मुलुकी समाचार प्रभावः गाईघाटको फुटपाथ क्लियर 

२0७८ असार १८ शुक्रबार
मुलुकी समाचार प्रभावः गाईघाटको फुटपाथ क्लियर 

बुद्धिकुमार राई
उदयपुर, असार १८

मुलुकी दैनिकले निरन्तर समाचार प्रकाशन गरेर ध्यानाकर्षण गराएपछि लामो समयदेखि अस्तव्यस्त सदरमुकाम गाईघाटको फुटपाथ पसल हटाइएको छ । लामो समयदेखि अव्यवस्थित रहेको बजारको सडकपेटीका फुटपाथ पसल नगरपालिकाले भर्खरै हटाएर व्यवस्थित गरेको हो । 


सदरमुकामथस्तो व्यस्त बजार त्यसमाथि कालोपत्रेसहितको मदन भणडरी लोकमार्गका सडक पेटीमा व्यापारीहरुले फुटपाथ पसल राखेर हिड्डुल गर्नै नमिल्ने भएको थियो । कालोपत्रे गरेसँगै पैदल यात्रुका लागि रेलिङसहितको फराकिलो सडकपेटी बनाइ दिए पनि फुटपाथ पसल राखेका कारण पैदल हिड्नै नमिल्ने अवस्थालाई नगरपालिकाले ३ दिन लगाएर व्यवस्थित गरेको हो । 


पेटीमा हिड्नै नमिल्ने फुटपाथ पसलका काण दुर्घटनाको जोखिम मोल्दै पैदलयात्रु सडकबाटै हिड्नुपर्ने बाध्यता थियो । नगरपालिकाले फुटपाथ पसल हटाएपछि अव यात्रुलाई पैदल हिड्न सहज भएको छ । सडकपेटीमा जताततै तरकारी, फलफुल, सब्जी, झोला, छाता तथा नाङ्ले पसल व्यापारीसँगै सटरवालालेसमेत पेटी नै ढाक्ने गरी बाहिर सामान बेच्न राखेकाले समस्या भएको गुनासाको लामो समयपछि नगरपालिको सम्बोधन गरेको हो । 


पेटी व्यापारीले कब्जा गरेको विषयमा जनगुनासो बढेको कुरालार्ई मुलुकी दैनिकले निरन्तर खवरदारी गर्दै समाचार प्रकाशन गर्दै आएको थियो । पत्रिकाको खवरदारीसँगै स्थानीयबासीले पनि गुनासो गरेपछि नगर जनप्रतिनिधिको ध्यानाकर्षण भएर फुटपाथ पसल हटाएको हो । 


पटक पटकका पत्रिकाको ध्यानाकर्षणपछि जनताको गुनासो सम्बोधन गर्दै फुटपाट पसल हटाइएको नगरप्रमुख बलदेव चौधरीले बताए । नगरपालिकाले नगरप्रहरी र सुरक्षाकर्मी परिचालन गरेर सडक ‘क्लियर’ गरेको उनले बताए । तर, त्यसका लािग लगातार ३ दिनसम्म प्रयास गर्नुपरेको थियो । 


नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मणविक्रम थापाले मदन लोकमार्ग नबन्दासम्म हटियाजस्तै लापरबाही बजार लाग्दै आएको गाईघाटका व्यापारीलाई सडकपेटीबाट हटाउन धेरै पटक प्रयास गरेपछि मात्र सफल भएको बताए । पहिलेदेखि फुटपाथमा फसल राख्न बानी भएका व्यापारीहरु लोकमार्ग भएर सडक व्यस्त हुँदा पनि यात्रु हिड्ने नमिल्नेगरी पेटी कब्जा गर्ने बानी हटाउन समय लागेको थापाले बताए । 


मदन लोकमार्गले छोएको बरुवा खोला पुलदेखि आँखा अस्पतालसम्मको दायाँबायाँ पेटीसँगै बैंक लाईन, विद्युत लाईन, लोकतान्त्रिक चोकदेखि मुख्य चोक हुँदै त्रियुगा बसपार्कसममको गाईघाट–बसपार्क लाईनमा पनि फुटपाथ व्यापार गर्न नगरपालिकाले पूर्णतः बन्देज लगाएको छ । 


फुटपाथ पसल हुटाउनुका साथै अवदेखि सडकपेटीलाई नियमित सरसफाईसमेत गरिने र त्यसका लागि सरसफाई कर्मचारी नियमित खटाउने थापाले बताए । फुटपाथमा पसल राख्न नछाड्नेहरुलाई नगर प्रहरीले सम्झाउने, नमाने सामान जफत गर्ने र त्यत्तिले पनि नभए प्रहरी प्रशासन लगाएर कारबाही गर्ने चेतावनी नगरपालिकाले दिएको छ ।