अखिल क्रान्तिकारीको त्रियुगा नगर कमिटी गठन

२0७८ भाद्र १४ सोमबार
अखिल क्रान्तिकारीको त्रियुगा नगर कमिटी गठन

उदयपुर, भदौ १४

नेकपा (माओबादी केन्द्र) निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अखिल क्रान्तिकारी)को त्रियुगा नगर कमिटी सोमबार गठन भएको छ । सदरमुकाम गाईघाटमा आयोजित एक भेलाले सुबास बस्नेतको अध्यक्षतामा ३५ सदस्यीय नयाँ कमिटी गठन भएको हो । 


कमिटीको उपाध्यक्षमा सविना कार्की र विदुरजङ खड्का चयन भएका छन् भने सचिवमा प्रशान्त रायमाझी छानिएका छन् । त्यसैगरी सहसचिवमा विशाल दाहाल र कन्चन परियारलाई छनौट गरेको भेलाले कोषाध्यक्षमा सुजन राईलाई चयन गरेको छ । नवगठित कमिटीमा १३ जना महिला समेटिएको अखिल क्रान्तिकारी उदयपुरका अध्यक्ष बिमल कार्कीले बताए । 


अखिल केन्द्रीय सदस्य भरत घिमिरेको उपस्थितिमा भएको भेलामा माओबादी केन्द्रका साविक जिल्ला सचिवालय सदस्य किरण राई, त्रियुगा नगर कमिटी सचिव गीता खड्का (अजिता)लागयत नेताहरुको पनि सहभागिता थियो । कार्यक्रममा नेताहरुले माओबादी केन्द्रलाई सशक्त बनाउँदै देशका् मूलधारको पार्टीमा परिणत गर्न आव्हान गरेका थिए । 


पार्टीलाई जनस्तरसम्म फैलाउँदै राज्य सञ्चालनको जिम्मेबारीमा पुर्याएर १० वर्षे जनयुद्धले उठान गरेको मुद्धाहरुको कार्यान्वयन गराउनुपर्नेमा नेताहरुको जोड थियो । पार्टीलाई अगाडि बढाउनका लागि भ्रातृ तथा भगिनी संगठनहरुको महत्वपूर्ण भूमिका हुने भन्दै नेताहरुले त्यसमध्ये विद्यार्थी संगठन अपरिहार्य भएको बताए । विद्यार्थी, युवा, महिला, मजदुरलगायत सम्पूर्ण जनबर्गीय संगठनहरुलाई चलायमान बनाउँदै नेताहरुले माओबादीलाई गाउँ, टोल र बस्तीबस्तीसम्म फैलाउने अभियानमा लाग्न निर्देशन पनि दिएका थिए ।