खैजनपुरमा कोविडले एकै परिवारका ३ को मृत्यु, गाउँ ‘सिल’

२0७८ श्रावण १७ आईतवार
खैजनपुरमा कोविडले एकै परिवारका ३ को मृत्यु, गाउँ ‘सिल’

उदयपुर, साउन १७

कोविडले त्रियुगा नगरपालिका २ को खैजनपुरमा एकै परिवारमा ३ जनाको ज्यान लिएको छ । गएको २५ दिनको अवधिमा एउटै परिवारका ४२ र ३८ वर्षका पुरुष तथा ४० वर्षकी महिलाको ज्यान गएपछि आजरातिदेखि खैजनपुरलाई ‘सिल’ गरिएको छ । 


कोविड संक्रमणबाट २५ दिनअघि एक पूरुषको ज्यान लिएको थियो भने ११ दिनअघि अर्का पुरुषको पनि ज्यान लियो । त्यस्तै अघिल्लो राति कोविडले महिलाको पनि ज्यान लिएपछि गएराति १२ः०० बजे आउँदो २४ गते राति १२ः०० बजेसम्मलाई गाउँ सिल गरिएको वडाध्यक्ष घमानसिंह खत्रीले बताए । 


एकै परिवारका ३ जनाको ज्यान जानुका साथै गाउँमा दर्जन बढीलाई कोविडको लक्षण देखिएको हुनाले प्रशासन र स्वास्थ्यसँग समन्वय गरेर वडाले गाउँमा निशेधाज्ञा लागू गरेको खत्रीले बताए । वडाका बरगाछी टोल विकास संस्था, नमूना थारु टोल विकास, नयाँ बस्ती टोल विकास र बबिया टोल विकास संस्थाको सीमाभित्र आउजाउ गर्न, रोक लगाइएको छ । 


निशेधाज्ञामा अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन, यातायात, बजार, पसल, बिहे, भोज, पार्टी, भेला सबैमा रोक लगाइको छ । खाद्यान्न किनमेल गर्न विहान ७ः०० देखि ९ः०० बजेसम्म र साँझ ५ः०० देखि ७ः०० बजेसम्म खुल्ला गरिएको छ । निशेधाज्ञा उल्लंघन गरेको पाइए संक्रामक रोग ऐन अन्तर्गत कारबाही गर्ने चेतावनी दिइएको छ ।


पछिल्लो २४ घण्टामा उदयपुरमा ७ महिलासहित २४ जनामा संक्रमण देखिएको छ । स्वास्थ्य कार्यालय उदयपुरका अनुसार त्रियुगा नगरपालिकामा १४, बेलका नगरपािलकामा ७  चौदण्डीगढी नगरपालिकामा ३ जना संक्रमित थपिएका छन् । यो सँगै  सक्रीय संक्रमितको संख्या उदयपुरमा १ सय १४ महिलासहित २ सय ४६ पुगेको छ । 


हालसम्म उदयपुरमा निको हुनेको संख्या १ हजार २ सय १३ महिलासहित २ हजार ६ सय २८ पुगेको स्वास्थ्य कार्यालयका फोकलपर्सन उमेश लुईटेलले बताएका छन् ।