फरार दुई अभियुक्त १६ वर्षपछि पक्राउ

२0७८ भाद्र १३ आईतवार
फरार दुई अभियुक्त १६ वर्षपछि पक्राउ

उदयपुर

ज्यान मार्ने अभियोगमा सजाय पाए पनि भाग्दै आएका उदयपुरका दुई अभियुक्त १६ वर्षअघि पक्राउ परेका छन् । जिल्ला अदालतको फैसला अनुसार ६/६ वर्ष कैद फैसा भए पनि भाग्दै आएका जिल्लाको रौतामाई गाउँपालिका ७ का ४४ वर्षीय अलपबहादुर रिखाम मगर र सोही ठाउँका ३७ वर्षीय पूर्णबहादुर मगर आईतबार पक्राउ परेका हुन् । 


उनीहरुमाथि अदालतले ०६२ असार १५ गते ६ वर्ष कैदको सजाय सुनाएको थियो । तर, सजाय कटाउनुको साटो लुकिछिपी बसेका उनीहरुलाई आईतबार विहान ६ः०० बजेको समयमा जिल्ला प्रहरी कार्यालयको विशेष टोलीले पक्राउ गरेको जनाएको छ । गाउँघरमै लुकिछिपी बस्दै आएको भन्ने सुराकीका आधारमा प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । 


पक्राउ दुवैजनालाई आईतबारै फैसला कार्यान्वयनका लागि अदालतको जिम्मा लगाइएको प्रहरी प्रवक्ता डिएसपी बेदप्रसाद गौतमले बताए । फरार अभियुक्तलाई पक्राउ गरी बक्यौता सजाय र जरिवाना भुक्तान गराउने राज्यको निर्देशनको पालना गर्ने अभियान अन्तर्गत प्रहरीले पछिल्लो समय फरारहरुको खोजी गर्दै पक्राउ गर्ने गरको जनाएको छ ।