रगत चल्ने, नगद चल्ने, पानी किन नचल्ने ?

२0७८ श्रावण ४ सोमबार
रगत चल्ने, नगद चल्ने, पानी किन नचल्ने ?

उदयपुर, साउन ४

रगत र नगद चल्ने, पानी नचल्ने ? भन्ने नाराका साथ नेत्रबिक्रम चन्द (बिप्लब) नेतृत्वको नेकपाले जातीय बिभेदविरुद्ध खवरदारी अभियान थालेको छ । पार्टीनिकट विद्यार्थी संगठन अनेरास्ववियु (क्रान्तिकारी) ले जातीय बिभेदविरुद्ध देशव्यापी अभियानको क्रममा गाईघाटमा आईतबार साँझ विरोध प्रदर्शन भएको छ ।


अखिलको केन्द्रीय कार्यक्रम अनुसार सदरमुकाममा जातीय छुवाछुत तथा भेदभावविरुद्ध बिरोध प्रदर्शन र कोणसभा आयोजना गरेको अखिल उदयपुरले जनाएको छ । ‘रगत र नगद चल्ने पानी नचल्ने ?’ भन्ने नारासहित आयोजित विरोध प्रदर्शनमा अपराधीलाई कारबाही गर, दलाल संसदीय व्यवस्था मुर्दावाद, वैज्ञानिक समाजवाद जिन्दावाद लेखिएका प्लेकार्ड र व्यानर बोकेका विद्यार्थीहरुले बजार परिक्रमा गरेका थिए । 


परिक्रमापछि गाईघाट लोकतान्त्रिक चोकमा पुगेर कोणसभामा परिणत भएको कार्यक्रममा अखिल क्रान्तिकारी उदयपुरका अध्यक्ष देहज बिष्टलगायत विद्यार्थी नेताहरुले सम्बोधन गरेका थिए । उनीहरुले बिभेदविरुद्ध अनवरत संघर्ष गर्ने प्रतिबद्धता जनाए । छुवाछुत र जातीय बिभेद कार्यमा सरकार नै संलग्न भएकाले समाजबाट हटाउन गाह्रो भएको बताउँदै मन्त्री नै पीडकलाई हिरासतबाट छुटाउने काममा लाग्नुले स्वयं सरकार जातीय भेदभावको पक्षमा देखिएको नेताहरुको ठहर छ । 


केही समयअघि राजधानीमा भएको छुवाछुत घट्नामा तत्कालीन शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठले पीडकलाई छुटाउन आफै प्रहरी कार्यालय उपस्थित भएको विषयले छुवाछुत र जातीय बिभेद कम गर्न सरकार नै बाधक रहेको उनीहरुको भनाई थियो । अखिल क्रान्तिकारीले जातीय विभेदलगायत सबै खाले उत्पीडनबाट मुक्ति पाउन वैज्ञानिक समाजवाद स्थापना गर्नुपर्ने निश्कर्ष निकालेको जनाएको छ ।