बेपत्ताको सम्झनामा दिप प्रज्वलन

२0७८ भाद्र १५ मंगलवार
बेपत्ताको सम्झनामा दिप प्रज्वलन

गाईघाट

बिभिन्न समयमा बेपत्ता भएकाहरुको सम्झनामा गाईघाटमा सोमबार साँझ दिप प्रज्वलन गरिएको छ । ११ औं अन्तराष्ट्रिय बेपत्ता दिवस (अगल्ट ३०) को अवसरमा सदरमुकाम गाईघाटस्थित लोकतान्त्रिक चोक (पिपलचोक)मा बेपत्ता परिवारका आफन्तहरुले मैनवत्ती बालेर दिप प्रज्वलन गर्दै बेपत्ताहरुको स्मरण गरेका हुन् । 


‘न्यायको दरवार धेरै छ, सत्यको बाटो अँध्यारो भयो, पखाईका आँखा खुल्ला छन्, आसाको मुहान सुक्न थाल्यो’ भन्ने अभिव्यक्ति दिदै दिप प्रज्वलन गरिएको थियो । कार्यक्रममा तत्कालीन नेकपा (माओबादी)को सशस्त्र जनयुद्धताका बेपत्ता परिवारका आफन्तजन, नागरिक अगुवा, महिला अधिकारकर्मी र द्वन्द्वपीडितहरुको सहभागिता थियो ।  


बिभिन्न राजनीतिक तथा सामाजिक आन्दोलनको क्रममा विश्वभर बेपत्ता हुनेहरुको सम्झनामा हरेक अगल्ट ३० का दिन अन्तराष्ट्रिय बेपत्ता दिवस मनाउने गरिएको छ । नेपालको हकमा ०५२ फागुन १ गतेदेखि सुरु भएर ०६२ सम्म सञ्चालित माओबादी सशस्त्र जनयुद्धताका र त्यसअघि र पछि बिभिन्न आन्दोलनमा हराएकाहरुको सम्झनामा अगस्ट ३० कै दिन बेपत्ता दिवस मनाउने गरिएको छ । 


उदयपुरमा सशस्त्र जनयुद्धका क्रममा १ महिलासहित ११ जना नागरिक बेपत्ता भएका थिए । जनयुद्धका क्रममा विद्रोही र राज्यपक्षको दमन सहन नसकेर घर छाडेर हिडेका तथा युद्ध मोर्चाबाटै हराएकाहरुको खोजी भए पनि अहिलेसम्म उनीहरुको पत्ता लाग्न सकेको छैन । सरकारले बेपत्ताको खोजी गर्न ‘बेपत्ता आयोग’ गठन गरेर सञ्चालनमा ल्याए पनि त्यसले अर्थपूर्ण परिणाम दिन नसकिरहेको बेपत्ता परिवारका आफन्तले गुनासो गर्दै आएका छन् ।