माओबादी गाउँबस्तीसम्मको संंगठन निर्माण अभियानमा

२0७८ भाद्र १३ आईतवार
माओबादी गाउँबस्तीसम्मको संंगठन निर्माण अभियानमा

गाईघाट


सत्तारुढदलमध्यको एक नेपाल कम्युनिष्ट पार्टी (माओबादी केन्द्र) को त्रियुगा नगरपालिका ११ नं. वडा कार्यालय शनिबार खुलेको छ । त्रिनपा ११ गाईघाट असारीलाईनस्थित खुलेको वडा कार्यालयको एक कार्यक्रमका बीच पार्टीको साविक जिल्ला कमिटी सचिवालय सदस्यद्वय बिमल किराती र किरण राईले झण्डोत्तोलन र व्यानर खोलेर उद्घाटन गरे । 

 

 

कार्यालय उद्घाटनपछि सम्बोधन गर्दै प्रमुख अतिथि बिमल किरातीले सर्वोच्च अदालतले एमालेसँगको एकीकरण टुटाईदिएपछि पार्टी अहिले पुरानै अवस्थामा फर्केसँगैर संगठन विस्तारमा लागेको बताए । एमालेसँगको एकीकरणपछि बनेको नेकपाले दुईतिहाई नजिक बहुमत ल्याएर प्रधानमन्त्री बनेका केपी ओलीले दुईदुईपटक संसद बिघटन गरेर प्रतिगगामी कदम चालेको उनको आरोप थियो । संगठन विस्तार अभियानमा सबै नेता कार्यकर्तालाई लाग्न अनुरोध गर्दै उनले मुलुकमा प्रचण्डजस्तो परिवर्तनकामी नेता अहिलेसम्म नभएको र उनकै पहलमा संघीयता, गणतन्त्र र समावेशी समानुपातिक व्यवस्था स्थापना भएको बताए । 


अर्का वक्ता साविक जिल्ला सचिवालय सदस्य किरण राईले समाजबाद स्थापना गर्ने लक्ष्यका साथ नेकपा (माओबादी केन्द्र) अघि बढिरहेको बताउँदै देशका सबै जातजाति, भाषाभाषी, समुदाय, बर्ग, लिङ्ग र क्षेत्रका जनताले राज्यसत्ताको सुविधा बराबरी उपभोग गर्न पाउनु नै समाजबाद भएको बताए । नेकपा माओबादी केन्द्रले एमालेसँग मिलेर अघि बढ्दा समाजबादको नारा छिटो प्राप्त हुन्छ भनेर एकीकरण गरेकोमा केपी ओलीजस्तो धोकेबाज र सामान्तबर्गको पृष्ठपोषण गर्ने नेताको पञ्जामा परेर झन् पछि परेकाले अव एक्लै अघि बढ्न लागेको बताए । 


केपी ओली नेतृत्वको सरकारले ३ वर्षसम्म ल्याएको आर्थिक योजना (बजेट)ले समाजबादको सपना साकार पार्ने खालका कुनै पनि कार्यक्रम र योजना नल्याएको टिप्पणी गरे । राईले ओली सरकारले ल्याएको आर्थिक नीतिले सामन्तबादलाई मात्र मलजल पुग्ने देखिएको तर, कम्युनिजम र समाजबादको झल्को दिने खालको कुनै कार्यक्रम नभएको बताए । ओली सरकार ढालेर बनेको गठबन्धन सरकारले सुरुमै ल्याएको २० युनिटसम्म विद्युत खपत गर्ने जनतालाई शूल्क नलिने उर्जा मन्त्री पम्फा भुसालको नीति नै समाजबादोन्मुख कार्यक्रमको प्रतिबिम्ब भएको राईको भनाई थियो । 


पार्टी त्रियुगा नगर कमिटी सचिव गीता खड्का (अजिता)ले माओबादी जनयुद्धकै कारण मुलुकमा संघीयता, गणतन्त्र, धर्मनिरपेक्षता, समावेशी समानुपातिक व्यवस्था प्राप्त भएको भन्दै त्यसको रक्षाका लागि पर्टीका सबै तह तप्का एकजुट भएर लाग्न आग्रह गरिन् । माओबादी जनयुद्धमा बलिदानी गर्ने १७ हजार जनताको रगतबाट प्राप्त परिवर्तन संस्थागन गर्ने मुख्य कार्यभार पनि माओबादीकै भएको भन्दै सचिव खड्काले त्यसका लागि जिल्ला, नगर, वडा, गाउँ हुँदै टोलबस्तीसम्म संगठन विस्तार गर्नुपर्नेमा जोड दिईन् । 


पार्टीको नीति कार्यक्रम र एजेण्डा कार्यान्वयन गर्न सरकारमा आफै पुग्नुपर्ने भन्दै उनले त्यसो गर्न सके मात्र आफ्ना एजेण्डालाई जनतासम्म पुग्नेगरी लागू गर्न सकिनेमा उनको जोड थियो । माओबादीले अघि सारेका जनपक्षीय नीति कार्यक्रम र एजेण्डाको कार्यान्वय गर्नसकेमा जनतालाई प्रत्यक्ष फाईदा पुग्ने भन्दै खड्काले त्यसका लागि पार्टी तल्लोतहसम्म बलियो हुनुपर्ने भएकलो सबैपक्ष अहिलेदेखि नै लाग्नुपर्ने बताईन् । 


कार्यक्रममा नगर सदस्यद्वय युवराज बुढाथोकी, राजकुमार शर्मा, वडा कमिटिका प्रमुख सल्लाहकार तथा पूर्व अध्यक्ष विश्वेश्वर राईलगायतले माओबादी केन्द्रलाई गाउँबस्तीसम्म पुग्न संगठन विस्तारमा जोड दिएका थिए । वडा कमिटी सचिव सोनामसिंह दनुवारको सञ्चालन, पूर्व सचिव लक्ष्मीकुमार कार्कीको स्वागत मन्तव्य र अध्यक्ष शिव खड्काको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जिल्ला सदस्य कमला राई, वडा कमिटी सल्लाहकारहरु, पार्टी सुनसरीका सदस्यहरुकोसमेत उपस्थिति थियो ।