पुँवारे भीरबाट लडेर मगरको निधन

२0७८ श्रावण २८ बिहीबार
पुँवारे भीरबाट लडेर मगरको निधन

मुर्कुची, साउन २८

पुँवारे भन्ज्याङको भीरबाट लडेर गएराति उदयपुरमा एक युवकको ज्यान भएको छ । रौतामाई गाउँपालिका ८ डिल्लीबरका ३० वर्षीय चन्द्रबहादुर रिखाम मगरको बुधबार राति घर जाने क्रममा भीरबाट लडेर निधन भएको प्रहरीले जनाएको छ । 


भीरबाट मान्छे लडेर मृत्यु भएको भन्ने खवर स्थानीयले बिहीबार विहान दिएपछि भुट्टारस्थित रौतामाई इलाका प्रहरी कार्यालयबाट गएको प्रहरी नायव निरीक्षक (सई) नेतृत्वको टोलीले उनलाई मृत अवस्थामा फेला पारेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । 


प्रारम्भिक जानकारी अनुसार बुधबार राति पुँवारेदेखि मगर डिल्लीबर घरतर्फ जाने क्रममा भीरबाट लडेर ज्यान गएको हुनसक्ने अनुमान स्थानीयले गरेका छन् । प्रहरीले घट्नास्थलको सर्जमिन मुचुल्का गरी लास पोष्टमार्टमका लागि जिल्ला अस्पताल पठाउने तयारी गरिरहेको जनाएको छ । 


घट्नाबारे पनि थप अनुसन्धान थालिएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी बेदप्रसाद गौतमले बताए ।