प्रहरीलाई घुस दिन खोज्दा...

२0७८ श्रावण ५ मंगलवार
प्रहरीलाई घुस दिन खोज्दा...

उदयपुर, साउन ५

प्रहरीलाई घुस दिन खोज्दा उदयपुरका एक व्यापारी पक्राउ परेका छन् । मदिराजन्य पदार्थ तथा बिभिन्न खाद्य सामग्रीसहित आईतबार राति गाईघाट बसपार्कमा पक्राउ परेको ज १ च १५४६ नं. को बोलेरो जीप छुटाउन घुस दिने प्रयास गरेको आरोपमा त्रियुगा नगरपालिका ११ गाईघाटका टीकाबहादुर बस्नेतलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । 


त्रियुयगा बसपार्कमा भेटिएको बोलेरोमा रहेका मदिरा तथा खाद्य सामग्रीको कानुनी आधार खुल्ने कुनै बील भर्पाई नभएपछि भन्सार छलीको हुनसक्ने ठहर गर्दे प्रहरीले नियन्त्रणमा लिएपछि छुटाउन बस्नेतले २५ हजार घुस दिन खोज्दा पक्राउ गरिएको जिल्ला प्रहरीले जनाएको छ । प्रहरी प्रवक्ता डिएसपी बेदप्रसाद गौतमका अनुसार अन्दाजी १ लाख २० हजार ५ सय मूल्य बराबरको भन्सार छलीको मदिरा बोकेको बोलेरो चेकजाँचको क्रममा पक्राउ परेपछि बस्नेतले सामान छुटाईदिन भन्दै २५ हजार घुस दिन खोजेका थिए । 


अज्ञातस्थलबाट आएको बोलेरोमा प्रहरीले चेकजाँच गर्दा दर्जन बढी किसमका बिभिन्न ब्राण्डका मदिरा र खाद्य पदार्थ फेला पारेको थियो । २३ प्रकारका सामग्री फेला परेको बोलेरोमा ६ कार्टुन अर्थात ७२ बोतल गोर्खा स्ट्रङ बियर, १२ काटुन अर्थात १ सय ४४ बोतल रकस्टार बियर, १२ काटुन अर्थात ३ सय ६० थान दिलवाले ब्राण्डको मदिरा, ३७५ मिलिग्राम (एमएल)को गोल्डेन वाक २४ थान र १ सय ८० एमएलको गोल्डेन वाक ८ थान फेला परेको छ । 


त्यस्तै ७५० एमएलको ८८४८ ब्राण्डका मदिरा ९ थान, ८८४८ ब्राण्डकै १८० एमएलका ३० थान, पुकार एप्पल ब्राण्डको मदिरा १८० एमएलका ६० थान पनि बरामद भएको छ । बोलेरोमा ७०० एमएलको चिसो पेय पदार्थ डिउ ४८ थान, १८० एमएलको बदाम जुस ४८ थान, २०० एमएलको फ्रुटी १ सय २० थान, २५० एमएलको बदाम जुस ७२ थान, ११ कार्टुन मोटुपातलु चाउचाउ पनि बरामद भएको छ । 


त्यसैगरी १३ पोका अमृत प्लस गुट्खा, ४ पोका कविर कम्पनीको सुर्ती, फनसेन्टर कम्पनीको बिस्कुट १ काटुन, थुक्पा १ काटुन, सन्टरफ्रुट चकलेट ३ बट्टा, आरके एप्पल १२ थान, गोल्डेन सहारा १ काटुन १२ थान, भुजा १ बोरा र आलु चिप्स २ काटुन पनि बरामद भएको प्रहरी भनाई छ ।  


बरामद सम्पूर्ण सामग्री भने आवश्यक कारबाहीका लागि करदाता सेवा कार्यालय गाईघाटको जिम्मा लगाइएको गौतमले बताएका छन् । बस्नेतलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखेर ‘अभद्र व्यवहार गर्न खोज्ने सम्बन्धी’ मुद्धा दर्ता गरेर कारबाही अघि बढाइएको गौतमले बताएका छन् ।