जनताको खुसी नै मेरो उपलब्धीः मानबहादुर केप्छाकी, अध्यक्ष, उदयपुरगढी गाउँपालिका

२0७८ भाद्र २१ सोमबार
जनताको खुसी नै मेरो उपलब्धीः मानबहादुर केप्छाकी, अध्यक्ष,  उदयपुरगढी गाउँपालिका

उदयपुरगढी

वीरवहादुर केप्छाकी र तीलमायाका छोरा मानबहादुर केप्छाकी मगर उदयपुरगडी गाउँपालिकाका अध्यक्ष हुन् । ३ छोरासहित ७ सन्तानमध्ये उनी जेठा हुन् । भाइहरु कर्णबहादर र सुरेश तथा दिदीबहिनी सुशिला, देविका, बुद्धिमाया र शान्तिमाया छन् । कक्षा ५ सम्म गाँउकै विद्यालय पढेका उनी कक्षा ६ देखि एसएलसीसम्म कटारीस्थित त्रिवेणी माविमा पढे । उनले जनकपुरको रत्नराज्य क्याम्पसबाट आफ्नो पढाई अन्त्य गरेर गाउँकै विद्यालयमा ६ वर्ष शिक्षक भएर अध्यापन गरे । 

 


२०४१ सालमा उषा मिरिमचिङसँग मागी विवाह गरेका उनका २ छोरा र एक छोरी छन् । बाबु पन्ञ्चायतकालमा तत्कालीन तावास्री गाउँ पञ्चायतका प्रधानपञ्च भएकाले मगरलाई राजनीतिक वातावरणमा घुलमिल हुने मौका घर परिवारबाटै मिल्यो । तर, त्यसबेलासम्म जिल्लामा भूमिगत रुपमा भए पनि कम्युनिष्ट पार्टीको संगठन फैलिइसकेको थियो । तत्कालीन कम्युनिष्ट कोअर्डिनेसन (कोके) का नेता राममणि पोखरेलको सम्पर्कमा जोडिन पुगेका मगर उनकै पे्ररणाबाट कम्युनिष्ट हुन पुगेको स्मरण गर्छन् । सुरुमा गाउँ कमिटी सदस्यस्ता दिएका उनी २०४७ मा नेकपा (एमाले) बनेपछि संगठित सदस्य भए । २०४९ सालमा भएको स्थानीय चुनावमा तावाश्री गाविसको सदस्य (वडाध्यक्ष) निर्वाचित भए । ०५४ को स्थानीय चुनावमा तावाश्री गाविसको अध्यक्षको टिकट पाए र एमालेबाटै चुनाव जिते । ०७३ मा स्थानीयतह पुनर्संरचना गर्ने क्रममा साविकका तावाश्री, बर्रे, डुम्रे, भलायडाँडा र पञ्चावती गाविसलाई समेटेर उदयपुरगढी गाउँपालिका बनाइयो । ०७४ मा सम्पन्न स्थानीयतह चुनावमा एमालेबाटै अध्यक्षमा चुनाव जिते । 


अध्यक्ष जितेपछि उनले गाउँपालिकाको विकास निर्माणमा सम्पूर्ण समय, बिबेक र उर्जा खर्च गरेर लाग्दै आएका छन् । खासगरी गाउँपालिकामा नभई नहुने सडक, विद्युत, खानेपानी, शिक्षा, स्वस्थ्यको पहुँच जनतासमक्ष पुर्याउने अभियान उनले चुनाव जितेदेखि नै जारी राखेका छन् र अहिलेसम्म धेरै सफलता पनि पाईसकेका छन् । उनको लगाव र मेहनेतमा सबैको साथ सहयोग पनि मिलिरहेको छ जसले गाउँपालिकाका ८ वटै वडामा अहिले लगभग सबै भौतिक पूर्वाधार निर्माणको कामले गति लिएको छ । उनको योजना १२ महिनै सबै वडामा गाडी चल्नुपर्छ, शिक्षा, स्वास्थ्यबाट कोही वञ्चित हुनुहुँदैन, विद्युत सबै उपभोक्ताले बाल्न पाउनुपर्छ, खानेपानीको दुःख हुनुहुन्न भन्ने हो । त्यस हिसावले लागी पर्दा अहिले ३ वटा वडामा १२ महिनै गाडी चल्ने गरी सडक तयार भएको छ । उनलाई सडक यातायाततर्फ सफलता प्राप्त हुँदै गएको ठहर भएको छ । विद्युत क्षेत्रमा गाउँपालिकाका ६ हजार घरधुरीमध्ये ४ हजार ५ सय घरधुरीले विद्युत उपभोग गर्न थालिसकेका छन् । आउँदो दशैभन्दाभित्र थप जनतालाई बत्ती बाल्ने व्यवस्था मिलाईसक्ने योजनाका साथ युद्धस्तरमा काम भईरहेको उनको सुनाए । 


उदयपुरगढी गाउँपालिकामा सामुदायिक विद्यालयको संख्या ६४ वटा छ । जसमा मावितहका विद्यालयहरु वडा नं. १ मा एउटा  ३ मा दुईटा, ४ मा दुईटा, ५ मा एउटा, ६ मा दुईटा, ७ मा दुईटा र ८ मा एउटा गरी १२ वटा छन् । ती विद्यालयमा कक्षा १२ सम्मको अध्यन गराइदैछ । सबै विद्यालयलाई सकेसम्म शैक्षिक जनशक्तिदेखि भौतिक पूर्वाधारयुक्त बनाउने लक्ष्यसाथ अघि बढिरहेको उनले बताए । उता स्वास्थतर्फ वडा नं.१, ३, ४ र ५ मा एम्बुलेन्स सेवासहितको स्वास्थ चौकी सञ्चालनमा छन् ।  खेलकुद क्षेत्रको विकासका लागि सार्वजनिक जग्गाको व्यवस्थापन गर्दै हरेक वडामा खेल मैदान बनाउने क्रम चलिरहेको अध्यक्ष मगरले बताए । 


८ वटा वडामध्ये दुईटा वडामा पक्की प्रशासनिक भवन बनाईसकेका उनले बाँकी ७, ४ र ५ वडामा चालु वर्ष भवन बनाउने गरी बजेट विनियोजन गएिको बताए । गाउँपालिका मुकाम उदयपुरगढीमा स्थायी र अर्को एक ठाउँ अस्थायी गरी दुईटा प्रहरी चौकी छन् । गाउँपालिकाभरी ७० प्रतिशत घरमा जस्तापाताको छाना लगाइएको छ भने बाँकी ३० प्रतिशत खरको छाना रहेका घरहरुमा पन िछिट्टै जस्ता लगाउनेगरी कार्यक्रम अघि बढाइएको छ । उदयपुरगढीका जनता बढीजसो कृषिमा लगाव राख्दै आएका छन् । अहिले किसानले मौसमीसँगै बेमौसमी तरकारी उत्पादनमा पनि जोड दिदै आएका छन् । जस अनुसार बार्षिक ४५ लाखको तरकारी उदयपुरगढीका किसानले बाहिर निर्यात गरेर बेच्दै आएको अध्यक्ष मगरले बताए  । 


अध्यक्ष मगरका अनुसार पर्यटकीय हिसावले अत्यन्त संभावना बोकेको गाउँपालिकाले त्यसका लागि आवश्यक पूर्वाधार खडा गर्ने काम गरिरहेको छ । जसका लागि उदयपुरगढीमा पुरानो गढीको पुनर्संरचना गरेर पर्यटकीय केन्द्र बनाउने अभियानमा आफुहरु लागिरहेको अध्यक्ष मगरले बताए । उदयपुरगढीलाई नेपाल सरकारले दुईवर्षअघि नै देशभरका १ सय गन्तव्यमध्ये समेटेर राष्ट्रिय पर्यटन केन्द्रभित्र पारिसकेको छ । तर, कोविडका कारण आवश्यक तयारी र प्रबद्र्धन गर्न बाधा खडा भएको अध्यक्ष मगरले बताए । 


धार्मिकस्थलमा वडा नंं ५ होबासमा महादेवको मन्दिर बनाइएको छ भने वडा नं. २ मा साविक ककनी मन्दिरलाई थप विकसित र व्यवस्थित गर्ने काम भईरहेको छ । 


प्रमुख प्रशासकीय अधिकृत माधव सुबेदी नेतृत्वमा हाल ३२ जना कर्मचारी कार्यरत रहेको उदयपुरगडी गाउँपालिकालाई समग्रमा उदयपुरका पहिलो विकसित र व्यवस्थित स्थानीयतह बनाउने अभियानका साथ लागिरहेको मगरले बताए । थोरै बोल्ने, धेरै काम गर्ने स्वभावका धनी, फेसबुक र ट्वीटरमा विकासको गफ छाँट्ने जनप्रतिनिधिभन्दा फरक, कर्तव्य र दायित्वको बोध गर्दै जनताप्रति समर्पित हुँ भन्ने बताउँने उनी आफु बोलेर भन्दा काम गरेर देखाउने मौका नचुकाउने बताउँछन् । सडक यातायात, खानेपानी, विद्युतजस्ता आधारभूत कुराहरुमा गाउँपालिकालाई सवल बनाउँने उदेश्य लिएको बताउँछन् भने स्वास्थ्य र शिक्षामा कुनै कमी महसुस नगराउने योजनामा छन् । अध्यक्ष मगरले गाउँपालिकाबासीको खुसी र सर्वसुलभ सेवा सुविधा प्रदान गर्नु नै आफ्नो मुख्य उदेश्य रहेको बताए । आफुुलाई यो उदेश्य पुरा गर्नमा उपाध्यक्ष सानुकुमारी राउतलगायत सम्पूर्ण वडाध्यक्षहरु, कार्यपालिका सदस्य र वडा जनप्रतिनिध तथा कर्मचारीहरुले साथ सहयोग पाउँदै आएकोमा अध्यक्ष मगरले खुसी व्यक्त गरे । (मुलुकीका संपादक बुद्धिकुमार राईले गरेको कुराकानीका आधारमा तयार पारिएको सामग्री)