त्रियुगा नगरपालिकाका ३३ जना कर्मचारी छड्केमा

२0७८ श्रावण १२ मंगलवार
त्रियुगा नगरपालिकाका ३३ जना कर्मचारी छड्केमा

बुद्धिकुमार राई

त्रियुगा, साउन १२                        

त्रियुगा नगरपालिकाका ३ दर्जन कर्मचारी छड्केमा परेका छन् । कार्यालय नआउने, आए पनि कार्यकक्षमा नबस्ने कर्मचारीको विषयमा मुलुकी दैनिकले समाचार प्रकाशन गरेपछि गरिएको अनगमुनमा ३३ जना कर्मचारी छड्केमा परेका हुन् । 


निमित्त प्रमुख प्रशासकीय अधिकृत विश्वजित राईले आईतबार गरेको छड्के अनुगमनमा नगरपालिकामातहतका बिभिन्न विषयगत शाखाका कर्मचारी छड्केमा परेका हुन् । निमित्त प्रमुख राईका अनुसार त्रियुगा नगरपालिकाका कृषि शाखा, पशु सेवा, स्वास्थ्यलगायत विभिन्न शाखामा गरिएको छड्के अनुमगनमा अधिृकतस्तर सातौंदेखि कार्यालय सहयोगीसम्म बिभिन्न तहका ३३ कर्मचारी अनुपस्थित रहेको भेटिएको छ । 

 


आईतबार कार्यालय समयमा पनि अनुपस्थित रहेका कर्मचारीलाई छड्केमा कारबाही गरिएको निमित्त प्रमुख प्रशासकीय अधिकृत राईले बताए । उनका अनुसार छड्केमा परेका ३३ कर्मचारीमाथि स्पष्टिकरण सोधिएको छ । स्पष्टिकरणको जवाफमा तथ्य, प्रमाणसहित चित्तबुझ्दो जबाफ नआए निजामति सेवा ऐन अनुसार कारबाही गरिने उनले बताए । निजामति ऐनमा नियमविपरित गर्ने कर्मचारीको तलब कटौतिदेखि विभागीय कारबाहीसमेत हुने व्यवस्था रहेको छ । 


कार्यालय समयमा कार्यकक्षमा बसेर सेवाग्राहीको काम गर्नुपर्नेमा काम नगरी अन्यत्र गईदिने, कार्यालयबाहिर निस्कनुपर्ने बिना जानकारी हिड्ने कर्मचारीलाई क्षतिपुर्तिसमेत भराउनु पर्ने माग नगरबासीले गरेका छन् । प्रमुख प्रशासकीय अधिकृत लक्ष्मणबिक्रम थापा बिदामा रहेका बेला नगरपालिकाका कर्मचारी कार्यालय नआउने, आए पनि कार्यकक्षमा नबस्ने, सेवाग्राहीको कामप्रति बेवास्ता गर्दै गफिने, टहलिने गर्दा नगरबासीले नियमित सेवा पाउन नसकेको गुनासो आउने गरेको छ । 


यस्तो गुनासो सम्बोधन गर्दै छड्के अनुगमन गरिएको निमित्त प्रमुख राईले बताए । एकैदिन ३३ जना कर्मचारी अनुपस्थित हुँदा नगरपालिकाबाट दिइने सेवा प्रभावित भएको छ । वर्षायामको बेला टाढाटाढाबाट खर्च पिटेर सेवा लिन आएका नगरबासीहरु कर्मचारी नहुँदा काम नभएर सदरमुकाममै बस्नुपर्ने अवस्था आएको वडा नं. १५ का एक सेवाग्राहीले गुनासो गरे । धान रोपाई, पेशा व्यवसाय छाडेर काम लिन आउने सेवाग्राही कर्मचारीको अनुपस्थितिले सेवा लिन नपाउँदा सास्ती बेहोर्नु परेको उनको गुनासो छ । 

 

निमित्त प्रमुख राईले कर्मचारीलाई नियमित सेवामा लगाउने उदेश्यले नियमन गर्न छड्के अनुगमन गरेको बताए । उनले नगरबासीले पाउनुपर्ने सेवा चुस्त, दुरुस्त र छिटो छरितो बनाउदै अनाबश्यक झन्झट, समय र पैसा खर्च हुनबाट बँचाउन सबै कर्मचारी अवदेखि नियमित खट्ने बताए ।