दिनभर अघोषित ‘लोडसेडिङ’ले कुलमानको सम्झना

२0७८ श्रावण २ शनिबार
दिनभर अघोषित ‘लोडसेडिङ’ले कुलमानको सम्झना

उदयपुर, साउन ३

उदयपुर सदरमुकाम गाईघाटमा शनिबार दिनभर विद्युत अवरुद्ध हुन पुग्दा धेरैले कुलमान घिसिङर्लाइ सम्झे । नेपाल विद्युत प्राधिकरणका तत्कालीन प्रबन्ध निर्देशक घिसिङले देशलाई लोडसेडिङमुक्त गरेका कारण केहीक्षण विद्युत वअरोध हुदा पनि नेपाली जनताले उनलाई सम्झने गरेका छन् । 


शनिबार विहानदेखि झमक्कै साँझ पर्दासम्म विद्युत नआएपछि त झन् उनलाई नसम्झने कोही थिएनन् । धेरैले प्राविधरकणमा घिसिङलाई निरन्तरता नदिने ओली सरकारलाई धिकार्ने र सराप्नेसम्मको काम गरेको पनि सुनियो । तर, शनिबार बिजुली नआउनुमा भने लोडसेडिङ नभएर मर्मत गर्नुपर्ने कारण रहेको बितरण केन्द्र गाईघाटले जनाएको छ । 


वितरण केन्द्रका अनुसार कुलेखानीस्थित रहेको मुख्य जलासयबाट आएको लहान–गाईघाट प्रशारण लाईनको ३३ हजार किलोभोल्ट तारमा समस्या आएकाले विद्युत अवरुद्ध हुन पुगेको हो । लाहानदेखि ल्याइएको लाईनको जलजलेस्थित सबस्टेशनमा आएको खरावी मर्मत गर्नुपर्दा विद्युत प्रवाह बन्द गरिएको केन्द्रले जनाएको छ । 


एकसाताअघि बिग्रेको सबस्टेशनको मर्मत गर्न शनिबारको दिन पारिएको तर, निरन्तर वर्षा भएकाले मर्मतमा १२ घण्टा समय लागेको केन्द्रले जनाएको छ । मुख्य प्रशारण लाईन भएका कारण सबस्टेशनमा मर्मत गर्दा गाईघाटसँगै खोटाङ पनि दिनभर विद्युतविहीन बन्न पुगेको हो ।


दिनभरजसो मुसलधारे वर्षा भएकाले विद्युत अवरोध भए पनि शनिबार गर्मी भने भएन । पानी नपरेको भए विद्युतविहीन भएर बस्नुपर्दा गर्मीले जनजीवन नराम्ररी प्रभावित हुने संभावना थियो । ‘धन्न दिनभरी जसो पानी परेकाले विजुली नहुँदा पनि गर्मी सहनु परेन’ गाईघाटकी रेनुका राईले भनिन् ‘नत्र गर्मीले धेरै समस्या हुन्थ्यो ।’


शनिबार परेकाले विद्युत नहुँदा सरकारी कामकाज गर्नु नपरे पनि पत्रकार र व्यक्तिगत काममा भने धेरै प्रभाव परेको छ । पत्रकारहरुले विद्युत अवरोधकै कारण दिनभर सूचना संकलन र संप्रेसन गर्न पाएनन् । विद्युतकै भरमा चल्ने ल्यापटप, कम्प्युटर, मोवाईल विद्युत अवरोधका कारण चार्ज गर्न नपाउँदा सूचना संकलन र संप्रेसन गर्न नपाएको मुलुकी दैनिकका संपादक बुद्धिकुमार राईले बताए । 


त्यसैगरी विद्युत अवरोधले स्थानीय पत्रपत्रिका, टेलिभिजन, रेडियो र युट्युवलगायत सञ्चारमाध्यामहरु नराम्ररी प्रभावित भएका छन् । एभिन्युज टेलिभिजनका संबाददाता भोटराज राईका अनुसार विद्युत नहुँदा सूचना संकलन र समाचार लेखनमा बाधा परेको छ । फेसबुक, ट्वीटर र इस्टाग्रामजस्ता सामाजिक सञ्जाल चलाउनेहरुले पनि विद्युत अवरोधका काण दिनभरी सूचना पाउन बञ्चित हुनु परेको बताएका छन् ।