यायोक्खा अध्यक्ष राईको निधन

२0७८ असार २१ सोमबार
यायोक्खा अध्यक्ष राईको निधन

उदयपुर, असार २१

किरात राई यायोक्खा उदयपुरका अध्यक्ष बलधन राईको निधन भएको छ । जिल्लाको चौदण्डीगढी नगरपालिका ६ समावेसी लाइन निवासी ४७ वर्षीय राईको सोमबार विहान धरानस्थित बिप स्वास्थ्य विज्ञान प्रतिष्ठानमा निधन भएको हो । 


टाईफाईडबाट ग्रस्त अध्यक्ष राईलाई उपचारका लागि सोमबार विहान मात्र धरान लगिएकोमा अस्पतालले मृत घोषित गरेको परिवारलाई उद्धृत गर्दै चौदण्डीगढी नगरप्रमुख खगेन्द्र राईले बताए । उनका अनुसार केहीदिनयता ज्वरो आएपछि उनको एन्टीजेन परीक्षण गर्दा कोविड रिपोर्ट नेगेटिभ आएको थियो ।


'अस्ती मात्र मलाई फोन गरेर कोविडको लक्षण देखिएको भन्दै जँचाउन आग्रह गरे' मेयर राईले भने 'त्सपछि हिजो मात्र कोविड अस्प्तालसम्म हामी हिडेरै गई परीक्षण गर्दा रिपोर्ट नेगेटिभ देखिएको थियो । तर, राति स्वास्थ्य अवस्था जटिल भएपछि आज विहानै उपचार गर्न लगेकोमा अस्पताल पुर्याउँदा मृत्यु भएछ ।'


यायोक्खाका बहालवाला अध्यक्ष रहेका राई समाजबादी पार्टीका जिल्ला उपाध्यक्ष र आदिवासी जनजाति महासंघ उदयपुरका पनि उपाध्यक्ष हुन् । राईका श्रीमती एक छोरा र दुई छोरी रहेका छन् । 

राईको निधनप्रति समाजबादी पार्टी, यायोक्खा र आदिवासी जनजाति महासंघले दुःख व्यक्त गरेका छन् । उनको निधनले पार्टी, संगठन र समाजलाई अपुरणीय क्षति पुगेको आदिवासी जनजाति महासंघका संस्थापक अध्यक्ष छिवाहाङ राईले बताएका छन् ।