत गरेका छौं’ पत्रकार सम्मेलनमा खतिवडाले पार्टी निर्णय सार्वजनिक गर्दै भने ‘ओलीको प्रतिगामी कदमलाई स्वीकार्दै त्यहीँ बसेपछि जिल्ला कमिटी अध्यक्ष इश्वरमणि राउतलाईे हटाएर उहाँको ठाउँमा राममणि पोखरेललाई पदस्थापन गर्ने निर्णय भएको छ ।’ खतिवडाका अनुसार १ सय ७५ सदस्यीय समानान्तर कमिटीका अध्यक्ष राउतबाहेक सबैलाई यथावत राखिएको छ ।


जिल्ला कमिटी सचिवमा जयराम पञ्जियार थारुलाई पदस्थापन गरिएको र अन्य पदाधिकारी सबै समानान्तर कमिटीकालाई यथावत राखिएको खतिवडाले बताए । नेकपा (एस) विश्वमा सबभन्दा कान्छो कम्युनिष्ट पार्टी भएको नाताले ५–१० वर्षपछि देश र जनताको भरोसाको केन्द्र बन्ने गरी जिम्मेबारी काँधमा बोकेर हिड्ने सुनौलो अवसर मिलेको उनको दावी छ । 


नेकपा (एस)को मार्गदर्शशक सिद्धान्त माक्र्सबाद, लेनिनबाद नै भएको बताउँदै उनले एमालेले मुख्य कार्यक्रमको रुपमा अंगिकार गर्दै आएको ‘जनताको बहुदलीय जनबाद’लाई परिमार्जन गर्ने जनाए । नेकपा (एस)ले ‘जनताको वहुदलीय जनबाद’मध्ये ‘जनताको बहुदलीय’ शब्दलाई यथावत राख्ने र, ‘जनबाद’लाई समयानुकुल परिमार्जन गर्दै समाजबादतर्फ उन्मुख हुने उनले बताए । ‘जनबाद’ शब्दलाईे परिस्थिति अनुकुल परिमार्जन गर्दै समग्र देश र जनताको हित अनुकुल समाजबाद उन्मुख दिशामा अघि बढ्ने नीति लिइने उनले बताए । 


जिल्ला कमिटी अध्यक्ष पोखरेलले आउँदो ३ महिनाभित्र ७५ वटै वडामा पार्टी कमिटी पुनर्गठन गरिसक्ने प्रतिबद्धता जनाए । २६ वर्षपछि जिल्ला पार्टी नेतृत्वमा पुनः फर्केको बताउँदै ७५ वर्र्षीय बृद्ध पोखरेलले जिल्लाका ७५ वटै वडासम्म पार्टी संगठन निर्माण गरेर नेकपा (एस) लाई देशको १ नं.  पार्टी बनाउने अभियान चलाउने बताए । उनका अनुसार पार्टी फुट्नुअघि एमालेमा ७७ जिल्लामध्ये माधव नेपाल समूहको ३४ जिल्ला एकल बहुमत र ४८ जिल्लामा बहुमत रहेकोमा धेरै साथीहरु ओलीको प्रतिगमामी कदम स्वीकार्दै लम्पसार परेको भए पनि अन्ततः एसमै समाहित हुन बाध्य हुने बताए ।


कार्यक्रममा केन्द्रीय सदस्य तथा त्रियुगा नगरप्रमुख बलदेव चौधरी, प्रदेश सदस्य राजकुमार राई, सांसद सुनिताकुमारी चौधरी र निर्वाचन कार्यालयबाट नेकपा एस रोजेर सनाखत गरेका जनप्रतिनिधि, युवा, विद्यार्थी र महिलाको उल्लेख्य उपस्थिति रहेको थियो ।