ग्यासको प्रयोग गाउँगाउँसम्म  

२0७८ श्रावण ११ सोमबार
ग्यासको प्रयोग गाउँगाउँसम्म  

उदयपुर, साउन १०  

उदयपुर जिल्लामा सहरीकरण बढेसँगै गाउँ गाउँमा ग्यास सिलिन्डर प्रयोग गर्ने उपभोक्ताको संख्या बढेको छ । सहरीकरणसँगै गाउँसम्म कच्ची सडक पनि पुगेकाले उदयपुरमा ग्यासको खपत पनि ह्वात्तै बृदि भएको गाईघाटका ग्यास बिक्रेता (डिजर) हरु बताउँछन् ।


अहिले गाइघाटमा विभिन्न ९ कम्पनीका ग्यास सिलिण्डर बिक्री हुँदै आएको नारायणी ग्यास बिक्रेता अर्जुन तिम्सिना बताउँछन् । त्यस्तै कोसी ग्यास माधब बानिया र नीरा राईले बिक्री गर्छन् भने सुपर ग्यास सिद्दिबिनायक भाँडा पसलका सञ्चालक अजय साहले । 


नन्दकिशोरले कृष्ण कनिया इन्टरप्राइजेजमार्फत रिजाल ग्यास बिक्री गर्छन्, पृमा र कामख्या ग्यास अर्जुन साहले, सुबिधा ग्यास रामप्रमोद साहले, जगदम्बा ग्यास नन्दकिशोर साहले, कन्काई ग्यास रमानन्द साहले, पृमा ग्यास दिनेश श्रेष्ठ बिक्री गरिरहेको पाइएको छ । 


यीमध्ये सबभन्दा धेरै ग्यास रिजाल कम्पनीको बिक्री हुने गरेको पाइएको छ । रिजाल ग्यास मासिक ११ हजार थान सिलिण्डर खपत हुने गरेको नन्दकिशोर बताउँछन् । यो संखया उदयपुर र खोटाङ गरेर खपत हुदै आएको उनले बताए । अन्य कम्पनीका ग्यास पनि उत्तिकै संख्यामा बिक्री हुने गरेको गाईघाटका व्यपारीहरु बताउँछन् । 


गाईघाटमा बिभिन्न जिल्लाका उद्योगबाट ग्यास आयात गर्ने गरिएको छ । नारायणी ग्यास महोत्तरीको बर्दिबासबाट ल्याएर बिक्री गर्ने गरेको बिक्रेता तिम्सीनाले बताए । त्यस्तै कामख्या सुनसरीको झुम्काबाट, पृमा सुनसरीकै पकलीबाट आयात गर्ने गरिएको छ । 


ग्यास बिक्रेता बन्न न्यूनतम २० लाख लगानी गर्नुपर्ने बिक्रेताहरु बताउँछन् । त्यत्ति लगानीमा कुनै पनि ग्यासको डिलर राखेर  ५ सय थान सिलिण्डर ल्याउन सकिने डिलरहरु बताउँछन् । कोसी ग्यासको लागि भने न्युनतम २५ लाख लगानी गरेपछि १ हजार ४ सय थान सिलिण्डर ल्याउन सकिने कम्पनीले जनाएको छ । 


गाईघाटमा हरेक महिना कम्तिमा ५ हजार ५ सयदेखि ७ हजारसम्म ग्यास सिलिण्डर बिक्री हुने गरेको छ । नारायणी मासिक २ हजार, कोसी मासिक १ हजार ५ सय, सुपर मासिक २ सय, पृमा मासिक ५ सय, कामाख्या मासिक ४ सय, सुबिधा मासिक ५ सय, कन्काई मासिक २ हजार ६ सय थान बिक्री भइरहेको बिक्रेताहरुले जनाए । 


पछिल्लो समय उदयपुरका सामुदायिक वन उपभोक्ता समूहहहरुले पनि आफ्ना उपभोक्तालाइ निःशूल्क ग्यास बितरण गर्ने गरेका छन् । रुख विरुवा जोगाउन दाउराको खपत घटाउने उदेश्यले वन समूहहरुले गाउँघरमा निशूल्क ग्यास सिलिण्डर बितरण गर्न थालेपछि ग्यासका उपभोक्ता गाउँगाउँ पुगेको र यसले ग्यास सिलिण्डरको खपत बढेको सामुदायिक वन उपभोक्ता महासंघले जनाएको छ ।