कांग्रेस र एमाले छाडेर बिप्लब नेकपा प्रवेश 

२0७८ श्रावण ३१ आईतवार
कांग्रेस र एमाले छाडेर बिप्लब नेकपा प्रवेश 

उदयपुर, साउन ३१

नेत्रविक्रम चन्द (बिप्लव) नेतृत्व्को केपाल कम्युनिस्ट पार्टी (नेकपा) को त्रियुगा नगरस्तरीय भेला तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । गाईघाटमा आयोजित भेला त्रियुगा नगर कमिटी इन्चार्ज मीनप्रसाद पोखरेलको अध्यक्षता तथा जिल्ला सेक्रेटरी लक्ष्मण पौड्यालको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो । 


भेलाको उद्घाटन गर्दै सेक्रेटरी पौड्यालले देश अहिले दलाल पुँजीवादी सत्ताको कारण गम्भीर संकटमा फसेको भन्दै त्यसको निकासका लागि दलाल पुँजीवादी सत्ताको ठाँउमा वैज्ञानिक समाजबादी सत्ता स्थापना गर्नुपर्ने, संसदीय सरकारको ठाँउमा संयुक्त प्रगतिशील सरकार र संसदीय निर्वाचनको बिकल्पमा समाजबादी व्यवस्था ल्याउनेतर्फ पार्टी लागी पर्नुपर्ने बताए । 


वैज्ञानिक समाजबादको दिसामा पार्टीलाई अघि बढाउँनु नै देशलाई अग्रगामी र दीर्घकालीन निकास रहेको धारणा प्रस्तुत गर्दै सेक्रेटरी पौड्यालले पार्टीको यो बिचारलाई जनतामाझ र पु¥याउन सबै कार्यकर्तालाई निर्देशनात्मक आग्रह गरे । 


पार्टीले आफ्नो नीति, सिद्धान्त, लक्ष्य र योजना जनतासमक्ष राख्न सके, उनीहरुलाई बुझाउँदै संगठित गर्न सके नेपालमा छिट्टै बैज्ञानिक समाजबाद स्थापना हुने विश्वास पौड्यालको थियो । राज्य सत्ताको भ्रुण भएको पार्टीलाई आत्मनिर्भर बनाउन नेता कार्यकर्तालाई श्रम र उत्पादनसँग जोड्नु पर्नेमा जोड दिदै उनले पार्टी नीतिलाई दर्होसँग पक्रेर अघि बढ्न सके देश र जनतालाई आत्मनिर्भर र स्वाधीन बनाउन सकिने विश्वास व्यक्त गरे ।


झण्डै दुईसय हाराहारी कार्यकर्ताको उपस्थिति रहेको कार्यक्रममा राज्यले नेकपासँग गरेको ३ बँुदे सहमति ईमान्दारितापूर्बक कार्यान्वयन गर्न सरकारसँग आग्रह गरे । इमानदारितापूर्वक सहमति कार्यान्वयन नगरे जनताले संघर्ष गरेर सडकबाटै फैसला गर्ने चेतावनी पनि पौड्यालले दिए । 


पार्टी जिल्ला कार्यालय सचिव दुर्गा तामाङका अनुसार भेलामा नेपाली काँग्रेस र एमाले परित्याग गरी ११ जना कार्यकर्ता नेकपामा प्रवेश गरेका छन् । प्रवेश गर्नेमा गुरुबहादुर बस्नेत, बिमला खत्री, उर्मिला कार्की, दिपक बस्नेत, सबिना राई, डम्बरी राई, सरिता नेपाली, कमल राउत र किशोर मगर रहेका छन् । 


नवप्रवेशीहरुलाई सेक्रेटरी पौडेल, कार्यालय सचिव तामाङ र नगर इन्चार्ज पोखरेललगायत नेताहरुले अबिर र माला लगाएर स्वागत गरेका थिए ।