वर्षाले पहाडी सडक काम नलाग्ने भए

२0७८ श्रावण २५ सोमबार
वर्षाले पहाडी सडक काम नलाग्ने भए

उदयपुर, साउन २५

निरन्तरजस्तो वर्षाका कारण पहाडी भेगका सडकहरु काम नलाग्ने अवस्थामा पुगेका छन् । दिन बिराएर वर्षा भईरहेका कारण  सदरमुकामसँग जोडिएका तथा आन्तरिक सडकहरु पहिरो र हिलोले बिग्रेपछि यातायात चल्न नसक्ने अवस्थामा पुगेका हुन् । 


गाईघाटसँग जोडिएका लामा सडक तथा त्यसबाट शाखा र उपशाखा छुटिएर वडा र बस्तीसम्म पुग्ने ग्रामिण सडकहरु  अहिले जताततै भत्केर यातायात चल्न नसक्ने भएका हुन् । यसवर्ष जेठ पहिलो सातादेखि नै निरन्तर वर्षा भईरहेको छ । वर्षापछि पहिरो जाने तथा खाल्डाखुल्डीमा पानी जमेर हिलाम्य हुने भएकाले पनि कच्ची सडकहरु भत्कने, पुरिने, पहिरो जाने र हिलाम्य हुँदा गाडी चलाउन समस्या परेको यातायात व्यवसायीहरु बताउँछन् । 


खासगरी पहाडी भेगका प्राय सबै कच्ची सडकहरुको हालत लगभग उस्तै भएकाले मजाले यातायात सञ्चालन गर्न नसकिएको व्यवसायीहरुको भनाई छ । तराई तथा समथर भूभागमा वर्षाले डुबान र कटानको समस्या निम्त्याउने गरेको छ भने पहाडी भेगका सडकहरु पहिरोको समस्याले अप्ठेरो बनाएको छ । 


गाईघाट दिक्तेल सडकसँग जोडिएर बिभन्न वडा र गाउँबस्ती पुग्ने कच्ची सडकहरु अहिले धेरैजसो बिग्रेर आउजाउ गर्नै नसक्ने अवस्थामा पुगेका छन् भने अन्य सडकको पनि हालत उस्तै छ । निरन्तर वर्षा भईरहदा पहिरो गएर सडक बिगार्ने गरेको  छ। 


बिग्रेको सडक मर्मत गरे पनि अर्को दिन आउने वर्षाले तुरुन्त भत्काउने गरेको छ । भर्खर खनिएका तथा कच्ची सडक भएकलो मर्मत गर्नासाथ फेरि भत्कने गर्दा अनावश्यक खर्च र झन्झटिलो हुने गरेको जनप्रतिनिधिहरु बताउँछन् । कच्ची सडकलाई पहिरो र हिलोले भत्काउने बिगार्ने गर्दा चारपाङग्रे सवारी हिड्न नसक्ने अवस्था बनेको छ भने मोटरसाईकलसम्म चलाउन पनि हम्मे भएको स्थानीय बताउँछन् । 


सडक बिग्रेपछि पहाडी भेगका लिमचुङबुङ, ताप्ली, रौतामाई र उदयपुरगढी गाउँपालिकाका आन्तरिक सडकहरु महिनादिनयता गाडी चल्न नसक्ने अवस्थामा पुगेका छन् । ती स्थानीयतहका सडकमा आन्तरिक यातायात त झन् चल्न सक्ने अवस्थामै नरहेको स्थानीय बताउँछन् । 


सडक बिग्रेका कारण गाउँपालिका केन्द्र बाराहा जान आउन, एकवडादेखि अर्कोमा जानै समस्या भएको लिमचुङबुङका स्थानीय राजेन्द्र राईले बताए । उनका अनुसार ५ वटै वडाभित्रका आन्तरिक सडकहरु पनि भत्के बिग्रेको र मर्मत गरे पनि अर्को दिन पानी पर्दा फेरि बिग्रने गवरेको छ । 


ताप्ली गाउँपालिकाका सडकहरुको हालत पनि उस्तै छ । ५ वटै वडा जोड्ने आन्तरिक सडक निर्माण भईसकेको भए पनि हिउँदमा मात्र राम्ररी चल्ने गरेको तर, वर्षा लागेपछि समस्या हुने गरेको छ । गाउँपालिका अध्यक्ष उद्धवसिंह थापाले वडा नं. १ ओख्लेदेखि ५ नं. वडासम्म जोड्ने आन्तरिक सडक खनिएको भए पनि वर्षायाममा यातायात चलाउन कठिनाई हुने गरेको बताए । उनका अनुसार सानो बजेट, भिरालो जमिन र बिना इन्जिनियरिङ खनिएका सडक भएकाले दीगो र भरपर्दो हुन नसकेको हो । उदयपुरगढी र रौतामाई गाउँपालिकाबासीको समस्या पनि उस्तै छ । 


सदरमुकाम भए पनि त्रियुगा नगरपालिकाका पहाडी वडाहरुको अवस्था पनि उस्तै छ । त्रियुगाका वडा नं. १४, १५ र १६ सबै पहाडी र बिकट भएकाले सडकहरुको हालत खराव रहेको छ । कटारी नगरपालिकाका ८, ९, १०, ११, १२, १३ र १४ नंं वडाहरु सबै पहाडी भेग भएकाले समस्या उस्तै रहेको छ । त्यस्तै, चौदण्डीगढी नगरपालिकाको पहाडी वडाहरु १, २ र ८ नं. वडामा पन िआन्तरिक सडकहरुको अवस्था वर्षालय दयनीय बनाएको छ भने बेलका नगरका ५, ६ र ७ नं. वडा जाने सडकहरु पनि वर्षाको चपेटामा परेको स्थनीयको भनाई छ ।