त्रियुगा र उदयपुरगढी प्रमुख नेकपा (एस)मा, सनाखत गर्ने आज आन्तिम दिन 

२0७८ भाद्र २२ मंगलवार
त्रियुगा र उदयपुरगढी प्रमुख नेकपा (एस)मा, सनाखत गर्ने आज आन्तिम दिन 

गाईघाट

त्रियुगा नगरपालिका र उदयपुरगढी गाउँपालिका प्रमुखसहित डेढदर्जन एमाले जनप्रतिनिधिले माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजबादी) रोजेका छन् । आईतबार त्रियुगा नगरप्रमुख बलदेव चौधरीलगायत आधादर्जन बढीले नेकपा (एस)मा सनाखत गरेकोमा सोमबार उदयपुरगढी गाउँपालिका अध्यक्ष मानबहादुर केप्छाकी मगरलगायताले सनाखत गरेका हुन् । 

 


एमाले विभाजनपछि निर्वाचन आयोगले दिएको समयसीमा सकिन दुईदिन बाँकी छँदै दुई स्थानीयतह प्रमुखले एकीकृत समाजबादी रोजेका हुन् । उनीहरुले जिल्ला निर्वाचन कार्यालय गाईघाट गएर नेकपा (एस) को पक्षमा सनाखत गरेका हुन् । सोमबार सनाखत गर्नेहरुमा अध्यक्ष मगरसँगै ७ नं. वडाध्यक्ष कर्णमाया घलेमगर र गाउँ कार्यपालिका सदस्य एवं गाउँपालिकाका प्रवक्ता थमान विक रहेका छन् । 


नेकपा (एस)का प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाको साथमा सोमबार दिउसो आएर उनीहरुले सनाखत गरेको निर्वाचन कार्यालय उदयपुरले जनाएको छ । अघिल्लो दिन सनाखन गर्नेमा मेयर चौधरीसहित ३ नं. वडाध्यक्ष अवधेशप्रसाद चौधरी, १३ की वडाध्यक्ष पशुपति चौधरी, वडा नं. ११ की सदस्य सकुन्तला विक, ६ नं. वडा सदस्य जयराम पञ्जियारलागयत छन् । 


नेपाल समूहकै २ नं. वडाध्यक्ष घमानसिंह खत्री, ११ नं. वडाध्यक्ष विश्वराज भट्टराई, १२ नं. वडाध्यक्ष जयविक्रम राईले सोमबारसम्म सनाखत गरेका छैनन् । उनीहरु मंगलबार अन्तिम समयसम्म सनाखत गर्न जाने नेकपा (एस)ले जनाएको छ । एकीकृत समाजबादीका केन्द्रीय सदस्य चौधरी एमाले हुँदा र माओबादी केन्द्रस्सँग एकीकरण भएर बनेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा पनि केन्द्रीय सदस्य नै थिए । उनी पार्टीको तत्कालीन जिल्ला इन्चार्ज पनि हुन् । उदयपुरगढीका अध्यक्ष मगर पहिलेदेखि नै माधव नेपाल समूहका हुन् । 


अध्यक्ष मगरलगायत ३ जनाले सनाखत गरे पनि उपाध्यक्ष सानुकुमारी राउत तथा ८ वडामध्ये सदस्यसहित सेटै जितेका १ नं. वडाध्यक्ष खेतबहादुर आलेमगर र २ नं. वडाध्यक्ष इन्द्र राउतलागयत १० जनाले सनाखत गर्न बाँकी छ । उनीहरु पनि सनाखत गर्न तयार रहेको तर, एमालेले नगर्न दबाब दिइरहेकाले अप्ठेरो महसुस गरिरहेको एकीकृत समाजबादीका नेताहरुको भनाई छ । समाजबादीका नेताहरुका अनुसार धेरै जनप्रतिनिधिहरु नेपाल पक्षमा सनाखत गर्न चाहेर खुलिसके पनि बिभिन्न प्रलोभन र धाकधम्की दिएर एमालमै बस्न बाध्य बनाउख खोजिदैछ ।


सनाखत गर्न अझै ३६ घण्टा समय रहेकाले मंगलबार कार्यालय समयभित्रसम्मा धेरै जनप्रतिनिधि आईपुग्ने एकीकृत समाजबादीका नेताहरुको दावी छ । पार्टी केन्द्रीय सदस्य तथा त्रियुगाका मेयर चौधरीले अरु पनि जनप्रतिनिधि मंगलबार सनाखत गर्न आउने बताए । वर्षाका कारण आउन नसकेर, कोही कामले व्यस्त भएर र कोही काठमाडौंबाट आउन नभ्याएर सनाखत गर्न उपस्थित नभएको उनले बताए । 


एमालेका जिल्ला अधिवेशनबाट निर्वाचिन अध्यक्ष इश्वरमणि राउत, सचिव प्रमेश घिमिरे र जिल्ला कमिटीका बहुमत सदस्य माधव नेपाल समूहमै रहेकोमा पछिल्लो समय राउत समूह छाडेर एमालेमै बस्ने भएपछि नेकपा (एस)तर्फ खुल्ने संख्या घटेको हो । अध्यक्ष केपी ओलीले पहिलो पटक संसद विघटन गरेको बिरोधमा आयोजित आन्दोलनको नेतृत्व गरेका सचिव घिमिरे केही दिनपछि नै ओलीपक्षको जिल्ला अध्यक्ष बनेसँगै केही जिल्ला सदस्यहरु ओली खेमामा गएका थिए । तर, अन्तिम समयसम्म माधव समूहमै रहेका राउत भने पार्टी फुट्को संघारमा पुगेपछि नेपाल समूहलाई छाडेर गएका तेस्रो धारका भनिएका १० जनासागै एमालेमै फर्कने मनस्थितिमा पुगेका हुन । 


तर, पछिल्लो समय पार्टी ०७५ जेठ २ गतेको अवस्थामा फर्काइएको भनिए पनि व्यवहारमा नदेखिएपछि राउत अहिले दोधारमा परेको एसनिकट नेताहरु बताउँछन् । राउत दोधारमा परेसँगै एसमा जान ठिक परेका थुप्रै जनप्रतिनिधि र कार्यकर्ता एमालेमै रोकिने या एकीकृतमा जाने भन्ने दुविधामा पुगेको नेताहरुको भनाई छ । अहिले अधिकांश जिल्ला सदस्यहरु दुवैपक्षमा नखुली मौन बसेका छन् । निर्वाचित जनप्रतिनिधिलाई एकीकृत समाजबादीमा जान चाहे २२ गते मंगलबारभित्र एकीकृत सनाखत गरिसक्नु पर्ने भएकाले अवको ३६ घण्टा (यो समाचार तयार पार्दासम्म) भित्र को कता भन्ने कुराको छिनोफानो हुने खतविडा बताउँछन् ।


अझै ३६ घण्टा समय बाँकी रहेकाले अहिले नैे को को आउँछन् भन्न नसकिने उनले बताए । खतिवडाका अनुसार अहिलेसम्म १७ जनाले सनाखत गरिसकेका छन्, गाउँका कतिपय जनप्रतिनिधिलाई सनाखत गर्नुपर्छ भन्ने जानकारीसमेत नभएकाले पनि यस्तो भएको हो । तर, कम्तीमा अहिलेको संख्या दोब्बर हुनेगरी जनप्रतिनिधिले एस रोज्ने केन्द्रीय सदस्यसमेत रहेका त्रियुगाका मेयर बलदेव चौधरीको दावी छ । 


राउतले खेमा परिवर्तन गरेसँगै एसमा आउन लागेका ५० प्रतिशत जिल्ला सदस्यहरु र त्यत्तिकै हाराहारी जनप्रतिनिधि अलमलमा परेको अनुमान गरिएको छ । एसका नेताहरु भने राउतलाई ०७५ जेठ २ गतेमा फर्के जस्तो अध्यक्ष मान्न एमाले नेताहरु तयार नहुने दावी गर्छन् । घिमिरेलाई अध्यक्षमा यथावत राखेर इन्चार्जको भूमिकामा ओली खेमाकै एमाले नेतालाई राखेर राउतलाई सहइन्चार्जमा सीमिन गर्नै पक्षमा रहेको दावी एस नेताहरुले गरेका छन् ।


०७४ को निर्वाचनमा ४ नगरपालिका र ४ गाउँपालिका रहेको उदयपुरमा चौदण्डीगढी नगरमा नेपाली कांग्रेस र लिमचुङबुङ गाउँपालिकामा नेकपा (माओबादी केन्द्र) ले जितेबाहेक अन्य स्थानीयतह एमालेको कब्जामा परेको थियो । त्रियुगा र लिमचुङबुङका उपप्रमुख चाही कांग्रेसले जितेको थियो भने ७५ वडामध्ये झण्डै दुईतिहाईमा एमालेकै वर्चश्व थियो । 


संघीय संसदतर्फ १ नं. वडामा कांगेसका डा. नारायण खड्काले जितेका छन् भने २ मा माओबादीका सुरेशकुमार राई (हिमाल) ले जितेका छन् । प्रदेशतर्फ १ (ख) मा कांग्रेसका हिमाल कार्कीबाहेक १ (क) मा एमालेकै बिमल कार्की, २ (क) मा माओबादीका नारायण बुर्जामगर र २ (ख) मा एमालेकै कला घलेले जितेका छन् । चुनावताका कार्की र घले माधव नेपालपक्षबाट टिकट पाएर चुनाव जिते पनि संसद बिघटनसँगै ओलीपक्षमा गएका छन् । ओलीपक्ष्मा गएपछि कार्की केन्द्रीय सदस्य भए भने घले भूमि व्यवस्था तथा सहकारी राज्यमन्त्री भएकी थिईन् । 


समानुपातिकतर्फ संघीय संसदमा २ जना कांगे्रसका प्रमिला राई र लक्ष्मी परियाले प्रतिनिधित्व गरेका छन् भने प्रदेशतर्फ एमालेका सुनिता चौधरी र अम्बिका थापा तथा कांग्रेसका सञ्जा दनुवार सांसद छन् । जसमध्ये सुनिता चौधरीले सातादिनअघि नै राजेन्द्र राई नेतृत्वको १० जनामध्येमा सहभागी भई प्रदेश निर्वाचन कार्यालयमा गएर नेकपा (एस)को पक्षमा सनाखत गरिसकेकी छिन्