त्रियुगा उद्योग बाणिज्य संघका अध्यक्ष निलम्बित

२0७८ असार ३0 बुधबार
त्रियुगा उद्योग बाणिज्य संघका अध्यक्ष निलम्बित

उदयपुर, असार ३०

त्रियुगा उद्योग बाणिज्य संघ गाईघाटका अध्यक्ष गजेन्द्र भगत आर्थिक अपचलन गरेको आरोपमा आफ्नै समितिबाट कारबाहीमा परेका छन् । बुधबार विहान पत्रकार सम्मेलन आयोजना गरी संस्थाको बहुमत कार्यसमिति बैकठले भगतलाई निलम्वनको कारबाही गरेको जानकारी दिएको हो । 


अध्यक्ष भगतलाई संस्थाको रकम हिनामिना गरेको आरोपमा बहुमत सदस्यले कारबाही गरेको उपाध्यक्ष रमेश रसाईलीले बताए । रसाईलीले भगत संस्थागत हिसावलेभन्दा व्यक्तिगत रुपमा चल्दै आएको र पटक पटक वहुमत सदस्यले सुध्रन सुझाव दिदा बेवास्ता गरेकाले कारबाही गर्नुपरेको बताए । 


भगतमाथि संस्थाको नाममा प्राप्त ३ लाख २० हजार २ सय ५ रुपैया रकम हिनामिना गरेको आरोप संघले लगाएको छ । भगतले आर्थिक वर्ष २०७४÷७५ देखि ०७५÷७६ र ०७६÷०७७ सम्मको रकम संस्थाको खातामा जम्मा नगरी अनियमित गरेको आरोपमा निलम्बन गर्नुपरेको रसाईलीले बताए । 


संघको विधानको परिच्छेद ४ धारा ४(४) को खण्ड (ङ) ४ बमोजिम कारवाही गरिएको उपाध्यक्षले बताए । कारबाही अन्तरगत भगतलाई ३ वर्षसम्म संस्थाको साधारण सदस्यसमेत नरहने गरी निलम्वन गरिएको छ । भगतले संस्थालाई प्राप्त सेवा सुविधाप दुवरुयोग गर्दै व्यक्तिगत प्रयोगमा लगाउने आरोप पनि संघले लगाएको छ । 


कोविड माहामारीबाट बँच्न संघलाई दिइएको भेरोसिल खोप भगतले संस्थाको बैठक निर्णयबिना तोकिएका व्यक्तिलाई दिनुको साटो अन्यलाई प्रयोग गर्न दिएर दुरुपयोग गरेको उनीमाथि छानविन समितिको प्रतिवेदनले देखाएको वरिष्ट उपाध्यक्ष रसाईलीले बताए । 


१२ सदस्यीय कार्यसमितिमा ९ जनाको हस्ताक्षरसहित बहुमतले अध्यक्ष भगतलाई कारबाही गरेको पत्रकार सम्मेलनमा जानकारी दिइएको छ । व्यक्तिगत रुपमा संस्थालाई चलाउँदै आएका भगतलाई सुध्रन पटकपटक मौखिक र लिखित सुझाव दिदा पनि अपारदर्शी हुने, आर्थिक लेखा जोखा नगर्ने, नियमित बोलाउनुपर्ने साधरणसभा नबोलाउने तथा संस्था नविकरणसमेत नगरेकाले बाध्य भएर कारबाही गर्नुपेको बहुमत सदस्यको दावी छ । 


भगतले भने संस्थाले आफुमाथि गरेको कारबाही अवैधानिक भएको दावी गरेका छन् । बुधबारै साँझ जवाफी पत्रकार सम्म्ेलन गर्दै भवतले आफुले कुनै रकम हिनामिना नगरेको र सबै हरहिसाव दुरुपयोग नगरेको बताए । उनले संस्थाको लेखा परीक्षण प्रतिबेदन प्रस्तुत गर्दै आम्दानी र खर्च दुवै सार्वजनिक गरे ।