कोविड संक्रमण फेरि बढ्यो, २८ संक्रमित थपिँदा १ को मृत्यु

२0७८ श्रावण ७ बिहीबार
कोविड संक्रमण फेरि बढ्यो, २८ संक्रमित थपिँदा १ को मृत्यु

उदयपुर, साउन ७

उदयपुरमा फेरि कोविड संक्रमण बढेको छ । निशेधाज्ञा हटाएरसँगै मानव चहलपहल बढेपछि संक्रमण पुनः बढ्न थालेको अनुमान लगाइएको छ । जिल्ला स्वास्थ्य कार्यालय उदयपुरका अनुसार पछिल्लो २४ घण्टाभित्र एक बृद्ध संक्रमितको ज्यान गएको छ भने २८ नयाँ संक्रमित थपिएका छन् । 


ताप्ली गाउँपालिका ५ का ७८ वर्षीय बृद्ध संक्रमितको ताप्ली ५ कटहरेस्थित गाउँपालिकाको आईसोलेसन सेन्टरमा उपचारको क्रममा गएराति निधन भएको हो । यो सँगै कोविडका कारण ज्यान गुमाउनेको संख्या उदयपुरमा ५२ पुगेको छ । जसमा १६ महिला र बाँकी ३६ पुरुष छन् । 


कोविडका कारण ज्यान गुमाउनेमा त्रियुगा नगरपालिकाका ७ महिलासहित २८ जना छन् भने चौदण्डीगढी नगरपालिकाका ४ महिलासहित ९, कटारी नगरपालिकाका २ महिलासहित ४, उदयपुरगढी गाउँपालिकाका १ महिलासहित ३ छन् । त्यस्तै रौतामाई, लिमचुङबुङ र ताप्ली गाउँपालिकाका एक–एकजनाको ज्यान गएको स्वास्थ्य कार्यालय उदयपुरका प्रमुख मोहन सुबेदीले बताए । 


स्वास्थ्यका अुनसार २४ घण्टाभित्र बिभिन्न ठाउँका १५ महिलासहित २८ जना नयाँ संक्रमित देखिएका छन् । ९० जनाको एन्टीजेन परीक्षण गर्दा २७ जनामा कोविड पुष्टि भएको स्वास्थ्य कार्यालयले जनाएको छ । नयाँ संक्रमितहरुमा चौदण्डीगढीका १५, बेलकाका ६, रौतामाईका ४, कटारीका ३ र ताप्लीका १ जना छन् ।

 

अहिलेसम्म उदयपुरमा १ हजार १ सय ४६ महिलासहित २ हजार ४ सय ७१ संक्रमित निको भईसकेका छन् । त्रियुगाका ४ सय ११ महिलासहित ९ सय ५३, चौदण्डीगढीका २ सय ७२ महिलासहित ५ सय १३, बेलकाका २ सय ६ महिलासहित ३ सय ९७ र कटारीका ८५ महिलासहित २ सय ८ जना निको भएका छन् । 

 

गाउँपालिकातर्फ लिमचुङबुङका ६० महिलासहित १ सय २५, ताप्लीका ५६ महिलासहित १ सय २३, रौतामाईका ३४ महिलासहित ९४ र उदयपुरगढीका २२ महिलासहित ५८ जना निको भएको स्वास्थ्य कार्यालयका फोकलपर्सन उमेश लुईटेलले बताए । उनका अनुसार जिल्लामा हाल ९४ महिलासहित २ सय १० जना सक्रीय संक्रमितहरुको बिभिन्न आईसोलेसन सेन्टरमा उपचार भईरहेको छ । 

 

उदयपुरका ८ स्थानीयतहमध्ये उदयपुरगढी कोविडमुक्त भईसकेको छ । उदयपुरगढीका २३ महिलासहित ६१ जनामा संक्रमण देखिएकोमा १ महिलासहित ३ जनाको ज्यान गयो भने बाँकी संक्रमितहरु दुईसाताअघि नै कोविडमुक्त भईसकेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत माधव सुबेदीले बताए ।