फरार सूचीका अभियुक्तहरु धमाधम पक्राउ 

२0७८ श्रावण १४ बिहीबार
फरार सूचीका अभियुक्तहरु धमाधम पक्राउ 

उदयपुर, साउन १४

प्रहरीले आपराधिक गतिबिधिमा संलग्न भई फरार रहेकाहरुको खोजी गर्दै पक्राउ गर्ने क्रम जारी राखेको छ । यसै क्रममा २ दिनअघि ३ जना अभियुक्त पक्राउ गरेको उदयपुर प्रहरीले बुधबार थप ५ जनालाई पक्राउ गरेको छ । 


लागूऔषध, जवरजस्ती करणी, बहुबिबाह र सार्वजनिक उपद्रबलगायत आपराधिक क्रियाकलापमा संलग्न भई अदालतबाट दोषी प्रमाणित भए पनि भाग्न सफल फरारहरुको खोजी गर्दै पक्राउ गर्ने काम गरिरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । 


फरार सूचीमा रहेका अभियुक्ताहरु लुकेर बसेको भन्ने सुराकीका आधरमा जिल्ला प्रहरी कार्यालय उदयपरबाट खटेको विशेष टोलीले मंगलबार चौदण्डीगढीका बहुबिवाह आरोपी एक दम्पति र जवरजस्ती करणी अभियोगका फरारलाई पक्राउ गरेको थियो । त्यसैगरी बुधबार साँझ र राति थप ५ जनालाई पक्राउ गर्न सफल भएको हो । 


साँझ ५ः३० बजे लागू औषध गाँजा मुद्धामा फरार त्रियुगा नगरपालिका ८ चुहाडेका ६६ वर्षीय पूर्णबहादुर बिष्टलाई बेलका नगरपालिका ८ को सेतीखोलबाट पक्राउ गरेको जिल्ला प्रहरी प्रमुख एसपी सुबासचन्द्र बोहराले बताए । उनका अनुसार बिष्टलाई गाँजा अभियोगमा जिल्ला अदालत उदयपुरले २८ दिन कैद र २ हजार जरिवानाको फैसला सुनाएको छ । 


तर, भाग्दै आएका बिष्टलाई आफन्तकोमा लुकिछिपी बस्दै आएको सुराकीको आधारमा टोली खटाई पत्राउ गरिएको छ । उनलाई पक्राउलगत्तै फैसला कार्यान्वयनका लागि जिल्ला अदालतमा बुझाइएको एसपी बोहराले बताए । 


त्यसैगरी बुधबार राति ८ः३० बजे सार्वजनिक उपद्रव मुद्धामा दोषी ठहरिएका फरार बेलकाकै थप ४ जनालाई पनि नियन्त्रणमा लिइएको छ । बेलकास्थित इलाका प्रहरी कार्यालय रामपुरको टोलीले बेलका ९ धौरीका २७ वर्षीय मनकुमार राई, बेलाका ३ जाल्पादेवी टोलका ३५ वर्षीय बच्चे भन्ने भीमबहादुर बस्नेत, सोही ठाउँका २८ वर्षीय शंकर खत्री र २४ वर्षीय विनोद बस्नेतलाई पक्राउ गरेको हो । 


पक्राउ सबैलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालतमा बुझाइएको छ ।