उदयपुरमा आईपुग्यो २४ हजार ६ सय खोप,  ५५ वर्षमाथिकालाई १२ गतेदेखि दिइने 

२0७८ श्रावण १0 आईतवार
उदयपुरमा आईपुग्यो २४ हजार ६ सय खोप,  ५५ वर्षमाथिकालाई १२ गतेदेखि दिइने 

उदयपुर, साउन ९

छिमेकी मुलुक चीनबाट आएको कोविडविरुद्ध लगाइने भेरोसिल खोप शनिबार उदयपुर आईपुगेको छ । प्रदेश स्वास्थ्य कार्यालयबाट आएको २४ हजार ६ सय डोज खोप यही साता लगाउने तयारी थालिएको छ । 


खोप आउँदो १२ गतेदेखि लगाउने गरी स्थानीयतहहरुलाई बितरण भईरहेको स्वास्थ्य कार्यालय उदयपुरका प्रमुख मोहन सुबेदीले बताएका छन् । यस पटकको खोप ५५ वर्षभन्दा माथिका नागरिकलाई दिइने छ । यसअघि पहिलो चरणमा अग्रमोर्चामा खट्ने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, पत्रकार, एम्बुलेन्स चालक, सबबाहन चाक र सरसफाईकर्मीलाई दिइएको थियो भने दोस्रो चरणमा ६२ वर्षमाथिका बृद्धबृद्धालाई दिइएको थियो । 


यस पटकको खोप ५५ वर्ष माथिकालाई नागरिकलाई दिइने छ । सार्वजनिक यातायातका चालक, सहचालक, शिक्षक, प्राध्यापक, वैदेशिक रोजगारीमा जान भिसा लागिसकेका व्यक्ति, अत्यावश्यक सेवा अन्तर्गत खट्ने कर्मचारीलाई पनि खोप दिइनेछ । 


खोप सहजरुपमा सबैतिर पुर्याउने व्यवस्था मिलाउन ४ नगर र ४ गाउँपालिका गरी ८ वटै स्थानीयतहलाई बितरण भईरहेको सुबेदीले बताए । 


स्वास्थ्य कार्यालयका खोप सुपरपाईजर चिरञ्जिवी निरौलाले अहिलेसम्म उदयपुरमा २० हजार ५ सयलाई भारतीय कम्पनीको कोविसिल्ड खोप दिइसकिएको बताए । तर, सुरुमा खोप लिने १५ हजार ४ सयमध्ये १२ हजारले भने पहिलो मात्रा मात्र लिन पाएका छन् । 


०७७ माघ १४ देखि चलाइएको खोप अभियानमा १२ हजारले पहिलो मात्रा लगाएकामो ३ साताभित्र लगाउनुपर्ने दोस्रो मात्राको खोप भारतले नदिएपछि ६ महिना बित्नलाग्दासम्म लिन पाएका छैनन् । फागुन, चैत र वैशाखमा सोही कम्पनीको खोप ३ हजार ४ सय जनाले भने दुवै मात्रा लिइसकेका छन् । 


०७८ जेठ २५ देखि चलाइएको अर्को चरणको खोप ५ हजार १ सयले लगाएका छन् । चाईनिज कम्पनीको भेरोसिल खोप लगाउनेहरु सबैले दुवै मात्रा पाईसकेको सुपरभाईजर निरौलाले बताए । अहिलेको खोप पनि भेरोसिल नै हो र यो पनि दुवै मात्रा लगाउन मिल्ने गरी मौज्दात राखिएको उनले बताए । 


आउँदो १५ दिनभित्र अमेरिकन कम्पनीको जोन्सन एण्ड जोन्सन कम्पनीको १५ हजार डोज खोप पनि बिराटनगर आउने तयारीमा छ । बिराटनगर आएपछि उदयपुरमा पनि आउने र सो खोप ५० वर्षभन्दा माथिका उमेर समूहलाई दिइने निरौलाले बताए । 
 
२६ संक्रमित थपिए, ३८ निको

पछिल्लो २४ घण्टामा उदयपुरमा १० महिलासहित २६ जना नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य कार्यालय उदयपुरका अनुसार शनिबार बेलका नगरपालिकामा ११, चौदण्डीगढीमा ९, लिमचुङबुङमा ४ तथा ताप्ली र कटारीमा १–१ जना संक्रमित फेला पेका छन् ।


यो सहित उदयपुरमा अव सक्रीय संक्रमितको संख्या ९० महिलासहित २ सय १० जना पुगेको छ । उनीहरुको कोविड अस्पताल बेलटार, गाईघाट र होमआईसोलेसनमा उपचार भईरहेको छ । त्यसैगरी शनिबार १७ महिलासहित ३८ संक्रमित निको भएर घर फर्केका छन् ।