मदन भण्डारी लोकमार्गमा रुखले अटो किच्दा एकको मृत्यु

२0७८ श्रावण २३ शनिबार
मदन भण्डारी लोकमार्गमा रुखले अटो किच्दा एकको मृत्यु

उदयपुरगढी, साउन २३
 

मदन भण्डारी लोकमार्गमा रुख ढलेर अटोलाई किच्दा एक यात्रुको ज्यान गएको छ । लोकमार्ग अन्तर्गत उदयपुरगढी गाउँपालिका ७ अँधेरी झरना नजिकै शनिबार दिउँसो रुख ढलेर रोकिराखेको अटोलाई किच्दा ३८ वर्षीया महिलाको ज्यान गएको हो । 

 

अँधेरी झर्ना घुम्न आएकी कटारी नगरपालिका ४ की निशा दनुवारको सडक छेउबाट लडेको रुखले रोकिराखेको प्रदेश नं. २ ०१ ००१ नं. को अटोलाई किच्दा घट्नास्थलमै ज्यान गएको प्रहरीले जनाएको छ । घुमफिर सकेर घर जान लागेका बेला दनुवार अटो चढिसकेकी थिईन् भने अन्य ३ जना अटो चढ्नै लागेका बेला एक्कासी रुख ढलेर अटोमाथि बज्रन पुग्दा घट्ना हुन गएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । 

 

रुखले किचेर अटो नजिकै रहेकाहरु कटारी नगरापलिका ४ कै २७ वर्षीया मीना दनुवार, कटारी ४ कै ४० वर्षीय श्याम दनुवार र अटो चालक कटारी ५ का कुमार तामाङ घाईते भएका छन् । उनीहरुको हात, खुट्टा र टाउकोमा चोट लागेको जनाइएको छ । 

 

घाईते सबैलाई उपचारार्थ कटारी अस्पताल पठाइएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी बेदप्रसाद गौतमले बताए । रुखले घट्नास्थलनजिकै रोकिराखेको स १० प ३२७२ नं. को मोटरसाईकलमा पनि क्षति पुगेको प्रहीले जनाएको छ ।