अस्पताललाई स्वास्थ्य सामग्री दिएर मनाए प्रधानले जन्मदिन

२0७८ असार ३१ बिहीबार
अस्पताललाई स्वास्थ्य सामग्री दिएर मनाए प्रधानले जन्मदिन

बेलटार, असार ३१

समय आडम्बरीको छ, म्याद नाघेको पिठो बेच्न आकर्षक प्रचार प्रसारमा जोड दिने 'ट्रेण्ड' बसिसकेको छ । मपाँइत्व दर्शाउन राष्ट्रपति, प्रधानमन्त्री, मन्त्री, पार्टी नेता, उच्च ओहदाका व्यक्ति र समाजका लब्ध प्रतिष्ठितहरुसँग गोरु बेचेको साईनो नभए पनि टाँसिएर फोटो खिच्ने र फेसबुक वालमा राख्ने होड नै चलेको छ । 


त्यस्तै चलेको अर्को व्यापक प्रचलन जन्मदिनको शुभकामना, उपचारकै क्रममा रहेका विरामी मरिसकेको भन्दै श्रद्धाञ्जली पोष्ट गर्न त्यत्तिकै हतार गर्ने पनि हो । धेरै मान्छेहरु जन्मदिनमा आडम्बरका साथ खर्च गर्ने, पाटी खाने कार्य गर्दा झैझगडा र लफडाबाजीसम्म हुने गरेको छ । 


यस्तो प्रबृत्ति झाँगिएकै बेला चौदण्डीगढी नगरपालिकाका एक समाजसेवी युवा भने जन्मदिन पारेर कोभिड अस्पताललाई स्वास्थ्य सामग्री सहयोग गर्न पुगेका छन् । चौनपा ६ बेल्टारको पुष्पलाल चोक बस्ने समाजसेवी ज्ञानेन्द्र प्रधानले उदयपुर कोभिड अस्पताल र त्यहाँ उपचाररत विरामीलाई आवश्यक बिभिन्नखाले स्वास्थ्य सामग्री र फलफुल बितरण गरेका हुन् । 


जन्मदिनको अवसर पारेर उनले बुधबार २५ लिटर सेनीटाइजर, १ थान स्प्रे मेशिन, २० किलो फलफुल, ५ सय थान मास्क, ५ सय जोर पञ्जा, ५ सय थान भिटामिन ‘सी’ र ५ सय थान सेनेटरी प्याड सहयोग गरेका हुन् । प्रधानले अस्पताल परिसरमै आयोजित एक कार्यक्रममा चौदण्डीगढी नगरप्रमुख खगेन्द्र राईलाई उक्त सामग्री हस्तान्तरण गरे । 


नेपाली कांग्रेस निकट युवा उद्यमशिल विकास तथा प्रशिक्षण समन्वय समिति केन्द्रीय सदस्यसमेत रहेका प्रधान यातायात व्यवसायी पनि हुन् । कोविड कहरले समाज थिलथिलो भईरहेका बेला सानै भए पनि सहयोग गर्ने उदेश्यले उनले स्वास्थ्य सामग्री बितरण गरेर जन्मदिन मनाएको बताए । 


जन्मदिन मनाउने नाममा फजुल खर्च गर्नुको साटो कोविड अस्पताललाई सहयोग गरेर रचनात्मक, सृजनसिल र उदाहरणीय रुपमा प्रधानले मनाएको जन्मदिन सैली समाजका लागि पनि प्रेरणादायी भएको मेयर राईले प्रतिक्रिया दिए ।