गाईघाटको व्यस्त बजारकै ४ पसलमा चोरी

२0७८ भाद्र ११ शुक्रबार
गाईघाटको व्यस्त बजारकै ४ पसलमा चोरी

गाईघाट

सदरमुकाम गाईघाट बजारका ३ पसलमा गएराति चोरी भएको छ भने केहीमा चोरीको प्रयास भएको छ । मुख्य बजारको व्यस्त सडकमा रहेका मिनी मार्केटका कपडा र जुत्ता पसलमा चोरी भएको छ भने कपडा पसलमै चोरीको प्रयास भएको हो ।


२४ घण्टैजस्तो प्रहरी ड्युटीमा रहने र मदन भण्डारी लोकमार्ग दायाँबायाँ पर्ने असारी लाईनको व्यस्त मिनी मार्केटकै बिभिन्न कपडा र जुत्ता पसलमा राति चोरी भएको हो । त्यसैगरी सोही लाईका केही पसलमा चोर्ने प्रयास भएको पाइएको छ । 


मिनी मार्केटका जुनु कपडा पसल, अभिसेक अनु जेनेरल सप्लायर्स र मोहन कपडा पससलमा चोरी भएको पीडित व्यापारीहरुले बताएका छन् । सोही लाईनको पुरानो तरकारी बजारस्थित बिन्दी जुत्ता पसल पनि चोरी भएको छ । सोही लाईनका एआर कलेक्सन र अभिसेक जेनेरल स्टोरमा पनि चोरी गर्ने असफल प्रयास भएको छ । ती पसलमा चोरी गर्न सटर फुटाउने प्रयास भएको तर, चोरी गर्न नसकेको पाइएको छ । 


चोर समूहले अभिसेक अनु जेनेरल स्टोरबाट ज्याकेट ५ गान र टिसर्ट ६ पिस चोरी लगेको छ भने  मोहन कपडा पसलबाट जिन्स पाईन्ट ६ थान, ट्«याक ५ थान, भेस्ट ६ थान बक्सर पाईन्ट १० थान, सर्ट २ थान, आरमी ट्रुयाक २ थान, ज्याकेट ३ पिस र जुत्ता ३ जोर चोरी लगेको छ । 


यता विन्दी जुत्ता पसलबाट १० जोर जुत्ता, ९ जोर चप्पल तथा २ हजार नगद चा्री भएको पीडितहरुको भनाई छ । बजारमा नगर प्रहरी, त्रियुगा प्रहरी र जिल्ला प्रहरीसमेतको निगरानी भईरहने ठाउँमै यसरी चोरी हुनले जिल्लाको सुरक्षा अवस्थामाथि प्रश्न उठेको स्थानीय बताउँछन् । 


गाईघाटको सुरक्षाका लागि त्रियुगाले नगर प्रहरी खटाउने गरेको छ भने जिल्ला प्रहरीले बजारमा त्रियगा नगर प्रहरीको अलग्गै बिट खडा गरेको छ । त्यसबाहेक ठाउँठाउँमा अस्थायी बिट राखेर बजारमा रातदिन प्रहरी परिचालन गरिरहेको छ । त्यसमाथि मदन भण्डारी लोकमार्गमा रातदिनजस्तो लामा तथा छोटा दूरीका सार्वजनिक र नीजि गाडीहरु बग्रेल्ती चल्ने गर्दा पनि चोरी हुनुले जनमानसमा एकखालको त्रास पैदा भएको छ । 


पीडित व्यापारीहरुको उजुरीका आधारमा प्रहरीले घट्नाबारे जानकारी लिएर अपराधी पत्ता लगाउन अनुसन्धान थालेको जनाएको छ । 


बिघटित त्रियुगा उद्योग वाणिज्य संघका निवर्तमान प्रथम उपाध्यक्ष रमेश रसाईली सहितको टोलीले समेत घटनाको अनुगमन तथा विवरण संकलन गर्ने काम गरेको छ ।