सप्तकोसी फुटेर गाउँ पस्यो, बेलकाबासी त्रस्त

२0७८ भाद्र १४ सोमबार
सप्तकोसी फुटेर गाउँ पस्यो, बेलकाबासी त्रस्त

रामपुर

केही दिनयताको लगातार वर्षाका कारण सप्तकोसीमा आएको उच्च बाढीले नदी फुटेर उदयपुरतर्फ क्षति गर्ने उच्च जोखिम बढेको छ । कोसीको बाढीको भँगालो उदयपुरतर्फ आउँदा जिल्लाको बेलाका नगरपालिका ८ लाहुरे खोलास्थित नदी फुटेर गाउँ पसेपछि बेलकाका ४ वडाबासी र सप्तरीका केही स्थानीयतहलाईसमेत क्षति गर्ने जोखिम बढेको हो ।


नदी फुटेर धार परिवर्तन गरेपछि बेलका नगरपालिकाका वडा नं २, ३, ८  ९ मा ठूलो जनधनको क्षति गर्ने संभावना भएको भन्दै स्थानीयले जिल्ला बिपत व्यवस्थापन समिति र प्रहरी प्रशासन गुहारेका छन् । स्थानीयले गुहार मागेपछि जिल्ला बिपत व्यवस्थापन समितिको बैठक आईतबारै बसेर आवश्यक चाँजोपाँजो मिलाउने निर्णय गरेको छ । 


निमित्त प्रमुख जिल्ला अधिकारी विनोदकुमार पोखरेलको अध्यक्षतामा, सुरक्षा निकाय प्रमुखहरु, जनप्रतिनिधि र सरोकारवाला निकायका प्रमुख र प्रतिनिधिहरुको सहभागितामा बसेको बैठकले आवश्यक सुरक्षा सतर्कता अपनाउर्दै तत्काल कटानबाट बँच्ने उपाय अवलम्बन गर्ने निर्णय भएको जनाइएको छ । जस अनुसार कोसी फुटेको ठाउँमा तत्काल बाँध बाँध्नका लागि आवश्यक तयारी थाल्ने, भएका –स्रोतसाधनको उपयोग गर्ने, स्थानीयलाई सुरक्षित ठाउँमा स्थानान्तरणको व्यवस्था मिलाउने, जनधनको सुरक्षा गर्न आवश्यक प्रवन्ध मिलाउने निर्णय बैठकले गरेको छ । 


फुटेर धार परिवर्तन गरेको ठाउँमा लगभग ३ सय मिटर लामो बाँध निर्माणका लागि डिभिजन सिंचाई कार्यालयले प्राविधिक सहयोग गर्ने, जसमा नगरपालिकाले तत्काल काम थाल्ने, अस्थायी रोकथामका लागि बालुवाको बोराको बाँध बाँध्न सिंचाईले ८ हजार थान बोरा र ५० थान तारजाली नगरपालिकालाई उपलब्ध गराउने निर्णय भएको छ । 


त्यसैगरी कटान र क्षति तथा संभावित खतराको विषयमा तत्काल जानकारी गराउन सञ्चार माध्यामको प्रयोग गर्ने, कटानबाट बँच्न र बँचाउन सुरक्षा निकायले सतर्कता अपनाएर जनशक्ति खटाउने निर्णय भएको छ । त्यसैगरी बिपतमा परेका स्थानीयबासीलाई आवश्यक राहत व्यवस्था गर्न सबै सरोकारवाला निकायहरुले पहल गर्ने सहमति भएको छ ।