साउनेमा वडा कार्यालयको साप्ताहिक पशु सेवा 

२0७८ श्रावण १५ शुक्रबार
साउनेमा वडा कार्यालयको साप्ताहिक पशु सेवा 

उदयपुर, साउन १५

त्रियुगा नगरपालिका १४ नं. वडाले हरेक साता वडाबासीलाई पशु स्वास्थ्यसम्बन्धी सेवा प्रवाह गर्ने कार्यक्रमलाई यसवर्ष पनि निरन्तरता दिने भएको छ । साविक साउने गाविस भई हाल त्रियुगा १४ नं. मा परिणत भएको वडाबासीलाई पशुसम्बन्धी सेवा सुविधा दिने उदेशयले कार्यक्रमलाई निरन्तरता दिन लागिएको हो ।


बिहीबार एक कार्यक्रमका बीच वडाध्यक्ष कुरुङ राईले उद्घाटन गर्दै सेवा सुचारु गरे । सेवा सुचारु गर्दै वडाध्यक्ष राईले वडाबासी जनताको सेवा सुविधाका लागि विगतवर्षदेखि नै यो कार्य गर्दै आएको बताए । उनले हरेक बिहीबार कृषकले गाई भैंसीको स्वास्थ्य अवस्था बुझेर बिरामी भए उपचार गर्न सहज होस् भनेर यो सेवा थालिएको बताए । वडामा भेट्नरी कार्यालय नभएकाले गाई भैंसी बिरामी परे सदमुकामसम्म पुग्नुपर्ने तथा पशु चिकित्सक बोलाएर महँगोमा उपचार गर्नुपर्ने समस्या यसबाट हट्ने अध्यक्ष राईले बताए । 


वडा सचिव रीतकुमार राउतले वडा कार्यालयले विगत ४ वर्षदेखि यस्तो सेवा साउनेबाटै दिदै आएको बताए । सचिव राउतका अनुसार चालु वर्ष पनि यो सेवालाई निरन्तरता दिन थालिएको र यसबाट वडाबासी जनतालाइ धेरै सहयोग पुग्ने अपेक्षा गरिएको छ । सो कार्यक्रमका लागि वडाले १ लाख रुपैंया बजेट छुट्याएको राउतले बताए । 


कार्यक्रम सञ्चालन गर्नका लागि वडार्ले  नायव पशु स्वास्थ्य प्राविधिक भर्ना गरेर सेवा दिने काम भईरहेको छ । जस अनुसार नापस्वाप्रा आनन्दकुमार लेखीले हरेक बिहीबार किसानले पालेका गाई भैंसीको गोबरको ल्याप परीक्षण गर्ने तथा बिरामी पशुको निशूल्क उपचार गर्नेछन् । ल्याव परीक्षणबाट पशुमा कुनै किसिमको रोग देखा परेमा तत्काल औषधि उपचार गर्ने व्यवस्था पमि वडाले मिलाएको छ ।