भालु खोलाले बगाएर बालिका बेपत्ता

२0७८ भाद्र २0 आईतवार
भालु खोलाले बगाएर बालिका बेपत्ता

उदयपुर


खोला बाढीले बगाउँदा यहाँकी एक बालिका विहानदेखि बेपत्ता भएकी छिन् । आईतबार विहान ७ बजेको समयमा त्रियुगा नगरपालिका ७ भालुखोलाकी १३ वर्षीया याशिका राईलाई एक्कासी आएको बगाएर बेपत्ता बनाएको हो । 


भालुखोला छेउमा फसेको १ नं. प्रदेश ०५–००१ ह ०१२७ नं. को अटोरिक्सा निकाल्न परिवारका सदस्यहरुसँगै उनी पनि गएकी थिईन् । अटो निकाल्दै गर्दा राईलाई खोलामा एक्कासी आएको बाढीले अटोसहित बगाएर बेपत्ता पारेको बालिकाको आमा यमकुमार राईलाई उद्धृत गर्दै जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । 


अटो रिक्सा भने घट्नास्थलको ५ सय मिटर तल खोलामा फेला परेको छ । तर, बालिका भने अहिलेसम्म फेला नपरेको प्रहरीले जनाएको छ । उनको खोजी कार्यका लागि जिल्ला प्रहरी कार्यालयका डिएसपी कमाण्डमा टोली परिचालन गरिएको छ । चुरे जंगल मुहान भएको सामान्य खहरे मानिने भालु खोलामा निरन्तर वर्षाका कारण मान्छे बगाउने बाढी आएको स्थानीयले बताएका छन् ।


केहीदिनयता उदयपुरमा भईरहेको निरन्तर वर्षाले जनधनको क्षति गरिरहेको छ । वर्षाका कारण पहाडी भेगमा पहिरो गएर सडकहरु अवरुद्ध हुन पुगेका छन् भने तराई तथा भित्रिमधेस क्षेत्रमा डुबान र कटानको समस्या भोग्नु परेको स्थानीय बताउँछन् ।