बेलकामा २७औ विश्व आदिवासी दिवस

२0७८ श्रावण २५ सोमबार
बेलकामा २७औ विश्व आदिवासी दिवस

उदयपुर, साउन २५

‘२७ औ विश्व आदिवासी दिवस २०७८’ बेलका नगरपालिकामा मंगलबार धुमधामसँग मनाइएको छ । नेपाल आदिवासी जनजाति महासंघ बेलका नगर समन्वय परिषदको आयोजनामा विरुवा रोप्नुका साथै शुभकामना आदानप्रदान गरेर मनाइएको हो । 


२७ वटा मैनबत्ती बालेर उद्घाटन गरिएको दिवसमा सहभागीहरुले बेलका ९ रामपुरस्थित महासंघको कार्यालय परिसरमा विरुवा रोप्दै शुभकामना आदानप्रदान गरेका थिए । दिवसको अवसरमा नगरप्रमुख दुर्गाकुमार थापाले बेलकाका आदिवासी जनजाति समुदायको संरक्षण सम्बर्धन र उत्थानका लागि स्थानीय सरकारले कुनै कसर बाँकी नराखेको बताए । मेयर थापाले पहिचानको सवालमा नगर सरकार प्रतिबद्ध रहेको भन्दै समानुपातिक समावेशिताको आधारमा अघि बढ्ने हकमा बेलका नगरपालिका देशमै अब्बल सावित भएको दावीसमेत गरे । 


उपप्रमुख राजकुमारी चौधरीले दिवसमा उपस्थित नहुने अगुवा राजनीतिकर्मीलाई आदिवासी जनजातिविरोधीको संज्ञा दिईन् । उनले केही राजनीतिक दलका नेताहरु मै हुँ भन्ने तर, जनजातिको कार्यक्रममा सहभागी नहुने भन्दै त्यस्ता नेताहरु जनजातिबिरोधी भएको बताईन् । त्यस्ता नेताहरु पिछडिएको समुदाय र क्षेत्रको पक्षमा कहिल्यै नरहने बताउँदै उपमेयर चौधरीले दिवसमा उपस्थित नहुनेहरुलाई चिन्न आग्रह गरिन् । 


कार्यक्रममा जनता समाजवादी पार्टी बेलका नगर अध्यक्ष सुरेन्द्र राईले बेलका सरकारले आदिवासी जनजातिको सवालमा पर्याप्त कार्य गर्न नसकेकोप्रति असन्तुष्टि जनाउँदै स्थानीय सरकार सबै जातजाति, भाषाभाषी, समुदाय र बर्ग लिंगको मनोभावना बुझ्नसक्ने हुनुपर्नेमा जोड दिए । जसपाकै नेता मणिकुमार राईले हिजोका गोठालाहरु नै आज मालिक बनेको बताउँदै त्यस्ताबाट बँच्न आदिवासीहरु अझ चलाख र सचेत बन्नुपर्ने बताए ।


महासंघका संरक्षक तथा स्थानीय जनजाति नेता कर्णकुमार श्रेष्ठले नगर सरकारले बेलकाका जनजाति समुदायसँग सम्बन्धित बिकासमा अझ बढी सहयोगको अपेक्षा गरेको बताए । नगरपालिका स्थानीय सरकार पनि भएकाले स्थानीय आवश्यक्ताका आधारमा आदिवासी जनजातिको अधिकार प्रदान गर्न नगरपालिका खुल्ला छाती लिएर अघि बढ्न उनले सुझाएका थिए ।


महासंघ बेलका नगर अध्यक्ष ललित राईले कार्यक्रममा केही राजनीतिक दलका नेता तथा जनप्रतिनिधि अनुपस्थित भएकोप्रति असन्तुष्टि जनाए । अनुपस्थित जनप्रतिनिधिप्रति व्यंग गर्दै अध्यक्ष राईले भाग्यमानीहरुले मात्र आदिवासी जनजातिको आशिर्वाद र शुभकामना पाउने बताए ।