सप्तकोसी कटान हेरेपछि गृहमन्त्रीले भने 'छिट्टै दीर्घकालीन समाधानको पहल गर्छु'

२0७८ भाद्र २0 आईतवार
सप्तकोसी कटान हेरेपछि गृहमन्त्रीले भने 'छिट्टै दीर्घकालीन समाधानको पहल गर्छु'

बुद्धिकुमार राई 
रामपुर

गृहमन्त्री बालकृष्ण खाँणले सप्तकोसी कटानको दीर्घकालीन समाधान गर्ने प्रतिबद्धता जनाएका छन् । गएको साता सप्तकोसी फुटेर बेलकातर्फआएको कटानको शनिबार स्थलगत अवलोकन भ्रमणपछि आयोजित सरोकारवालाहरुसँगको छलफलमा मन्त्री खाँणले सो प्रतिबद्धता जनाएका हुन् । 


उदयपुर र सुनसरी भएर बग्ने सप्तकोसीमा आएको बाढीले गत आईतबार बेलका नगरपालिका ८ लाहुरेखोलास्थित जमिन फुटाएर उदयपुतर्फ भँगालो पसेको थियो । बाढी उदयपुरतर्पm पसेर हताहत भएपछि स्थानीयहरुको सुरक्षाका लागि जिल्ला विपद् व्यवस्थापन समितिले गृहमन्त्रालय गुहारेको थियो । 


सो ठाउँको पछिल्लो अवस्था बुझ्न मन्त्री खाँण गृह मन्त्रालयका सचिव टेकनारायण पाण्डे, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. विश्व पौडेल, सडक विभागमा महानिर्देशक अर्जुन थापा, सिंचाई विभागका उपमहानिर्देशक प्रदिप थापा र राष्ट्रिय विपद् जोखिम तथा व्यवस्थापन प्राधिकरणका प्रमुख कर्याकारी निर्देशक अनिल पोखरेललाई साथमा लिएर भ्रमणमा आएका थिए । प्रमुख जिल्ला अधिकारी तुलसीराम सेंढाईका अनुसार सरोकारवाला निकायका प्रमुख तथा प्रतिनिधिसहित आएका मन्त्री खाँणले बाढीबाट प्रभावित १५ हजार स्थानीयको अवस्थाबारे स्थलगत अवलोकन गरेर छिट्टै उद्धार र दीर्घकालीन समाधानको आश्वासन दिएका थिए । 

 


कोसी फुटेर पसेको बाढीले बेलका २, ३, ८ र ९ नं. वडाले छोएको कोसी टप्पुक्षेत्र आसपास बसोबास गद्र्रै आएका झण्डै ३ सय घरधुरी स्थानीयलाई बिस्थापित गर्ने खतरा बढेको भन्दै स्थानीयले तत्काल उद्धार र सुरक्षको माग गृहमन्त्री खाँणसमक्ष गरेका थिए । स्थानीयबासीको आग्रह अनुसार छिट्टै सरकारले उचित कदम चाल्ने प्रतिबद्धता भ्रमणपछि आयोजित छलफलमा मन्त्री खाँणले गरेको सिडिओ सेंढाईले बताए । 


नेपाली सेनाको ९ एन ०५३ नं. को हेलिकोप्टर चढेर आएका गृहमन्त्री खाँणले घट्नास्थलको निरीक्षणपछि जनप्रतिनिधि, प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकाय प्रमुख र स्थानीयबासीसँग सामुहिक छलफल गरेका थिए । प्रदेश प्रहरी प्रमुख, उदयपुर, सप्तरी रसुनसरीका प्रजिअसहित सुरक्षा निकाय प्रमुखहरु र स्थानीय जनप्रतिनिधिको उपस्थितिमा भएको लछफलमा मन्त्री खाँणले कटान र डुबान रोक्न तत्काल सम्बन्धित सरकोकारवालाहरुलाई निर्देशन दिएका थिए ।


स्थानीयहरुले वर्षेनी आउने बाढीबाट बँच्न दीर्घकालीन तटबन्ध बाँध्नुपर्ने माग गरेको विषयमा यथासिघ्र संबोधन गर्ने बताएका थिए । तत्काललाई सुरक्षा र बाढी रोकथाम गर्दै गर्न निर्देशन दिदै उनले थप व्यवस्थापनका लागि सरकारले विस्तृत अध्ययन गरेर उचित कदम चाल्ने आश्वासन दिएका थिए । भ्रमण र छलफलपछि उनी दिउँसो ३ः०० बजे नै सोही हेलिकोप्टरमार्फत राजधानी फर्केको सिडिओ सेंढाईले बताए । 

 


लाहुरेखोलास्थित फुटेको जमिन भएर कोसीको भँगालो गाउँ छिरेपछि सातादिनयता स्थानीयलाई त्रसित बनाएको छ । उदयपुर र सुनसरीको सीमा भएर बग्ने सप्तकोसीमा आउने बाढीले कटान र डुकानको समस्या निम्त्याउँदा बेलका नगरपालिकाका २, ३, ८ र ९ नं. वडाबासी स्थानीयहरु वर्षेनी पीडित हुँदै आउनुपरेको स्थानीय तीर्थ पराजुलीले बताए । 


जमिन फुटाएर पश्चितर्फ आउन थालेको कोसी भँगालोले उदयपुर र सप्तरीमा जनधनको क्षति हुने उच्च जोखिम बढाएपछि नगर जनप्रतिनिधिले तत्काल उद्धारका लागि प्रशासन, प्रहरी र प्रदेश तथा संघीय सरकार गुहारेको थियो । बाढी आएपछि स्थानीयलाई त्रसित बनाएको बेलका ३ रातापानीका जनक राईले बताए । उनका अनुसार तत्काल खटेको स्थानीय, सहस्त्र प्रहरी, नेपाल प्रहरी र प्राविधिक टोलीले बालुवाको बोरा राखेर कोसीको भँगालो छेक्ने अस्थायी प्रयास गरेका छन् । 


वर्षा कम भएपछि स्वतः मानीको सतह घट्दा खतरा टर्ने भए पनि केही घण्टा वर्षा हुनेबित्तिकै बाढी उर्लेर क्षतिको जोखिम हुने गरेको राईले बताए । त्यहाँको कटानको स्थायी समाधानका लागि दीर्घकालीन योनजाको खाँचो औल्याउँदै स्थानीयले सरकारको ध्यानाकर्षण गराएका छन् । बाढी कटानले बेलकासँगै सप्तरीका पनि थुप्रै स्थानीयतहहरुमा व्यापक क्षति गर्ने अनुमान गरिएको छ । कटान र डुबान गर्ने खतराले स्थानीयमा त्राहीमाम बनाएको उनीहरुको भनाई छ । नगरपालिका केन्द्र बेलका ९ को तल्लो भेगमासमेत कटानले क्षति गर्ने उत्तिकै जोखिम रहेको स्थानीय ललित राईले बताए । 


३–४ दिनसम्म लगातार पानी परेसँगै सप्तकोसी व्यारेजमा पानीको सतह अहिलेसम्मकै सबभन्दा बढी हुन पुगेको थियो । पानीको सतह धेरै बढेपछि कोसी व्यारेजका ५६ ढोकामध्ये ३५ वटा खोल्नु परेको थियो । पानीको सतह बढे पनि भारतले आफुतिर क्षति पुग्नबाट रोक्न आवश्यक्ता अनुसार कोसीका ढोका नखोल्दा नेपालतर्फ डुबान र कटानको व्यापक क्षति गर्ने गरेको छ । ०६५ भदौमा पनि यसरी नै पानीको सतह बढेपछि आवश्यक्ता अनुसार ढोका नखोल्दा कोसी कटान गर्दा २५ हजार जनता प्रभावित भएका थिए भने ५ हजारभन्दा बढीको मृत्यु भएको थियो ।