मास्क लगाऔं, कोविड र पुलिसबाट बँचौं

२0७८ श्रावण २६ मंगलवार
मास्क लगाऔं, कोविड र पुलिसबाट बँचौं

उदयपुर, साउन २६

आजदेखि मास्क नलगाउनेमाथि प्रहरी कडा रुपमा प्रस्तुत हुने भएको छ । कोविडबाट बँच्न मास्क अनिवार्य लगाउनुपर्ने नियम लागू गरेको प्रहरीले मंगलबारदेखि मास्क नलगाएको पाए तत्काल कारबाही गर्ने जनाएको छ । 


पछिल्लो समय कोविड संक्रमण पुनः बढ्दै गएको पाइएपछि नेपाल सरकारले मास्क अनिवार्य लगाउन निर्देशन गरे अनुसार उदयपुरमा पनि प्रहरी नियमनमा लागेको हो । यसका लागि प्रहरीले जिल्लामा ‘मास्क खोई ?’ अभियान थालिसकेको छ । 


जस अनुसार २६ गते मंगलबारदेखि अनिवार्य मास्क लगाउन जिल्लाबासीलाई आग्रह गरेको छ । बजार अनुगमनको क्रममा कसैले मास्क नलगाएको पाए संक्रामक रोग ऐन अन्तर्गत पक्राउ गरी कारबाही गर्ने जिल्ला प्रहरी कार्यालय उदयपुरले जारी गरेको सूचनामा उल्लेख छ । 


निशेधाज्ञा खुकुलो पारेसँगै केहीदिनयता दिनदिनै संक्रमण बढ्न थालेको तथा स्वस्थ्य मन्त्रालयले कोविडको तेस्रो भेरिएन्ट सुरु हुने अनुमान गरेपछि मास्क अनिवार्य गर्ने नीति लिइएको हो । प्रहरीले मास्क लगाए नलगाएको विषयमा नियमित अनुगमन गर्ने र नलगाएको पाए कानुन बमोजिम कारबाही र जरिवाना दुवै गर्ने प्रहरी प्रवक्ता डिएसपी बेदप्रसाद गौतमले बताए । 


सुरुमा मास्क नलगाउनेलाई अनिवार्य मास्क लगाउन आग्रह गरिने र अर्को पटक अनुगमन गर्दा नलगाएको पाए संक्रामक रोग ऐन अन्तर्गत तत्काल पक्राउ गरी जरिवाना र कारबाहीको सजाय गर्ने डिएसपी गौतमले बताएका छन् ।