कृशला हत्या प्रकरणः आदिवासी जनजाति आयोग अध्यक्ष मगर घट्नास्थलमा

२0७८ भाद्र २ बुधबार
कृशला हत्या प्रकरणः आदिवासी जनजाति आयोग अध्यक्ष मगर घट्नास्थलमा

उदयपुर

दुई साताअघि मृत फेला परेकी किशोरी कृशला चौधरीको हत्याबारे जानकारी लिन नेपाल आदिबासी जनजाति आयोगका अध्यक्ष रामबहादुर थापा मगर उदयपुर आएका छन् । गत साउन १३ गते घरबाट निस्केर्र १९ गते सडिसकेको अवस्थामा जंगलबीच खोला किनारमा भेटिएकी त्रियुगा नगरपालिका ६ मोहनपुरकी १६ वर्षीया कृशलाको हत्याबारे बुझ्न अध्यक्ष मगर टोलीसहित उदयपुर आएको हो । 


सोमबार आएको अध्यक्ष मगर नेतृत्वको टोलीले घट्नास्थल पुगेर जानकारी लिएको छ । सोमबार दिउँसो टोली मोहनपुरस्थित मृतकको घर पुगेर कृशलाका बाबु प्रेमकुमार चौधरी, आमा, छिमेकी र गाउँलेसँग भेटघाट गरी घट्नाबारे जानकारी लिएको टोलीमा सहभागी आयोगका लेखा अधिकृत ध्यानबहादुर श्रेष्ठले बताए । 


उनका अनुसार कृशलाको शव गाडिएको राजदेवी सामुदायिक वन उपभोक्ता समूहको वनक्षेत्रसम्म पुगेर अध्यक्ष मगरले घट्नास्थलको अवलोकन गरेका छन् । त्यस्तै उनले पत्रकार, अधिकारकर्मी, सरोकारवाला निकाय र व्यक्तिसँग पनि भेटघाट गरी जानकारी लिएको श्रेष्ठले बताए । 


मंगलबार अध्यक्ष मगरले जिल्लास्थित सुरक्षा निकायका व्यक्ति, सदरमुकामस्थित अधिकारकर्मी र स्थानीयबासीसँग घट्नाबारे बुझेको टोलीले जनाएको छ । घट्ना भएको दुईसातासम्म प्रहरीले अपराधी पत्ता नलगाएको भन्दै व्यापक गुनासो भएको कुरा सञ्चारमाध्याममा आएपछि आयोगको ध्यानाकर्षण भएर स्थलगत भ्रमणमा आएको उनले बताए । 


संलग्न अपराधी पक्राउ नपरेको तथा घट्ना रहस्यमयी रहेको र अनुसन्धान ढिला भएको भन्ने पीडित पक्षको गुनासो सञ्चारमाध्याममा आएपछि आयोगले वास्तविक्ता बुझ्न टोली लिएर आएको अध्यक्ष मगरले बताए । यद्यपी आफु आएकै दिन प्रहरीेले हत्यारा सार्वजनिक गरेकाले कानुनी कारबाही हुने आसा लिएको उनको भनाई छ । 


अध्यक्ष मगरले वास्तविक अपराधी पत्ता लगाएर कानुन बमोजिम कारबाही गर्न प्रशासन र प्रहरीलाई आग्रह गरेका छन् । पत्रकारसँगको भेटमा अध्यक्ष मगरले कृशलाको हत्या निर्ममतापूर्वक भएको भन्ने सुन्नमा आएकाले यस्तो अवस्था आउन नदिन जिल्लामा शान्ति सुरक्षामा सचेत रहन राज्यको ध्यानाकर्षण गराएको बताए । 

कृशला मात्र नभएर कुनै पनि नेपाली नागरिकले स्वतन्त्रतापूर्वक हिडडुल गर्न, सुरक्षितसँग बस्न, आउजाउ गर्न, व्यापार व्यवसाय र गबितिधि गर्न पाउने नैसर्गिक अधिकार संविधानमै व्यवस्था भएको उनले स्मरण गराउँदै त्यसको खिलाफ हुन कुनै पनि क्रियाकलापलाई आयोगले गम्भीरतापूर्वक लिने उनले बताए । 


जनताको ज्युधनको रक्षा गर्न प्रशासन, प्रहरी, जनप्रतिनिधि र राजनीतिक दलहरु संवेदनसिल हुन पनि उनको आग्रह छ । अधिकारकर्मी, दलका नेता, पत्रकार र नागरिक समाजले कुनै पनि खालका सामाजिक अन्यायप्रति खुलेर आवाज उठाउनुपर्ने भन्दै उनले कृशला हत्या प्रकरणमा जनताले उठाएको आवाजले आयोगको ध्यान खिचेको बताए । 


कृशला हत्या प्रकरणमा पीडितपक्षलाई न्याय दिलाउन आवाज उठाउने महिला, युवा, विद्यार्थी, पत्रकार, अधिकारकर्मी र राजनीतिक दलहरुप्रति अध्यक्ष मगरले धन्यबाद दिएका छन् । उनले आगामी दिनमा यस्ता घट्ना दोहोरिन नदिन सबैसँग आग्रह गर्दै यस्ता कुनै पनि असामाजिक घट्नाविरुद्ध आवाज उठाईरहन आग्रह गरेका छन् । 


प्रमुख जिल्ला अधिकारी तुलसीराम सेंढाईले आयोग अध्यक्षसहितको टोली आएर घट्नाबारे बुझ्ने काम भएको बताए । प्रहरी प्रमुख एसपी सुभासचन्द्र बोहराले घट्नाबारे बुझ्न आयोग अध्यक्ष आएकै दिन हत्यारा पत्ता लगाएर सार्वजनिक गरेको भन्दै दोषीमाथि कानुनी कारबाहीको प्रक्रिया अघि बढिसकेको बताए ।