जेष्ठ नागरिकलाई दोस्रो डोज दिन थालियो

२0७८ भाद्र १५ मंगलवार
जेष्ठ नागरिकलाई दोस्रो डोज दिन थालियो

उदयपुर

कोविसिलको पहिलो डोज खोप लगाएको झण्डै ७ महिनापछि जेष्ठ नागरिकलाई दिइने दोस्रो डोजका लागि एस्ट्राजेनिका खोप आजदेखि दिन थालिएको छ । सोमबार विहान ८ः०० बजे बसेको स्वास्थ्य समितिको बैठकले जिल्लाका सबै स्थानीयतहलाई वितरण गरेपछि जिल्लाभरका २ सय १० वटा खोप केन्द्रमार्फत मंगलबारदेखि खोप लगाउन थालिएको हो । 


पहिलो डोज लगाएका जेष्ठ नागरिकलाई माघ अन्तिम र फागुन पहलिो साता भारतीय कम्पनीको कोविसिल खोप दिइएको थियो । पहिलो डोज लगाएको ३ देखि ४ साताभित्र दोस्रो डोज खोप दिनुपर्नेमा भारतले भुक्तानी लगेर पनि खोप उपलबध् नगराएका कारण ७ महिनादेखि जेष्ठ नगारिकहरु दोस्रो डोज खोप पाउनबाट वञ्चित थिए ।


स्वास्थ्य कार्यालय उदयपुरका अनुसार अहिले आएको एस्ट्राजेनिका खोप छिमेकी मुलुक भुटान र जापानले सहयोगमा उपलब्ध गराएका हुन् । निमित्त स्वास्थ्य कार्यालय प्रमुख रामनरेश ठाकुरका अनुसार माघ अन्तिम र फागुन पहिलो साता पहिलो डोज लगाएका सबै जेष्ठ नागरिकका लागि आएको १३ हजार डोज खोप १५ गतेदेखि जिल्लाका ८ वटा स्थानीयतहबाट लगाउन थालिएको उनले बताए ।    


आजदेखि सुरु खोप त्रियुगा नगरपालिकामा १८ गतेसम्म दिइनेछ भने चौदण्डीगढी र बेलका नगरपालिकामा १९ गतेसम्म दिइने छ । त्यस्तै लिमचुङबुङ र रौतामाई गाउँपालिकामा १७ देखि २० गतेसम्म खोप दिइनेछ । भने उदयपुर जिल्ला अस्पतालमा १६ र १७ गते दिइनेछ । उदयपुगढी र ताप्ली गाउँपालिका तथा कटारी नगरपालिकामा भने २६ देखि ३० गतेसम्म खोप दिने कार्यक्रम तय भएको स्वास्थ्य कार्यालयका खोप सुपरभाईजर चिरन्जिवी निरौलाले बताए । 


उनका अनुसार कोविसिल लगाएका उदयपुरका १२ हजार हाराहारी जेष्ठ नागरिक दोस्रो डोजको खोप पाउनबाट वञ्चित थिए । भारतले सुरुमा निशूल्क दिएको कोविसिल खोप लगाएकाहरु दोस्रो डोजका लागि खरिद प्रक्रिया अनुसार सरकारले सबै रकम भुक्तानी दिएको ६ महिनासम्म खोप नपठाएपछि बिकल्पमा एस्ट्राजेनिका दिन लागिएको हो । रकम भुक्तानी लिएर पनि खोप नदिएर भारतले नेपालप्रति चरम बदमासी गरेपछि सरकारले अन्य देशसँग आग्रह गरे अनुसार भुटान र जापानले निशूल्क उपलब्ध गराएका हुन् । 


पहिलो पटकको कोविसिल खोप कोविडविरुद्ध अग्रमोर्चामा खट्ने स्वास्थ्यकर्मी, एम्बुलेन्स चालक, पत्रकार, सुरक्षाकर्मी र ६५ वर्षमाथिका जेष्ठ नागरिकलाई लक्षित गरी दिइएको थियो । त्यसपछि आएको चीनीया कम्पनीको भेरोसिल खोप पहिलो चरणमा ६० वर्षमाथिकालाई र दोस्रो चरणमा आएको ५५ वर्षमाथिकालाई दिइएको थियो । भेरोसिलको दुवै डोज पुरा भईसकेको छ भने त्यसपछि एक डोज मात्र दिए हुने अमेरिकन कम्पनीको जोन्सन एण्ड जोन्सन खोप ५० वर्षमाथिकालाई लगाईसकिएको छ । 


उदयपुरमा हालसम्म उदयपुरमा ६७ हजारलाई कोविडविरुद्धको खोप दिइसकिएको छ । सुरुमै कोविसिल खोप लिएका १२ हजार जेष्ठ नागरिकले भने दोस्रो डोज पाउन नसकेपछि एस्ट्राजेनिकाबाट काम चलाउनु परेको सुपरभाईजर निरौलाले बताए ।