आँखा अस्पताल आउँदो पुसदेखि सञ्चालन हुने

२0७८ भाद्र १९ शनिबार
आँखा अस्पताल आउँदो पुसदेखि सञ्चालन हुने

गाईघाट

उदयपुर सदरमुकाममा लामो समयदेखि सञ्चालित प्राथमिक आँखा उपचार केन्द्र छिट्टै मदन भण्डारी आँखा अस्पतालको रुपमा स्तरोन्नतिसहित चल्ने भएको छ । गाईघाट र बोक्सेबीच त्रियुगा नगरपालिका ९ बाँसबारीस्थित निर्मित नयाँ भवनमा आउँदो पुसदेखिबाट अस्पाल सञ्चालनमा ल्याउने तयारी र्भरहको व्यवस्थापन पक्षले जनाएको छ । 


शुक्रबार आँखा अस्पताल परिसरको पितृस्मरण स्थलको बार्षिकोत्सवमा सो कुराको जानकारी दिइएको हो । अस्पताल व्यवस्थापनको जिम्मा पाएको नेपाल नेत्रज्योति संघ उदयपुरका अध्यक्ष भागवत राउतले सम्पूर्ण भौतिक पुर्वाधार सम्पन्न भईसकेको र अस्पताललाई चाहिने औजार उपकरण उपलब्ध भईसकेकाले ३ महिनाभित्र सञ्चालनमा ल्याउन लागिएको बताए । 

 

अस्पताल परिसरलाई हरियालीयुक्त बनाउने उदेश्यले मृतक आफन्तको नाममा विरुवा लगाउने काम एकवर्षअघि गरिएको थियो । सो अनुसार त्यहाँ झण्डै ५ सय हाराहारी विरुवा रोपिएको थियो । सोही विरुवा रोपन कार्यक्रमको वर्षदिन पुगेको अवसरमा आयोजित कार्यक्रममा अस्पताल सञ्चालनमा ल्याउने तयारी भईरहेको कुरा अध्यक्ष राउतले जानकारी दिए । 


पितृ स्मरणका लागि रोपिएका विरुवाको अस्पतालका कर्मचारीबाट स्याहारसुसार र हेरचाह हुँदै आएको छ । तर, पनि विरुवा रोप्नेहरु स्वयं बेलामौकामा उपस्थित भएर गोडमेल गर्ने र पानी हाल्ने कार्य गर्दै आएका छन् । संघका उपाध्यक्ष कृष्ण भण्डारीका अनुसार विरुवा रोपेको ठाउँमा आउँदा आफ्नो पृतिको सम्झना हुने भएकाले समय मिलाएर अधिकांस आफन्त अस्पताल आएर गोडमेल र पानी हाल्ने गरेका छन् । 


वार्षिकोत्सव कार्यक्रममा संघका केन्द्रीय अध्यक्ष प्राध्यापक डा. चेतराज पन्त पनि आएका थिए । उनले उदयपुर शाखाले चलाएको अस्पताल मुलुकभरीका अस्पतालमध्ये उत्कृष्ट भएको बताए । अस्पताललाई हरियाली बनाउने अभियानमा उदयपुर पहिलो हुन सफल भएको भन्दै उनले प्रशंसा गरे । अस्पताल मन्दिरको पनि घर भएको भन्दै डा. काफ्लेले त्यसको वरिपरि स्वस्थ्य र सुन्दर वातावरण बनाउन सके आधा विरामी निको हुन सहयोग पुग्ने बताए । 


संघका महासचिब भरतबहादुर चन्दले अस्पताल सञ्चालन गर्नुभन्दा पनि त्ससले दिने सेवासुबिधा प्रभावकारी बनाउनुपर्नेमा जोड दिए । उनले बिरामीको उपचार सेवालाई प्राथामिकतामा राखेर गतिबिधि अगाडि बढाउनुपर्ने भन्दै उदयपुर अस्पतालको सिको गरेर मुलुकभरका अस्पताल परिसरलाई हरियाली बनाउने अभियान चलाइएको बताए । 


उदयपुरमा सञ्चालन हुने आँखा अस्पतालले उदयपुरबाहेक, खोटाङ्ग, ओखलढुंगा र भोजपुरसम्मका जनतालाई सेवा पुग्ने आँखा चिकित्सक मुरारी तिम्सीनाले बताए । उनका अनुसार हालसम्म देखिएको बिरामीहरु बढी मात्रामा मोतियाविन्दु, रतन्धो र
अन्धोपन बढी छन् । अन्धोपन निवारणमा अस्पतालले प्रमुख भूमिका निर्वाह गर्ने योजना रहेको तिमसीनाले बताए । 


कार्यक्रमका सहभागीहरुले हरियाली बनाउने नाममा विरुवा रोपन शीर्षकमा सरकाररले करोडौँ रुपैँया खर्च गरे पनि प्रभावकारी नदेखिएकोमा अस्पतालले सुरु गरेको हरित अभियानले प्रगतिलाई नमूना मान्नुपर्ने बताए ।