एनसेल र एमसीसीलाई छाड्दैनौंः बिप्लब

२0७८ असार ३१ बिहीबार
एनसेल र एमसीसीलाई छाड्दैनौंः बिप्लब

महेश्वर चामलिङ 
उदयपुर असार ३१

राष्ट्रघाती मिल्लेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) र अर्बौं कर छली गर्ने एनसेललाई नेकपा बिप्लबले नछाड्ने भएको छ । बिहीबार आयोजित पत्रकार सम्मेलनमा नेत्रविक्रम चन्द (बिप्लब) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले अमेरिकन कार्यक्रम एमसीसी र एनसेललाई त्यत्तिकै नछाड्ने चेतावनी दिएको हो । 


पार्टीमाथि लागेको प्रतिबन्ध फुकुवापछि असार २७ देखि २९ गतेसम्म जिल्लाको पुरानो सदरमुकाम उयदपुरगढीमा सम्पन्न औपचारिक बैठकका निर्णय सार्वजनिक गर्न गाईघाटमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै पार्टीका उदयपुर इन्चार्ज तथा केन्द्रीय सदस्य बिबेक कुमालले नेपाल र नेपाली जनताका लागि राष्ट्रघाती र जनघाती सिद्ध हुने एमसीसी कुनै हालतमा कार्यान्वयनमा ल्याउन नदिने बाचा गरे । 


उनले राज्यलाई तिर्नुपर्ने अर्बौं कर नतिर्ने एनसेलाई पन िपार्टीले कुनै हालतमा नछाड्ने नीति लिएको बताए । पार्टी बैठकको निर्णय सार्वजनिक गर्दै पत्रकार सम्मेलनमा कुमालले राष्ट्रघाती एमसीसी र कर छली गर्ने एनसेलविरुद्ध अनवरत संघर्ष गर्ने तथा चुच्चे नक्शाको कार्यान्वयन तथा राष्ट्रियता र जनजीविकाको विषयमा पार्टी निरन्तर लागिरहने प्रतिबद्धता जनाए । 


कुमालका अनुसार २ वर्षसम्मको प्रतिबन्ध फुकुवापछि बसेको खुल्ला र औपचारिक बैठकले बिभिन्न १५ बुँदे निर्णय पारित गरेको छ । जसमा नेपालमा संसदीय व्यवस्था असफल सिद्ध भईसकेकाले अव बिकल्पको खोजी गर्दा वैज्ञानिक समाजबादी व्यवस्था स्थापना गर्नुपर्ने ठहर पार्टीले लिएको छ । नेकपाले एकीकृत जनक्रान्तिको संघर्षबाट संसदीय व्यवस्थाको बिकल्प खोज्दै सबै राजनीतिक दल संलग्न संयुक्त प्रगतिशील सरकार गठन गरी जनमत संग्रहमा जानुपर्ने धारणा पारित गरेको छ । 


‘नेपालमा अहिलेसम्म लागू भएको पटकपटकको संसदीय व्यवस्था असफल सिद्ध भईसक्यो’ कुमालले भने ‘त्यसैले अव यसको बिकल्पको खोजी गर्दै वैज्ञानिक समाजबादको दिशातर्फ अघि बढ्नु पर्छ । त्यसका लागि जनमत संग्रहमार्फत नयाँ व्यवस्था स्थापना हुनुपर्छ ।’ जनमत संग्रह गर्नुअघि सबै राजनीतिक दलहरु सम्मिलित संयुक्त प्रगतिशील सरकार गठन गर्नुपर्ने धारणा पनि पार्टीको रहेको कुमालले बताए । 


वैज्ञानिक समाजबाद प्राप्त गर्नका लागि पार्टीले गाउँ र सहर जोड्ने मध्यमवर्गलाई उपयोग गर्दै, किसान र मजदुरको सहयोग लिएर एकीकृत जनक्रान्तिलाई उचाई दिने ‘रोडम्याप’ पार्टीको रहेको कुमालले बताए । ००७ सालदेखि अहिलेसम्मको संसदस्य अभ्यास, १० वर्षे जनयुद्ध, त्यसअघि र पछिका बिभिन्न आन्दोलन र संघर्षहरुको संश्लेषण गर्दै नेपाली समाज सुहाउँदो व्यवस्था नै वैज्ञानिक समाजबाद भएको ठहर पार्टीको रहेको उनको तर्क छ । 


एकीकृत जनक्रानितको माध्यामबाट स्थापना हुने वैज्ञानिक समाजबादमा बर्गबिहीन समाज निर्माण हुने र त्यसमा शिक्षा, स्वास्थ्यलगायत आधारभूत कुराहरु जनतालाई निशूल्क प्राप्त हुने पार्टीको निश्कर्ष छ । 


पार्टीको आगामी आन्दोलनको विषयमा पत्रकारहरुको जिज्ञासामा उनले ओली सरकारसँग सुरु भएको आफुहरुको वार्तालाई देउवा सरकारले निरन्तरता दिने नदिनेमा त्यो कुरा भर पर्ने उनले बताए । हिजो थालिएको वार्ता ओलीसँग नभएर सरकारसँग गरेको भन्दै त्यसलाई जुनसुकै सरकारले पनि निरन्तरता दिनुपर्ने हुँदा देउवाले पनि निरन्तरता दिएर टुंग्याउनुपर्ने पार्टी धारणा उनले व्यक्त गरे । 


पार्टीमाथिको प्रतिबन्ध फुकुवा, नेता कार्यकर्तामाथि लगाइएको झुटा मुद्धा खारेज र पक्राउ राजबन्दीहरुलाई निशर्त रिहाई गरी मुख्य ३ बुँदामा केन्द्रीत भएर पार्टीले सरकारसँग वार्ता थालेको भन्दै उनले पहिलो बुँदा मात्र कार्यान्वयन भएको बताए । 


न्यूनतम ३ मध्ये दोस्रो र तेस्रो बुँदालाई सरकारले कार्यान्वयनमा नल्याएको भन्दै उनले रोल्पा र दाङमा ३ ३ जना तथा बाजुरामा १४ नेता कार्यकर्ता छुटे पनि उनीहरु अदालती प्रक्रिया पुरा गरेरै छुटेकाले सरकारले छाडेको भन्न नमिल्ने बताए । ‘पार्टीले राखेका ३ शर्तमध्ये प्रतिबन्ध फुकुवाको मात्र पुरा भएको छ । झुटा मुद्धा खारेज र राजबन्दीको निशर्त रिहाईजस्ता दुई बुँदा बाँकी नै छन्’ उनले भने ‘रोल्पा, दाङ र बाजुरामा छुटेका हाम्रा नेता कार्यकर्ता अदालती प्रक्रिया पुरा गरेरै छुटेका हुन् । फरक यत्ति छ, यसअघि अदालतले छाड्दा तत्काल पक्राउ गरेर फेरि थुनामा राख्थ्यो, अहिले त्यसो गरेन ।’


नेता सुदर्शनलगायत देशभर अझै १ सय ४३ जना आस्थाका बन्दीहरु बिभिन्न कारागारमा अझै थुनामा रहेको र उनीहरुलाई बिनाशर्त रिहा गर्न कुमालले सरकारको ध्यानाकर्षण गराए । त्यसका लागि देउवा सरकारसँग वार्तालाई निरन्तरता दिन पार्टीले प्रयासस्वरुप भर्खरै सत्ता साझेदार दल नेकपा (माओबादी केन्द्र)का अध्यक्ष प्रचण्ड र एमाले नेता माधव नेपालसँग महासचिव बिप्लबले भेटघाट गरिरहेको उनले बताए । 


पार्टी जिल्ला सेक्रेटरी लक्ष्मण पौड्यालले अहिलेको दलाल संसदीय व्यवस्थाको बिकल्प वैज्ञानिक समाजबाद मात्र भएकाले त्यसको स्थापना गर्न पार्टी तल्लोतहबाटै अघि बढ्ने योजनामा रहेको बताए । बैठकले समाजबाद लक्षित कार्यक्रमलाई ठोस गर्न सांगठनिक जिम्मा तोक्दै जिल्लामा युवा, विद्यार्थी, राजनीतिक दल, बुद्धिजीवि, पत्रकार, व्यवसायीलगायत सबैपक्ष सम्मिलित प्रगतिशील संयक्त सरकार बनाएर जनमत संग्रहबारे व्यापक बहसको थालनी गर्ने निर्णय भएको सेक्रेटरी पौड्यालले बताए । 


बैठकले कोविडबाट बँच्न र बचाउँन सरकारले जनतालाई तत्काल निशूल्क खोप उपलब्ध गराउन, कोविड प्रतिकार्यमा खट्ने स्वास्थ्यकर्मीलाई जोखिम भत्ता दिन माग गर्दै त्यस कार्यमा पार्टी नेता कार्यकर्ताले सहजीकरण गर्ने, जिल्लामा एउटा पुस्तकालयलगायत बिभिन्न रचनात्मक कार्यक्रम गर्ने, वर्षायाममा प्राकृतिक प्रकोपबाट सुरक्षित रहन पूर्व तयारी र घट्नापछि उद्धार र राहतका कार्यक्रम ल्याउन पनि सरकारको ध्यानाकर्षण गराएको उनले बताए । 


उनले वैज्ञानिक समाजबाद उन्मुख नीति कार्यक्रम पार्टीले ठोस गरिसकेको बताउँदै त्यससँग बिचार मिल्ने राजनीतिक दलहरुसँग सहकार्य र कार्यगत एकताका लागि छलफल भईरहेको बताए । मोहन बैद्य नेतृत्वको एकीकृत नेकपा, आहुती नेतृत्वको वैज्ञानिक समाजबादी कम्युनिष्ट पार्टी, ऋषि कट्टेल नेतृत्वको नेकपासँग कार्यगत एकताबारे छलफल निरन्तर चलिरहेको बताए । उनीहरुसँग कार्यक्रम मिलेमा कार्यगत एकता गर्ने र सिद्धान्त मिले पार्टी एकता गर्नेसम्मको योजना बनाइएको पार्टीले जनाएको छ ।  

क्याप्सनः पत्रकार सम्मेलनमा केन्द्रीय सदस्य कुमाल । तस्विरः महेश्वर