त्रियुगा नदीमा बेवारिसे लास 

२0७८ असार २९ मंगलवार
त्रियुगा नदीमा बेवारिसे लास 

उदयपुर, असार २९

त्रियुगा नदीको बीचमा मंगलबार विहान बेवारिसे लास फेला परेको छ । चौदण्डीगढी नगरपालिका ९ ज्यामिरेस्थित त्रियुगा नदी बीचमा डुबिरहेको अवस्थामा एक पुरुषको बेवारिसे लास फेला परेको हो । 


विहान अन्दाजी ११ः०० बजे नदीमा एक व्यक्ति मृत अवस्थामा रहेको भन्ने स्थानीयकोे खवरपछि इलाका प्रहरी कार्यालय बेलटारबाट खटेको टोलीले लास फेला पारेको हो । इप्रका बेलटारका निरीक्षक कमाण्डमा खटेको टोलीले नदी बीचमा मृत अवस्थामा अन्दाजी ५० ५५ वर्षको मधेसी मुलको सेतो कपाल, पहेँलो भेस्ट लगाएको, कालो झोला भिरेको र कम्मरमा डोरी बेरेको अन्दाज ५ फुट उचाईको पुरुषको लास फेला परेको छ । 


बेवारिसे शव निकालेर प्रहरीले पोष्टमार्टमका लागि जिल्ला अस्पताल पठाएको जनाएको छ । जिल्ला प्रहरी प्रवक्ता डिएसपी बेदप्रसाद गौतमले लासो बारे सोधीखोजी र अनुन्धान भईरहेको बताए । प्रहरीले नदी तर्ने क्रममा बाढीले बगाएर मृत्यु भएको हुनसक्ने अनुमान गरेको छ । 


केहीदिनयताको निरन्तर वर्षाले त्रियुगामा आएको बाढीले बगाएर उनको मृत्यु भएको अनुमान प्रहरीले गरेको छ । ज्यामिरे चौदण्डीगढी ९ नं. वडा कार्यालय रहेको तथा १० नं. वडा हडियाबासीहरु नगरपालिका केन्द्र बेलटार बजार आउजाउ गर्ने मुख्य नाका हो । 


नगरपालिका र वडा कार्यालय आउजाउ गर्ने मुल नाका भए पनि त्रियुगामा पुल नहुँदा वर्षेनी डुंगा चलाएर वारपार गर्नुपर्ने बाध्यता नगरबासीलाई छ । यसवर्ष भने भर्खरै वर्षा सुरु भएकाले डुंगा सञ्चालनमा आईसकेको छैन । डुंगा नभएकाले नदी तर्ने क्रममा ती व्यक्तिको डुबेर मृत्यु भएको हुनसक्ने अनुमान स्थानीले गरेका छन् ।