२ फरार अभियुक्त पक्राउ

२0७८ श्रावण ५ मंगलवार
२ फरार अभियुक्त पक्राउ

उदयपुर, साउन ५

वर्षौंअघि जवरजस्ती करणी र चोरी अभियोगमा अदालतबाट सजायको फैसला सुनाइए पनि भाग्न सफल उदयपुरका २ फरार अभियुक्त सोमबार पक्राउ परेका छन् । प्रहरीले फरार अभियुक्तको खोजी तथा पक्राउ गरी कारबाही गर्ने अभियान अन्तर्गत खोजी गर्ने क्रममा उनीहरु पक्राउ परेका हुन् । 


पक्राउ पर्नेमा जवरजस्ती करणी अभियोगमा ५ वर्षअघि अदालतबाट दोषी करार भएका चौदण्डीगढी नगरपालिका ८ सिद्धिपुरका ४१ वर्षीय विजय थुलुङ रहेका छन् । उनलाई सोमबार साँझ ५ः०० बजे इलाका प्रहरी कार्यालय बेलटारबाट खटेको टोलीले पक्राउ गरेको हो । 


उनीमाथि ०७३ माघ १८ गते एक महिलालाई जवरजस्ती करणी गर्न खोजेको आरोपमा जिल्ला अदालतले दोषी प्रमाणित गरे पनि अहिलेसम्म फरार रहँदै आएकोले खोजी गर्ने क्रममा भेटेर पक्राउ गरिएको जिल्ला प्रहरी प्रमुख एसपी सुबासचन्द्र बोहराले बताए । 


त्यसैगरी बिगत १५ वर्षअघि चोरी अभियोगमा जिल्ला अदालतबाट दोषी करार भएर कैद र जरिवानाको फैसला सुनाइए पनि भाग्न सफल त्रियुगा नगरपालिका ८ का ३५ वर्षीय विजय चौधरी पनि सोमबार साँझ नै पक्राउ परेका छन् । चौधरीलाई विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालयको टोलीले पक्राउ गरेको हो । 


उनलाई ०६३ साल कात्तिक १३ गतेको फैसला अनुसार १२ दिन कैद र ७ सय ५० रुपैंया जरिवाना तोकिएको छ । अभियुक्त दुवैैलाई प्रहरीले फैसला कार्यान्वयनका लागि मंगलबार जिल्ला अदालत उदयपुर पठाएको एसपी बोहराले बताए ।