उदयपुरगढीमा बिप्लव नेकपाको भेला 

२0७८ भाद्र ३ बिहीबार
उदयपुरगढीमा बिप्लव नेकपाको भेला 

उदयपुरगढी

नेत्रविक्रम चन्द (बिप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को गाउँ भेला तथा प्रशिक्षण कार्यक्रम बिहीबार उदयपुरगढीमा सम्पन्न भएको छ । जिल्लाको पुरानो सदरमुकाम तथा ऐतिहासिकस्थल उदयपुरगढीमा सम्पन्न भेला गाउँ सेक्रेटरी जितबहादुर पुलामी मगरको अध्यक्षतामा भएको हो । 


'शान्ति, स्वाधीनता र समृद्धिका लागि संयुक्त प्रगतिशील सरकार, जनमत सङ्ग्रह र वैज्ञानिक समाजबाद पार्टीको आधार' भन्ने नाराका साथ आयोजित भेलामा प्रमुख अतिथि जिल्ला सेक्रेटरी लक्ष्मण पौड्यालले नेपाली राजनीतिमा उदयपुरगढीको महत्वपूर्ण भुमिका रहेको इतिहास स्मरण गर्दै फेरि एकपटक त्यो बिरासत कायम गर्न नयाँ ढंगले एकताबद्ध हुनुपर्ने आबश्यकता औंल्याए । 


नेपालमा भएको पटकपटकको संघर्षबाट प्राप्त उपलब्धि नेताहरुको स्वार्थका कारण रद्दीको टोकरीमा फालिएको बताउँदै उनले क्रान्ति अधुरो रहेकाले त्यसलाई पुरा गर्नु आवश्यक रहेको बताए । प्रचण्ड र बाबुरामले वर्गसंघर्षमार्फत संसदीय व्यवस्थाको अन्त्यका लागि जनतालार्इ जनयुद्धमा होमेर १७ हजार जनताको बलिदानी गराए पनि जुन बर्ग र सत्ताको विरुद्ध लडाइ थियो, उनीहरुसँगै घाँटी जोड्न पुगेको आरोप पौड्यालले लगाए । 


सोही कारणले क्रान्ति अपुरो र अधुरो रहेकाले अहिले सम्पुर्ण हिसाबले संसदीय पुँजीवादी व्यबस्था फेल भएको पुष्टि भएको भन्दै उनले अब त्यसको बिकल्पमा अनिवार्यरुपमा बैज्ञानिक समाजबादमा जानुपर्ने र त्यो दिशामा समग्र जनता लाग्नुपर्नेमा जोड दिए । 


भेलाले सेक्रेटरी मगरको संयोजकत्वमा उदयपुरगढी गाउँ कमिटीको पनि गठन भएको जिल्ला कार्यालय सचिव दुर्गा तामाङले बताए । 


अन्तमा पार्टीले सरकारसँँग गरेको तीनबुँदे सहमतिपछि खुल्ला परिवेशमा आएपछि संगठन बिस्तार र निर्माणमा जुटेको निश्कर्ष भेलाले निकालेको छ । तर, केही राजनीतिक दल र तिनका नेता कार्यकर्ताले नेपाल कम्युनिस्ट पार्टीप्रति भ्रम सिर्जना गर्दै हिडेको पाइएको भन्दै त्यसप्रति कोही भ्रममा नपर्न आग्रह गर्दै भ्रम सिर्जना गर्नेलार्इ यस्तो हर्कत नगर्न सेक्रेटरी पौड्यालले सचेत गराएका थिए । 

 

कार्यक्रममा नेपाली कांग्रेस, एमालेलगायत बिभिन्न पार्टी परित्याग गरी नेकपामा प्रवेश गरेका थिए । उनीहरुलाई सेक्रेटरी पौड्यालले माला र अविर लगाएर स्वागत गरेका थिए ।