पहिरोसम्बन्धी नेपालमै पहिलो नमूना अभ्यास प्रदर्शनी उदयपुरमा 

२0७८ असार २४ बिहीबार
पहिरोसम्बन्धी नेपालमै पहिलो नमूना अभ्यास प्रदर्शनी उदयपुरमा 

गाईघाट, असार २४

सदरमुकाम गाईघाटमा पहिरोबाट बँच्ने उपायबारे बिहीबार नमूना अभ्यास प्रदर्शनी (सिम्युलेसन) गरिएको छ । त्रियुगा नगरपालिका ११ बरुवा खोलाछेउ चप्पन जंगलको कृतिम पहिरो बनाई उद्धार अभ्यास प्रदर्शनी गरिएको हो । 

 

मनसुनी वषाको बेला संभावित पहिरोबाट बँच्न जनचेतना जगाउने उदेश्यले वल्र्डभिजन इन्टरनेशनलको साझेदार संस्था जाल्पा एकीकृत विकास समाज (जिड्स) ले पहिरो अभ्यास प्रदर्शनी गराएको हो । अभ्यासमा सशस्त्र प्रहरी बलका जवान तथा पहिरोसम्बन्धी जारी ३ दिने प्रशिक्षक प्रशिक्षण तालिमका सहभागीहरुले सिम्युलेसनमा भाग लिएका थिए ।


प्रदर्शनी क्रममा त्रियुगा नगरपालिका १० मा गएको पहिरोमा परी वेपत्ता ५४ वर्षीय अमानसिंह राई तथा घाईते दुईजनाको उद्धार गरी उपचारार्थ अस्पताल लगिएको नाटक देखाइएको थियो । घाईते भएकाहरुलाई सशस्त्र प्रहरी बलका निरीक्षक राजेन्द्र बस्नेत नेतृत्वको टोलीले घट्नास्थलबाट उद्धार गरी अस्पताल लगेको तथा बेपत्ताको खोजी गरेको अभियन गरिएको थियो । 


वर्षायाममा पहाडी भेगमा पहिरोको उच्च जोखिम हुने भएकाले त्यसको पूर्व तयारी तथा बँच्ने उपायबारे जानकारी दिने उदेश्यले वल्र्डभिजनको सहयोग र जिल्ला विपत्त व्यवस्थापन समितिको समन्वयमा जिड्सले सिमुलेशन गरेको जिड्सका परियोजना संयोजक अजयकुमार साहले बताए । साहका अनुसार बुधबारदेखि सुरु ३ दिने ‘जिल्लास्तरीय प्रशिक्षक प्रशिक्षण तालिम’कै सिलसिलामा पहिरोबाट बँच्न तथा पूर्व तयारी, घाईतेको उद्दार र उपचारबारे नमूना अभ्यास प्रदर्शन गरिएको हो । 


जिड्सका अध्यक्ष पुष्पराज पोखरेलले पहिरोसम्बन्धी सिम्युलेसन नेपालमै यो पहिलो पटक भएको बताए । उनले यसअघि आगलागी, बाढी र भूकम्पबारे धेरै चोटी सिम्युलेसन गरिएको तर, पहिरोबारे भने यो नै पहिलो पटक भएको बताए । उदयपुरको अधिकाँश भूभाग पहाडमा पर्ने भएकलो पहिरोको जोखिम धेरै रहेकाले जिड्सले पहिरोलक्षित कार्यक्रम अघि सारेको पोखरेलले बताएका छन् । 


जिड्सले वल्र्डभिजन, जिल्ला विपत व्यवस्थापन समिति र स्थानीयतहहरुको समन्वयमा ‘पहिरो सामना किताव परियोजना’ सञ्चालनमा ल्याएको छ । परियोजना अन्तरर्गत प्रशिक्षक प्रशिक्षण तालिम, पहिरो सिमुलेशन आयोजना गरिएको हो । जस अनुसार ३ दिने पहिरो सम्बन्धी प्रशिक्षक प्रशिक्षण तालिममा पहिरो विशेषज्ञ रामकुमार दाहालले सहजीकरण गरिरहेका छन् ।  विभिन्न संघसंस्था, शिक्षक, नेपाल प्रहरी, सशस्त्र प्रहरी, विद्यार्थी र पत्रकारसहित २५ जनाको सहभागिता रहेका तालिममा विशेषज्ञ दाहालले पहिरो जोखिम व्यवस्थापन, विपत जोखिम व्यवस्थापन, विपदसमवन्धी अवधारणा र नेपालमा विपदको अवस्था, विपत व्यवस्थापनका चक्र र जलवायु परिवर्तनको कारण, प्रभाव, असर र अनुकुलनवारेमा जानकारी दिदैछन् । 


उनले विपतसम्वधी स्थानीय, प्रदेश र संघीयतहमा भएका विपत व्यवस्थापनसँग सम्बन्धित नीति, रणनीति, भूकम्प, बाढी, पहिरोका कारण हुने असर र त्यसको न्यूनिकरण व्यवस्थापनका साथै कृतिम घट्ना अभ्याससमेत तालिममा गराउने कार्यतालिका रहेको कार्यक्रम संयोजक साहले बताए । तालिमपश्चात सहभागीहरु पहिरो जोखिम स्थानहरुमा गएर पहिरोसम्बन्धी कृतिम नमूना अभ्यास र प्रदर्शनी गर्ने तथा वास्तविक पहिरो आएमा त्यसबाट बँचाउने कार्यमा खट्नुपर्ने संस्थाले जनाएको छ ।