लिम्चुङबुङले दियो २४ किसानलाई हाते ट्याक्टर

२0७८ असार १७ बिहीबार
लिम्चुङबुङले दियो २४ किसानलाई हाते ट्याक्टर

दिनेश राई

लिम्चुङबुङ, असार १७

उदयपुरको पहाडी लिम्चुङबुङ गाउँपालिकाका २४ किसानले हाते ट्याक्टर पाएका छन् । गाउँपालिकाले अध्यक्ष कृषि परियोजना अन्तर्गत व्यवसायीक कृषकहरुलाई ६० प्रतिशत अनुदानमा ट्याक्टर दिएको हो । 


गाउँपालिकाका ५ ओटै वडामा क्रियासिल कृषक तथा कृषक समूहहरुलाई ट्याक्टर वितरण गरिएको जनाइएको छ । गाउँपालिकामा आयोजित एक कार्यक्रममा अध्यक्ष मेजरकुमार राई र उपाध्यक्ष रमिला राईले किसान र कृषक समूहलाई ट्याक्टर बितरण गरेका हुन् ।


ट्याक्टर वितरण गर्दै अध्यक्ष राईले लिम्चुङबुङका किसानलाई यान्त्रिकरण गर्दै प्रविधिमैत्री कृषि व्यवसायमा उन्मुख गराउने लक्ष्यका साथ सञ्चालित कृषि परियोजनालाई सफल पार्न ट्याक्टर बितरण गरिएको बताए । आधुनिक र उन्नत कृषि व्यवसायका लागि कृषिलाई यान्त्रिकरण र प्राविधियुक्त बनाउने लक्ष्य लिएर गाउँपालिकाले बिभिन्न कृषि उपकरण बितरण गर्न थालेको उनले बताए । 


आधुनिक प्रविधिबाट व्यवसाय गर्ने कृषकहरुले छिट्टै आत्निर्भर भएर गाउँपालिकालाई समृद्ध बनाउने अपेक्षा गरिएको पनि अध्यिक्ष राईले बताए । दुईवर्षअघि सुरु परियोजनाले लिम्चुङबुङ गाउँपालिकाका सबै वडाबासी किसानलाई कृषि व्यवसायतर्फ आकर्षित गर्दै लगेको उनको दावी छ । 


अहिले ५ वटै वडामा कतै समूह गठन गरेर कतै व्यक्तिगत रुपमा व्यवसायिक कृषि गर्नेहरुको लहर चलेको गाउँपालिका कृषि शाखाका प्राविधिक गगन राईले बताएका छन् । उनका अनुसार कृषिलाई अत्याधुनिक यान्त्रिकरण गर्दै लाने उदेश्ययले औजार उपकरण छुट अनुदानमा उपलब्ध गराउन थालेपछि कृषकलाई कृषि व्यवसायमा आकर्षण बढेको छ । 


गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत टार्जन लिम्बुका अनुसार वडा नं १ बाँसबोटेले ५ वटा, २ ताम्लिछाले ५, ३ को बाराहाले ७, ४ बलम्ताले ३ र ५ नं. वडा जाँतेले  ४ ओटा ट्याक्टर पाएका छन् । गाउँपालिकाले वार्षिक बजेट छुट्याएरै परियोजना सफल बनाउन ट्याक्टर बितरण गरेको प्रप्रअ लिम्बुले बताए । 


यसअघि गतबर्ष पनि गाउँपालिकाले १० ओटा हाते ट्याक्टर वितरण गरेको थियो । गाउँबासी किसानको आयआर्जन र दैनन्दिन जीवनमा सकारात्मक परिवर्तन आउने अपेक्षा गरेर लागू भएको परियोजना सफल बनाउनका लागि आगामी वर्ष पनि यन्त्र उपकरण बितरण गर्दै लाने योजना बनाएको  गाउँपालिकाका सूचना अधिकारी ताराकिरण राईले बताएका छन् ।