त्रियुगा नगरका ३ कर्मचारीमा कोविड संक्रमण, कामकाज बन्द

२0७८ श्रावण १९ मंगलवार
त्रियुगा नगरका ३ कर्मचारीमा कोविड संक्रमण, कामकाज बन्द

उदयपुर, साउन १९

त्रियुगा नगरपालिकाका ३ कर्मचारीमा कोविड संक्रमण देखिएपछि र्मंगलबार नगरपालिकाको कामकाज बन्द गरिएको छ ।  सोमबार परीक्षण गर्दा एक कर्मचारीमा संक्रमण पाइएपछि मंगलबार कामकाज रोक्ने निर्णय भएको नरपालिकाका सूचना अधिकारी विश्वजीत राईले बताए । 


कर्मचारीमा संक्रमण पुष्टि भएपछि सेवाग्राही र थप कर्मचारीमा संक्रमण हुन नदिन एकदिन कामकाज बन्द गर्ने निर्णय गरिएको हो । काम रोकेर मंगलबार नगरपालिकाका सबै कर्मचारीको एन्टीजेन परीक्षण गर्दा थप दुईजनामा पनि संक्रमण पुष्टि भएको उनले बताए । 


अघिल्लो दिन अधिकृतस्तरकी एक महिला कर्मचारी संक्रमित पाइएपछि मंगलबार नगरपालिकाका ७० जना (सबै) कर्मचारीको परीक्षण गरिएको नगर स्वास्थ्य शाखाका सहसंयोजक अवधनारायण चौधरीले बताए । सोमबार १० कर्मचारीको परीक्षण गर्दा १ जनामा संक्रमण पाइएपछि मंगलबार गरिएको अन्यको परीक्षणमा एक अधिकृतस्तर र एक सहायक कर्मचारीमा संक्रमण पुष्टि भएको चौधरीले बताएका छन् । 


सोमबार त्रियुगा नगरपालिकामा ११ महिलासहति १९ जनामा संक्रमण पुष्टि भएको थियो । जिल्लाभरी ११ महिलासहति ३० जना संक्रमित पाइदा कटारी नगरपालिकामा ७ र लिमचुङबुङ गाउँपालिकामा ४ जना संक्रमित थिए । पछिल्लो समय निशेधाज्ञा खुलेसँगै कोविड संक्रमण देखिने क्रम चलिरहेको स्वास्थ्य कार्यालय उदयपुरले जनाएको छ । 

 


कोविडकै कारण ३ दिनअघिदेखि मात्र त्रियुगा नगरपालिका २ नं. वडालाई सिल गरिएको छ । एकाघरका ३ जनाको कोविडले ज्यान लिएपछि सातादिनका लागि वडा सिल गरिएको वडाध्यक्ष घमानसिंह खत्रीले बताए । २५ दिनभित्र एकाघरका दुई पुरुष र एक महिलाको ज्यान कोविडले लुटेपछि प्रशासन र स्वास्थ्यको परामर्शमा २ नं. वडाको खैजनपुर सिल गरिएको वडाध्यक्ष  खत्रीले बताएका छन् । 


जिल्लामा हाल १ सय २० महिलासहित २ सय ७० जना सक्रीय संक्रमित रहेका छन् भने १ हजार २ सय २२ महिलासहित २ हजार ६ सय ४६ जना संक्रमित निको भएका छन् । त्यस्तै कोविडका कारण जिल्लामा १६ महिलासहित ५२ जनाको दुःखद निधन भएको स्वास्थ्य कार्यालयको अभिलेखमा उल्लेख छ ।