दुई प्रमुख, समन्वय सदस्य र ५ वडाध्यक्षसहित २८ ले एकीकृत समाजबादी रोजे

२0७८ भाद्र २३ बुधबार
दुई प्रमुख, समन्वय सदस्य र ५ वडाध्यक्षसहित २८ ले एकीकृत समाजबादी रोजे

उदयपुर

निर्वाचन आयोगले दिएको दल रोज्न पाउने अधिकारको अन्तिम दिन मंगलबारसम्म उदयपुरका २८ जना जनप्रनिधिले माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजबादी) रोजेका छन् । नयाँ पार्टी रोज्दै सनाखत गर्नेहरुमा त्रियुगा नगरप्रमुख बलदेव चौधरी, उदयपुरगढी गाउँपालिका अध्यक्ष मानबहादुर केप्छाकी मगर, जिल्ला समन्वय समिति सदस्य चीनवीर दनुवार, ५ जना वडाध्यक्ष तथा बाँकी कार्यपालिका र वडा सदस्य रहेको जिल्ला निर्वाचन कार्यालय उदयपुरले जनाएको छ । 


निर्वाचन कार्यालयका अनुसार त्रियुगाका मेयर चौधरीसँगै ३ नं. वडाध्यक्ष अवधेशप्रसाद चौधरी, १३ नं. वडाध्यक्ष पशुपति चौधरी र ३, ६ र ११ का एक–एक सदस्यले एस रोजेका छन् । त्यस्तै उदयपुरगढी ७ की वडाध्यक्ष कर्णमाया मगर, कटारी नगरपालिका ९ का वडाध्यक्ष बेगबहादुर आलेमगर र लिमचुङबुङ गाउँपालिका ५ का वडाध्यक्ष केशरकुमार खड्का पनि एसमा समाहित भएका छन् । 


नेकपा (एस) रोज्ने अन्य जनप्रतिनिधिमा कटारी नगरपालिका ९ का वडाध्यक्ष मगर र वडाका ४ जना सबै सदस्यहरु छन् भने कटारी ४ का २ सदस्यले पनि नेकपा (एस) रोजेका छन् । त्यसैगरी उदयपुरगढी गाउँपालिका प्रवक्ता तथा कार्यपालिका सदस्य थमान विक, वडा नं. २, ४ र ७ का एक–एक सदस्य तथा ५ का २ सदस्य, लिमचुङबुङ गाउँपालिका ३ का सदस्य गुरुमणि कुमाईले पनि एमाले त्यागेका छन् । एस रोज्ने जनपतिनिधिहरु सोमबारदेखि निर्वाचन कार्यालय पुगेर एमाले छाडेको प्रमाणस्वरुप सनाखत गर्दै आएका थिए ।


एसमै आउने भनिए पनि ताप्ली गाउँपालिका अध्यक्ष उद्धवसिंह थापा, उपाध्यक्ष कमलामाया राई र ५ वटै वडाध्यक्ष, सदस्य एमालेमै रहे । त्यस्तै रौतामाई गाउँपालिका अध्यक्ष गजेन्द्र खड्का, उपाध्यक्ष कुमारी रानाज्यु ठकुरी र ८ वटै वडाध्यक्ष, लिमचुङबुङ गाउँपालिकाका ३ र ४ नं. वडाध्यक्ष, त्रियुगा नगरपालिका २, ४, ११ र १२ नंं वडाध्यक्ष र चौदण्डीगढी नगरपालिकाका ९ का वडाध्यक्षले पनि एमाले छाडेनन् । बेलका नगरपालिकाका मेयर दुर्गाकुमार थापा, उपमेयर राजकुमारी चौधरी र ९ वडामा एमालेबाट जितेका ८ वडाध्यक्षमध्य ४ र ९ बाहेक पहिलेदेखि नै ओली समूहमा थिए । माधव समूहका २ वडाध्यक्षले पनि (एस) रोज्ने हिम्मत कसेनन् ।


पूर्व सांसद तथा नेकपा (एस)का प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले लामो समयदेखि माधव नेपाल समूहमा रहेर टिकट पाई चुनाव जितेका धेरै जनप्रतिनिधिहरु पछिल्लो समय लोभलालच र धाकधम्कीमा परे एसमा आउन नसकेको बताए । उनका अनुसार कटारी नगरप्रमुख ज्ञानेन्द्र श्रेष्ठ माधव समूहबाटै टिकट पाएर चुनाव जितेका हुन् । तर, मेयर श्रेष्ठ ओलीले पहिलो पटक संसद बिघटन गरेर पार्टी विस्तार गर्दा खेमा परिवर्तन गरेर केन्द्रीय सदस्य बनेका थिए । 


त्रियुगा मेयर तथा एसका केन्द्रीय सदस्य चौधरी एमाले हुँदा तथा माओबादी केन्द्रसँग एकीकरण भएर बनेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा पनि केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज थिए । उदयपुरगढीका अध्यक्ष मगर पन िपहिलेदेखि नै माधव नेपाल समूहमै रहँदै आएका छन् । एसमा प्रवेश गर्ने वडाध्यक्षहरु पनि नेपाल समूहमै रहेका थिए भने सदस्यहरु भने खासै गुटसँग साईनो राख्ने गरेको पाइएको छैन । कतिपय वडास्तरीय जनप्रतिनिधिहरुलाई भने समयमा खवर गर्न नसक्नाले पनि एसमा प्रवेश गराउन नसकिएको खतिवडाले बताए ।


पूर्वानुमान अनुसार यो भन्दा निकै ठूलो संख्यामा जनप्रतिनिधि एसमा प्रवेश गर्ने आँकलन गरिएकोमा जिल्ला अधिवेशनबाट निर्वाचिन अध्यक्ष इश्वरमणि राउतले खेमा परिवर्तन गरेका कारण यस्तो अवस्था सिर्जना भएको प्रदेशसभा सांसद तथा प्रदेश पार्टी सदस्य सुनिता चौधरी बताउँछिन् । उनका अनुसार अविधेशनबाट अध्यक्ष भएका राउत पछिल्लो पटक तेस्रो धारका १० नेता एमालेमै रहने भएसँगै मनस्थिति बद्लेर एमालेमै रहने निर्णयमा पुगेपछि एसमा आउन तयार जनप्रतिनिधिहरु एकाएक रोकिन पुगेका हुन् । 


अधिवेशनबाट जितेका अध्यक्ष्ँ राउत, सचिव प्रमेश घिमिरे र बहुमत जिल्ला सदस्यहरुको हिस्सा माधव नेपाल समूहमै रहेको थियो । तर, जव तेस्रो धार एमालेमा रहने निर्णयमा पुग्यो, एकाएक परिस्थिति बद्लिएको चौधरी बताउँछिन् । केपी ओलीले पहिलो पटक संसद विघटन गर्दा प्रचण्ड माधव समूहले आयोजना गरेको बिरोध कार्यक्रमको आन्दोलनमा अगुवाई गर्ने सचिव घिमिरे केही दिनपछि नै ओलीपक्षमा अध्यक्ष भएर जिल्ला पार्टी पुनर्गठन गरेका थिए ।