बेलकामा प्रहरी र स्थानीबीच झडप, १० राउण्ड हवाईफायर, ४ प्रहरीसहित डेढदर्जन घाईते 

२0७८ असार १६ बुधबार
बेलकामा प्रहरी र स्थानीबीच झडप, १० राउण्ड हवाईफायर, ४ प्रहरीसहित डेढदर्जन घाईते 

उदयपुर, असार १६

बुधबार बेलका नगरपालिकामा स्थानीय र प्रहरीबीच झडप भएको छ । कबुलियती वन बनाउने सरकारी निर्णयविरुद्ध नगरपालिका घेराउ गर्न आएका आन्दोलनबारी र प्रहरीबीच झडप हुँदा २५ राउण्ड अस्रुग्याँस र १० राउण्ड हवाईफाईर प्रहार भएको छ ।


झडपमा परी प्रहरीतर्फ ४ जनासहित झण्डै डेढदर्जन घाईते भएका छन् । बेलका ३ स्थित कोसी टप्पुमा वर्षौंदेखि भोग चलन गर्दै आएको जमिन कबुलियती वन बनाउन गरेको सरकारी निर्णयविरुद्ध आन्दोलिन स्थानीयले नगर घेराउ गर्ने क्रममा झडप भएको हो । झडपमा प्रहरीले सुरुमा २५ राउण्ड अस्रुग्याँस प्रहार गरेको तर, त्यसले पनि स्थिति नियन्त्रणमा नआएपछि १० राउण्ट हवाईफायर गरेको जिल्ला प्रहरी कार्यालयले पुष्टि गरेको छ । 


जिल्ला प्रहरीका निमित्त प्रमुख डिएसपी बेदप्रसाद गौतमले घट्नाको पुष्टि गर्दै आन्दोलनकारीबाट ढुंगामुडा र आक्रमण प्रयास भएपछि प्रहरीले आत्मरक्षाका लागि सुरुमा असु्रग्याँस प्रहार गर्दा पनि स्थिति नियन्त्रणमा नआएपछि हवाईफायर गरेको बताए ।  झडपमा परी सशस्त्र र जनपथ गरी ४ जना प्रहरी घाईते भएको डिएसपी गौतमले बताएका छन् । 


स्थानीयले आन्दोलनकारीतर्फ दर्जन बढीलाई पक्राउ गरेर थुनामा राखेको जनाएका छन् । भिडन्तमा घाईतेलाई स्थानीय अस्पतालमा उपचार गराइरहेको र केहीलाई भने धरानस्थित बिपी स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको छ । 


बेलका ३ स्थित कोसी टप्पुमा स्थानीयले भोगचलन गर्दै आएको १७६.२३ हेक्टर जमिनमा सरकारले गत जेठ ६ गते कवुलियती वन बनाउने निर्णय गरेको कुरा जेठ अन्तिममा मात्र जानकारीमा आएको थियो । कवुलियती वन बनाउने ठेक्का लिएको सुनसरीस्थित बराह हर्बल एण्ड एग्रो प्रालिले स्थानीयलाई घर जमिन छाड्न भनेपछि मात्र जानकारी पाएपछि उनीहरु आन्दोलित भएका हुन् । 


ठेकेदार कम्पनी सञ्चालक निलहरि काफ्लेले सरकारबाट कवुलियत वन बनाउने निर्णयको पत्र देखाउँदै ठाउँ छाड्न भनेपछि आक्रोसित भएका स्थानीयहरुले दुईसाताअघि वडा कार्यालय घेराउ गरेका थिए । बेलका ३ को नदी उकास, बाँझो, पर्ती जग्गामा गठित पौरख सामुदायिक वन उपभोक्ता समूह र आसपासको खाली तथा क्षतिग्रस्त जमिनमा नेपाल सरकारको प्रचलित कानुन अनुसार बहालमा लिएर जडिबुटी खेती तथा प्रशोधन केन्द्र सञ्चालन गर्ने गरी बराह हर्वलललाई स्वीकृति दिने सिफारिस नगरले गरेको देखिएको छ । 


वडाले नगरपालिका, सवडिभिजन वन र डिभिजन वन कार्यालयतर्फ देखाएपछि उनीहरु सुरुमा नगरपालिकामा शान्तिपूर्ण कुरा राखेको र नमानेपछि बुधबार नगर घेराउ गर्न आएको स्थानीयले बताएका छ्न । नगरपालिका घेर्न पुगेका उनीहरुलाई प्रहरीले रोक्न खोजेपछि सिर्जना भएको बिबाद झडपमा परिणत भएको हो । 


नगरप्रमुख दुर्गाकुमार थापाले कबुलियती वन बनाउन नगरपालिकाले सिफारिस नगरेको दावी गरेको भए पनि गत पुस २९ गतेकै मितिमा सिफारिस गरेको तथ्य बाहिरिएको छ । त्यही आधारमा डिभिजन वन बेलकाले डिभिजन वन कार्यालय हुँदै कबुलियती वन बनाउने निर्णय सरकारले गरेको अहिले खुलेको छ । 


बराह हर्बलले ०७७ पुस २७ गते दिएको निवेदन अनुसार २९ गते नगरप्रमुखले सिफारिस गरेको प्रमाण फेला परेपछि मेयरले जनतालाई ढाँटेको निश्कर्ष आन्दोलनकारीले निकालेका छन् । 


झडपपछि समस्या समाधान गर्ने विषयमा नगरपालिकाले स्थानीय राजनीतिक दलहरुलाई बोलाएर सर्वदलीय बैठक राखेको छ । यो समाचार बनाउँदासम्म समस्या समाधान गर्ने विषयमा छलफल चलिरहेको एक दलीय प्रतिनिधिले बताए । घट्नाबारे विस्तृत बुझ्न खोज्दा मेयर थापासँग सम्पर्क हुन सकेन ।