कटारीको बजेट ६९ करोड

२0७८ असार १८ शुक्रबार
कटारीको बजेट ६९ करोड

कटारी, असार १८

मन्त्रालयले तोकेको असार १० गतेभित्र सक्नुपर्ने नगरसभा एकसाता ढिलो गर्दै कटारी नगरपालिकाले शुक्रबार बजेट तथा नीति कार्यक्रम पारित गरेको छ । जिल्लाका ४ नगर र ४ गाउँपालिकामध्ये अन्य ७ वटाले गत १० गते नै बजेट ल्याईसके पनि कटारीले विशेष कारण देखाउँदै सातादिन ढिला बजेट ल्याएको हो । 


कटारी नगरसभाले आगामी आर्थिक बर्ष ०७८७९ का लागि ६९ करोड ०९ लाख २० हजार ५ सय ५० रुपैंयाको बजेट पारित गरेको जनाएको छ । विहिबार सुरु नगर अधिवेशनले सामान्य छलफलपछि बजेट तथा नीति कार्यक्रम पारित गरेको शुक्रबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।


पत्रकार सम्मेलनमा नगरपालिकाका प्रवक्ता तथा वडा नम्बर ४ का वडाध्यक्ष कृष्णराज दनुवारले आयतर्फ संघीय सरकारबाट प्राप्त हुने ४९ करोड ५९ लाख, प्रदेशबाट ३ करोड ६९ लाख १७ हजार र आन्तरिक स्रोतबाट १८ करोड ८३ लाख ९९ हजार ५ सय ५० को अनुमानित आय पारित गरेको बताए । उनले नगरका १४ वटै वडालाई प्रतिवडा ७० लाखका दरले वडागत बजेट बिनियोजन गरिएको जानकारी दिए । 


नगरका प्रमुख मेयर ज्ञानेन्द्र श्रेष्ठले आगामी वर्ष ५ नम्बर वडाका अति विपन्न बलबहादुर थापा मगरकी श्रीमति दिलमाया थापा मगर र चमेली तामाको परिवारलाई बास बस्ने व्यवस्था मिलाउन आवश्यक जग्गा र घर निर्माण गरिदिने योजना पास गरेको बताए ।


उनले नगरको पहाडी भेगका ५ वडाहरु ९, १०, ११, १३ र १४ लाई टुक्राएर छुट्टै गाउँपालिका निर्माण गर्ने स्थानीयहरुको माग बमोजिम सभाले छलफल गरी आवश्यक प्रक्रिया अघि बढाउन जिल्ला समन्वय समिति, प्रदेश सरकार र संघीय सरकारसमक्ष सिफारिस गर्ने नीति पास गरेको पनि बताए । 


मेयर श्रेष्ठले कोविड रोकथाम कार्यक्रमका लागि १ करोड बजेट छुट्टाएको बताउँदै प्रत्येक स्वास्थ्य केन्द्रबाट एन्टिजेन परीक्षण गर्दै नगरवासीहरुलाई कोविडमुक्त बनाउने योजना पनि पास भएको जानकारी दिए । कोविडबाट बँचाउन नगरवासीलाई छिट्टै खोपको व्यवस्था मिलाउने नीति पनि नगरसभाले पास गरेको उनको भनाई थियो । 


नगर उपप्रमुख भिमकुमारी राउतद्वारा प्रस्तुत नीति कार्यक्रममा नगरको दिर्घकालिन विकासको सोचलाई आधार मान्दै आर्थिक वर्ष २०७८÷७९ ले बिभिन्न आधारभूत कार्यक्रमहरु तय गरेको छ ।