मंसिरदेखि गाईघाटबाटै लाईसेन्स पाइने !

२0७८ श्रावण १६ शनिबार
मंसिरदेखि गाईघाटबाटै लाईसेन्स पाइने !

गाईघाट, साउन १६ 

यातायात सेवा कार्यालय गाईघाटले आगामी ३ महिनाभित्र सवारी अनुमतिपत्र (लाईसेन्स) बितरण गर्नेगरी तयारी थालेको जनाएको छ । कार्यालयले आउँदो मंसिरदेखि गाईघाटबाटै लाईसेन्स बितरण गर्ने गरी आन्तरिक तयारी थालेको जनाएको छ । 


गएको ०७३ असार १ गतेदेखि सञ्चालनमा आएको कार्यालयमा हाल सवारी साधन दर्ता गर्ने, नामसारी, पञ्जिकरण, रुट निर्धारण र पर्मिट (आदेश) जारी गर्नेलगायत सेवा दिदै आएको छ । मंसिरदेखि भने लाईसेन्स पनि बितरण गर्ने गरी अधिकार प्रत्यायोजन गर्न प्रदेश भौतिक तथा यातायात मन्त्रालयले छिट्टै व्यवस्था मिलाउदै गरेको कार्यालय प्रमुख सुभाषजंग कार्कीले बताए । 


कार्कीका अनुसार गाईघाटमा सर्ससाधारण नागरिकको माग अनुसार मंसिरदेखि लाइसेन्स पाउने व्यवस्थाका लागि मन्त्रालयले अधिकार दिने तयारी गरिरहेको । हाल जिल्लाबासी सेवाग्राही लाईसेन्स लिनका लागि २ नं. प्रदेशको सिराहा लाहानस्थित यातायात व्यवस्था कार्यालय पुग्नुपर्ने बाध्यता छ । पछिल्लो समय बढ्दो सवारी चाप अनुसार लाईसेन्स बितरण असहज भएकाले अधिकांश चालक लाईसेन्सविनै गाडी चलाउने गरेको पाइएको छ । जसमा मोटरसाईकल र स्कुटीको संख्या अत्याधिक रहेको छ । 

 


गाईघाट सेवा कार्यालयमार्फत सुरुमा उदयपुर, खोटाङ, ओखलढुं्गा र सोलुखुम्बु ४ जिल्लालाई सेवा दिदै आएकोमा अहिले उदयपुर र खोटाङलाई मात्र सेवा सीमित गरिएको छ । कार्यालयबाट हाल  दैनिक २५ देखि ३५ जनासम्म सेवाग्राही लाभान्वित भईरहेको अधिकृत योगेश्वर खनालले बताए । उनका अनुसार कार्यलयमा हाल मोटरसाईकल २ हजार ७ सय १३, स्कुटर ४ सय ४, टिफर १९, जिप १५ र बस १० वटा गरेर ३ हजार ४ सय सवारी साधन दर्ता भएका छन् । 


कार्यालयमा हाल ६ जना स्थायी र ४ जना करार गरी १० जना कर्मचारी कार्यरत कार्यालयले आर्थिकवर्ष २०७६–७७ मा ७ करोड ५१ लाख राजश्व संकलन गरेको छ । आव २०७६–७७ मा ४ करोड १२ लाख राजश्व संकलन गरेको थियो । लाईसेन्स पनि बितरणको अधिकार पाएमा राजश्व संकलन बढ्नुका साथै जिल्लाबासीलाई सेवा लिन सहज हुने कार्यालयको ठहर छ ।