कृशलाका हत्यारा १९ दिनपछि पत्ता लाग्यो, हत्याको कारण पारिवारिक दुस्मनी

२0७८ भाद्र १ मंगलवार
कृशलाका हत्यारा १९ दिनपछि पत्ता लाग्यो, हत्याको कारण पारिवारिक दुस्मनी

उदयपुर, भदौ १

हत्या भएको १९ दिनपछि त्रियुगा नगरपािलका ६ मोहनपुरकी कृशला चौधरीको हत्यारा पत्ता लागेको छ । १६ वर्षीया कृशलाको हत्या आरोपमा पक्राउ सप्तरीको सुरुङ्गा नगरपालिका १ का २७ वर्षीय उचितलाल सदा र २३ वर्षीय बिशे सदालाई प्रहरीले सार्वजनिक गरेको हो । 


पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरिएका सदाद्वयले कृशलाको हत्या पारिवारिक दुस्मनीका कारण गरेको बयान दिएका छन् । प्रहरीका अनुसार उचितलालकी श्रीमतिले दोस्रो बिहे गर्नुमा कृशलाको मुख्य हात रहेकाले बद्ला लिन हत्या गरेको प्रारम्भिक बयानबाट खुलेको जिल्ला प्रहरी प्रमुख एसपी सुभासचन्द्र बोहराले बताए । 


हत्याको कारण अझै सबै स्पष्ट भईनसकेको भए पनि उनीहरुले आफ्नो घरबार बिगारेको बद्ला लिन कृशलाको हत्या गरेको बयान दिएको एसपी बोहराले बताए । पत्रकार सम्मेलनमा उनले भने ‘कृशलाले उचितकी श्रीमतिलाई अन्तै बिहे गर्न लगाएको भन्ने ठानेर बद्ला लिन हत्या गरेको बयान उनीहरुले दिएका छन् । बाँकी कारण बिस्तारै खुल्दै जाला ।’

 


प्रहरीले लामो र कठिन अनुसन्धानपछि हत्यारा पत्ता लगाएको जनाएको छ । लास भेटिएको १२ दिनसम्मको कठिन अनुसन्धानको क्रममा क्रण्डै एकसय बढीमाथि सोधपुछ गरेपछि मात्र हत्यारा उनीहरु भएको ठहर भएको बोहराले बताए । साउन १३ गते घर छाडेकी कृशलाको सडिसकेको शव १९ गते भेटिएको थियो भने कृशलाकै शव हो भनेर उनका बाबु प्रेमकुमार चौधरीले २० गते मात्र पहिचान गरेका थिए । 


बयानमा सदाद्वयले १३ गते नै कृशलाको हत्या गरेर फालेको बयान दिएको प्रहरीले जनाएको छ । दिउँसो ३ः०० बजेदेखि
कृशलासँगै रहेका उनीहरुले राति १०ः३० बजेतिर हत्या गरी रातमाटे खोला किनारमा माटोले पुरेर छाडेको बयान दिएको जानकारी प्रहरीले दिएको छ । कृशलालाई एकजनाले घाँटी ङ्याकेको र अर्काले टाउकोमा मुड्की बजारेर हत्या गरेको बयान दिएको प्रहरी प्रवक्ता डिएसपी बेदप्रसाद गौतमले बताए । हत्या गर्नुअघि उनीहरुबीच शारीरिक सम्पर्कसमेत भएको अनुमान प्रहरीले गरेको छ । 


पीडितका आफन्त, अधिकारकर्मीले दावी गरेजस्तो एसिड छर्केको र शरीर क्षतविक्षत हुनेगरी आक्रमण गरेको भन्ने तथ्य भने पुष्टि नहुने प्रहरी भनाई छ । घट्नामा कुनै हातहतियारको प्रयोग नभएको पनि प्रहरीले जनाएको छ । सडिसकेको लास भेटिएकाले क्षतविक्षत भएजस्तो देखिए पनि चोटपटक र एसिड प्रयोग भएको प्रमाण फेला नपरेको गौतमले बताए । यद्यपी लासको पोष्टमार्टम रिपोर्ट भने आईपुगेको छैन । 

 


पोष्टमार्टम रिपोर्ट आउन बाँकी भएकाले पनि यसबारे अहिले भन्न नसकिने उनले बताए । फरेन्सिक रिपोर्ट आएपछि यसबारे तथ्य बाहिर आउने तथा अव हुने अनुसन्धानले पनि परिणाम देखाउने उनको भनाई छ । पोष्टमार्टमका लागि कृशलाको शव बिपी स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको र रिपोर्ट आउन बाँकी छ । गाईघाटमै पनि पोष्टमार्टम हुने भए पनि यो अलि संबेदनसिल घट्ना भएकाले धरान पठाइएको प्रहरी भनाई छ ।