सोलु करिडोर बिबादः मुआब्जा दिएपछि मात्र काम सुचारु

२0७८ श्रावण १९ मंगलवार
सोलु करिडोर बिबादः मुआब्जा दिएपछि मात्र काम सुचारु

कटारी, साउन १९
 

दुइदिनयता बन्द कटारी बजार सोमबार साँझदेखि खुलेको छ । सोलु करिडोरको टावर निर्माणको क्रममा स्थानीयको जग्गाको मुआब्जा नदिइ प्रहरी घेराभित्र जवरजस्ती धान खेत मासेर स्काभेटर चलाएपछि बन्द बजार १० बुँदे सहमतिपछि खुलेको हो । 
 

प्रशासनले ३ सय सुरक्षाकर्मी परिचालन गर्दै हरियाली धान खेतमा स्काभेटर लगाएर टावर बनाउने खाल्डो खन्न थालेपछि आक्रोसित स्थानीयले प्रतिकार गर्दा शुक्रबार दुईपक्षीय भफडसमेत भएको थियो । शनिबार पनि त्यसैगरी काम गर्न थालेपछि स्थानीयले अवरोध गर्दै बजार बन्द गराएका थिए । आईतबार भने बिरोधस्वरुप यातायात बन्द गराएका संघर्ष समितिसँग सर्वपक्षीय छलफल गर्दा १० बुँदे सहमति भएको हो ।
 

निर्माणाधीन सोलु करिडोरको १३२ केभि विद्युत प्रशारण लाईनअन्तर्गत कटारी नगरपालिका ४ मरुवामा टावर निर्माण क्रममा भएको प्रशासनिक ज्यादतिविरुद्धको बन्द सहमतिसँगै फिर्ता लिएको संघर्ष समितिका संयोजक केपी बरालले बताए । उनका अनुसार सुरक्षाकर्मी परिचालन गरी काम थालेपछि स्थानीय र प्रहरीबीच दोहोरो झडप हुँदा झण्डै एकदर्जन स्थानीय घाईते भएका छन् । 
 

स्थानीयको माग संबोधन नगरी काम गरेको तथा धरपकड गरेर घाईते बनाएको भन्दै सात राजनीतिक दलीय मोर्चाले गठन गरेको संघर्ष समितिले १७ देखि २१ गतेसम्मका साताव्यापी बिरोध कार्यक्रम घोषणा गरेको थियो । १७ गते कटारी बन्द, १८ गते कटारीमा यातायात बन्द, १९ गते सरकारी कार्यालयमा अनिश्चितकालीन तालाबन्दी, २० गते सुरक्षाकर्मी राखिएको मरुवा माविमा तालाबन्दी र २१ गते उदयपुर बन्दको घोषणा गरेपछि प्रशासन वार्तामा बस्न राजी भएको थियो ।
 

दुईदिन चलेको सर्बपक्षीय बैठकले घाईतेहरुको उपचार आयोजना कार्यालयले गर्ने, नगरपालिकाको सिफारिस अनुसार जमिनको मुआब्जा प्रति कठ्ठा ५० लाखका दरले दिने, ०७५ मा निर्धारण गरिएको प्रति कठ्ठा १९ लाख ७५ हजारलाई संशोधन गरेर समयानुकुल बनाउ पुनरमूल्यांकन गर्ने, मरुवामा राखिएका सुरक्षाकर्मी हटाउने, खेतबारीमा नष्ट भएको बालीनालीको क्षतिपूर्ति दिने सहमति भएपछि बन्द फिर्ता लिइएको हो ।
 

प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख, अयाोजना प्रमुख, पीडित संघर्ष समिति र नगरपालिकाको सहभागितामा सम्पन्न २ दिने बैठकले १० बुँदे सहमति गरेपछि बन्द फिर्ता गरिएको संघर्ष समितिका संयोजक केपी बरालले बताए । प्रमुख जिल्ला अधिकारी तुलसीराम सेंढाई, एसपी सुभासचन्द्र बोहरा, आयोजना प्रमुख जनार्दन गौतम, नगरप्रमुख ज्ञानेन्द्र श्रेष्ठ, नेपाली कांग्रेस, नेकपा (माओबादी केन्द्र), एमाले, जनता समाजबादी, राप्रपा र बिप्लव नेतृत्वको नेकपासहित सात राजनीतिक दल तथा संघर्ष समिति सम्मिलित सर्वपक्षीय छलफलले सहमति गरेको हो । 
 

माओबादी कटारी नगर अध्यक्ष मणिराज दाहालका अनुसार २० गतेभित्र मरुवा माविमा राखिएका सुरक्षाकर्मी हटाईसक्ने, ०७५ सालमा जमिनको मुआब्जा प्रति कठ्ठा १९ लाख ७५ हजार तथा १२ लाखका दरले दिने निर्णय संशोधन गर्न गृह मन्त्रालय पठाउने सहमति भएको छ । त्यस्तै, ०७८ मा भएको निर्णय अनुसार ऐलानी जमिनको प्रति कठ्ठा २० लाखका दरले मुआब्जा दिने निर्णयमा स्थानीयको असहमति रहेकाले नगरपालिकाले गरेको सिफारिस अनुसार प्रति कठ्ठा ५० लाखका दरले दिने गरी संशोधन गर्न मन्त्रालय पठाउने सहमति भएको दाहालले बताए । 
 

छलफलमा दुईदिनअघिको प्रहरी स्थानीय झडपमा परी घाईते भएका स्थानीयको उपचार खर्च आयोजना कार्यालयले बेहोर्ने, टावर गाड्दा ओगटेको जमिनको ८० प्रतिशत बढी मुआब्जा दिने, करिडोरका टावर बनाइएको उदयपुरका अन्य ठाउँका जमिनको मुआब्जा दिन छुटेको भए लगत संकलन गरी उचित मुआब्जा दिने सहमति पनि भएको छ । 
 

सर्वपक्षीय बैठकले सुरक्षाकर्मीको घेराभित्र रहेर खाल्डो खन्दा भएको बालीनालीको उचित क्षतिपूर्ति आयोजना कार्यालयले दिने तथा मुआब्जा रकम भुक्तानी नभएस्म्म काम अघि नबढाउने सहमतिमा हस्ताक्षर भएको छ । सहमति भएपछि संघर्ष समितिले घोषणा गरेका सम्पूर्ण बिरोधका कार्यक्रम सोमबार साँझबाटै फिर्ता लिइएको संयोजक बरारले बताए । सर्वपक्षीय सहमति भएसँगै बजार र यातायात सुचारु भएको छ भने मरुवाबासीले न्याय पाएको महसुस गरेका छन् । 
 

गत असार २५ गते टावर निर्माण कार्य थाल्दा पनि स्थानीयले यसैगरी बिरोध गरेका थिए । त्यसबेला स्थानीयले नगरपालिकामा तालसमेत लगाएपछि संघीय सांसद सुरेशकुमार राईले स्थानीयको माग पुरान नगरेसम्म काम अघि नबढाउन आग्रह गरेका थिए । उनको आग्रह अनुसार रोकिएको काम गत शुक्रबार सुरक्षाकर्मी ठूलो फौज तैनाथ थरेर सुचारु गरेपछि बिबाद र झडप हुन पुगेको थियो । झडपमा परी अपांगता श्याम कोईराला, बृद्ध देवीबहादुर थापा र अशक्त पदमकुमारी थापा, डाकबहादुर थापा, दिपक राउत, सृरेन्द्र थापा, गणेश थापा, बलबहादुर मगर, नानीमैया थापा, राधिका राउत, गोमा थापा र लक्ष्मी मगर घाईते भएको समितिले जनाएको छ । 
 

 

करिडोरको काममा स्थानीय बाधक देखिएपछि  प्रशासनले १ सय जनपथ र २ सय सशस्त्र प्रहरी परिचालन गर्दै काम सुचारु गरेको थियो । इलाका प्रहरी कार्यालय कटारीका डिएसपी मानबहादुर राईको कमाण्डमा जिल्ला प्रहरीका ५० र इप्रकाका ५० जनपथसँगै २ सय सशस्त्र प्रहरी घट्नास्थल मरुवास्थित माविमा राखेर परिचालन गरिएको थियो । एसपी बोहराले आईतबार विहानदेखि सोमबार दिउँसोसम्म सर्वपक्षीय छलफल गरेपछि सहमति भएको बताए । सहमतिसँगै अव त्यहाँ राखिएका सुरक्षाकर्मी हटाइने र सहमति थप प्रक्रिया अघि बढाउने उनले सुनाए । 
 

माथिल्लो सगरमाथाको सोलुखुम्बुका बिभिन्न खोलाहरुबाट उत्पादिन विद्युत करिडोर निर्माण गरी ओखलढुंगा, उदयपुर हुँदै सिराहाको मिर्चयास्थित राष्ट्रिय प्रशारण लाईनमा जोड्ने गरी निर्माण भईरहेको हो । यसको १३२ किलोभोल्ट (केभि) प्रशारण लाईन अन्तर्गत सोलुखुम्बुको तिङ्लादेखि ओखलढुंगा, उदयपुर हुँदै सिराहाको मिर्चयासम्म ९० किलोमिटर छिचोलेर ल्याउनुपर्दा ३ सय २ वटा टावर बनाउनुपर्ने छ । 
 

३ वर्षअघि सुरु आयोजनाको टावर मरुवामा ४ वटा बनाउनुपर्नेमा एउटा बनाईसकिएको छ भने ३ वटा बनाउने विषयमा जमिन बिबाद भएको हो । ओखलढुंगामा पनि यस्तै बिबाद उब्जेको र समयमा समाधान नहुँदा अहिलेसम्म २ सय ९२ वटा मात्र टावर बनेको आयोजना प्रमुख गौतमले बताएका छन् । घुर्मीदेखि कटारीसम्मको उदयपुर क्षेत्रमा १० वटा टावर बनाउनुपर्नेमा अन्य ठाउँ बनाईसकिए पनि मरुवामा भने बिबाद चर्कदा काम हुन नसकेको गौतमको भनाई छ । 
 

कार्यालय प्रमुख गौतमले २९ मिलियन डलरमा निर्माण सम्पन्न गर्ने ठेक्का पाएको भारतीय कम्पनीले करिडोरको काम समयमा गर्न नसक्दा दुईपटक म्याद थप्नु परेको बताएका छन् । गतवर्षदेखि कोविडले अवरोध गर्दा पनि काममा ढिलाई भएकाले पछिल्लो म्याद सेप्टेम्बर ३० अर्थात झण्डै दुई महिना मात्र बाँकी छ । ठेक्का अवधिभित्रै काम सक्ने योजना भए पनि बाधा बिरोधका कराण सुचारु हुन नसकेको प्रमुख गौतमले बताए ।