उस्मा राई अर्थात अग्र्यानिक युवा कृषक 

२0७८ श्रावण ८ शुक्रबार
उस्मा राई अर्थात अग्र्यानिक युवा कृषक 

फुलजोर, साउन ८

गाईघाटका सहरमान राई र आमा ताराकी छोरी उष्मा राई अहिले जिल्लाकै उत्कृष्ट कृषकको परिचय बनाउने क्रममा छिन् ।  दाजु प्रहरी सेवामा र बहिनी फेसन डिजाईनमा रमाउँदै गर्दा स्वास्थ्य विज्ञान पढेकी ३२ वर्षीया उस्मा भने कृषि उद्यममा डुबेर लागी परेकी छिन् । 


सदरमुकाम गाईघाटदेखि ८ किलोमिटर पूर्व त्रियुगा नगरपालिका १ को जोगीदह फुलजोरमा व्यवसायिक कृषि उद्यममा लागेकी उस्माको अग्र्यानिक कृषि फार्म कुनै पुरुष समूहले सञ्चालन गरेकोभन्दा राम्रो र लोभलाग्दो छ । फुलजोरमा आफ्नै स्वामित्वको झण्डै ३ बिगाह क्षत्रफल जमिनमा उनले दुई वर्षयता ‘पर्देशी एग्रो फार्म’नामको कृषि उद्यम सञ्चालन गरिरहेकी छिन् । 

 


सरकारी जागीरभन्दा कृषिमै रमाइलो मान्ने उनी जागीर खाने उदेश्यले नर्सिङ पढेकी थिईन् । तर, एकाएक उनी पछिल्लो समय व्यवसायिक कृषि अँगालेर उदाहरणीय महिला उद्यमीको परिचय बनाउँदै गएकी छिन् । गायन कलासमेत भएकी उनले बिभिन्न औपचारिक कार्यक्रमहरुमा प्रस्तुति पनि दिएको बताउँछिन् । तर, जुनसुकै पेशालाई पनि निरन्तरता दिनुपर्ने भएकाले गायनमा उनको निरन्तरता हुन सकेन । 


यसअघि ढाँका कपडा उद्योग पनि सञ्चालन गरेकी उनलाई अन्त्यमा कृषिले तान्यो र उदाहरणीय र व्यवसायिक महिला उद्यमीमा दर्ज गर्दै गएको छ । खोटाङको महेन्द्रोदय उच्च मावि ओख्रेबाट प्रवेशिका उत्तिर्ण गरेकी उनी नर्स बन्ने सपना साँचेर नर्सिङ अध्ययन सकेकी छिन् । २०६७ सालमा बिबाह गरेकी उनका एक छोरी र एक छोरा छन् । उनलाई छोराछोरी हुर्काउँदै कृषि व्यवसायमा रमाउन पाएकोमा खुसी र गर्व दुवै लागेको छ । 


बैंकर श्रीमान्की पत्नी उस्मा धेरै लगानी र मेहनेतबाट थालेको कृषि फार्मलाई कोबिड कहरले थिलथिलो बनाएकोमा भने चिन्ता लागेको छ । तर, कृषि मात्र नभएर हरेक पेशा व्यवसायलाई कोविडले नराम्ररी असर गरेको महसुस भएको छ । भन्छिन् ‘कोविड कहरको पीडालाई सरकारले कमसेकम सानो तिनो भए पनि सहयोग गरे राम्रो हुन्थ्यो भन्ने लागेको छ ।’ फर्ममा मात्र नभई अरु व्यापार व्यवसाय पनि कोविले उत्तिकै जोखिममा पारेको हुनाले सहयोग पाउने ग्यारेन्टी भने उनी देख्दिनन् । 


उनको फार्म पूर्णरुपमा अग्र्यानिक हो । बजारमा पाइने रासायनिक मलको अहिलेसम्म प्रयोग नगरेको हुनाले त्यहाँ उत्पादित तरकारी पूर्णत अग्र्यानिक भएको उनले बताईन् । गाई भैंसी, बाख्रा खसी र कुखुराको गोबर मल प्रयोग गरिएको फार्मको तरकारी अग्र्यानिक भएकाले फार्ममै आएर ग्राकहले तरकारी किन्ने गरेको उनी सुनाउँछिन् । बजारको जस्तो रासायनिक मल नलगाएर अग्र्यानिक गोबर मलको प्रयोगबाट फलेको हुनाले उनको उत्पादन ग्राहकको रोजाईमा परेको बताउँछिन् । 


युरिया र विषादिको प्रयोग अहिलेसम्म नगरेको र कहिल्यै नगर्ने बताउँने राईले ग्राहकले ताजा र अर्गानिक तरकारी खोज्दै फार्मसम्मै आएर तरकारी किन्ने गरेका छन् । लौका, घिरौला, फर्सि, काँक्रा, खोर्सानी, रायो साग, भान्टा, बोडीको खेती उनको मौसमी र बेमौसमी दुवैखाले फर्ममा लागेको छ । उपभोक्ताको मागलाई मध्यनजर राखेर उनले सुद्ध तरकारीको आवश्यकता परिपुर्ति गरिरहेको बताईन् । 


हिजोआज उस्माले आफ्नो फार्ममा तरकारीसँगै पशुपालनसमेत थालेकी छिन् । दर्जन माउ लोकल कुखुरा, ५ दर्जन हाँस, दर्जन बढी गाई र राँगा पालेकी उनले बाख्रा २६ वटा, दर्जन बँगुंर पालेकी छिन् । पशुपालन गर्दा चाहिने दाना पनि सकेसम्म उनले स्थानीय उत्पादनलाई प्राथमिक्ता दिन्छिन् । झण्डै ४२ लाख लगानी भईसकेको उनको कृषि फार्ममा डेढवर्षको अवधिमा १५ लाख हाराहारीको उत्पादन बेचिसकेको उनी बताउँछिन् ।